एमालेको चीट र मन्त्री ‘गायब’ भएपछि देवानी संहिता कार्यसूचीबाटै हटाइयो

Loading...

काठमाडौं । सोमवारको संसद बैठकको कार्यसूचीमा रहेर पनि देवानी संहिता सम्बन्धी विधेयक कानुनमन्त्रीको अर्थपूर्ण अनुपस्थिति र एमालेका प्रमुख सचेतकको एउटा चीटका कारण पारित हुन सकेन ।

विधेयक निर्णयार्थ पेश गर्ने बेलामा सभामुखले कानुनमन्त्री खोजिन् । तर मन्त्री यज्ञबहादुर थापा बैठक कक्षमा देखिएनन् । यसैबीचमा एमालेको तर्फबाट पनि सो विधेयक आजको बैठकमा अघि नबढाउन सभामुख समक्ष चीट पुगेपछि कार्यसूचीबाट हटाइएको स्रोतले जनाएको छ ।

मुलुकी ऐनलाई बिस्थापित गरी फौजदारी कसूर संहिता र देवानी संहिता अलग-अलग रुपमा संसदमा पेश भएका थिए । फौजदारी कसूर सम्बन्धी संहिता यसअघि नै पारित भइसकेको छ ।

देवानी संहितामा पनि दलहरुबीच खासै विवाद छैन । पैतृक सम्पत्तिमा सन्तानको अधिकार स्थापित नहुने र बाबु-आमाले चाहेमा जसलाई पनि दिन सक्ने व्यवस्थाप्रति विशेषत महिला नेतृहरुले आपत्ति जनाएका छन् ।

‘वील पावर’मा क-कसको चासो ?

यसमा बाबु-आमाले पैत्रिक सम्पत्ति इच्छाएको व्यक्तिलाई दिन पाउने प्रावधान (वील सिस्टम) छ । यो प्रावधान राख्ने कि नराख्ने भन्नेमा प्रमुख दलका शीर्ष नेतादेखि सांसदहरुबीच कुरा मिलेको छैन । यसमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सभामुख ओनसरी घर्ती र कांग्रेस नेतृ आरजु देउवा तथा विधायन समितिकी सभापति गंगा चौधरी सतगौंवाले समेत चासो देखाएका छन् ।

यदि यो व्यवस्था राखिएमा बल्लतल्ल व्यवस्था भएको पैतृक सम्पत्तिमा छोरीको पनि अधिकार खोसिन सक्नेमा महिला सांसदहरुले चिन्ता प्रकट गरेका छन् । यहि कारण यो विधेयकको यो दफा हटाउन दबाव परेको छ ।

यद्यपी विधायन समितिले पारित गरेर यसलाई संसदमा ल्याएको थियो । विधायन समितिबाट आएको प्रतिवेदन जस्ताको तस्तै पारित गर्ने कि यो व्यवस्था हटाएर भन्नेमा विवाद थियो ।

स्रोतले भन्यो- केही महिला नेतृहरुले सम्पत्तिमा समान अधिकार महिलाहरुले भर्खरै पाउँदैछन् । यो फेरि ‘वील सिस्टम’को नाममा सम्पत्ती नदिने खेल हो भन्ने निष्कर्षमा पुगे । यसमा समितिकी सभापति पनि स्वयम् थिइन् ।

केही शिर्ष नेताहरु चाहिँ अहिले यो नगरौं भन्नेमा थिए । त्यसैले यो हटाएर पारित गर्ने तयारी गरिएको थियो । त्यसैले सोमबारको कार्यसूचीमा पनि राखियो । अन्तिम समयमा प्रस्तुत गर्न भनेर कानुन मन्त्री यज्ञबहादुर थापालाई सभामुखले बोलाउने बेलामा मन्त्री थापा सिटमा देखिएनन् ।
त्यसपछि सभामुख घर्तीले त्यो नाम पढिनन् । मन्त्री थापाले कसैले बाहिर बोलाएकाले आफू बाहिर गएको जवाफ दिए । थापा एमाले सांसदहरुले नै बोलाएर बैठक कक्षबाट बाहिर गएको अनुमान छ ।

सोमवार बिहान सभामुखसँग छलफल गर्दा समेत एमालेका सांसदहरु आजै पारित गर्ने पक्षमा थिए । तर, पारित गर्ने अन्तिम समयमा आएर फेरि समितिमा फर्काउने पक्षमा उनीहरु पुगे । महिलाको अधिकार कटौति नहोस् भनेर यो व्यवस्था हटाउन खोजिएको उनीहरुको दावी छ ।

सभामुख ओनसरी घर्तीका प्रेस संयोजक बबिन शर्मा भने प्राविधिक कारणले आजको बैठकमा पेश हुन नसके पनि अर्को बैठकमा पेश हुने बताउँछन् ।

‘विधिवत हिसाबले सम्बन्धित सबै पक्षका बीचमा सहमति बनाएर त्यसलाई पारित गर्ने तयारीमा सभामुख ज्यू हुनुहुन्थ्यो,’ शर्माले भने, ‘तर पारित गर्नको निमित्त नाम बोलाउने अन्तिम चरणमा केही प्राविधिक समस्या आएकाले आजको बैठकमा अघि बढ्न सकेन । आगामी बैठकमा त्यस विषयलाई अघि बढाउन सभामुख ज्यू तयार हुनुहुन्छ ।’

Loading...



Loading…