विश्वकपका लागि छनौट भएका ६ देश : मुख्य खेलाडी र सम्भावना

Loading...

रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलका लागि अहिलेसम्म आयोजक रुससहित ६ देश छनौट भएका छन् । पछिल्लो पटक छनौट हुनेमा बेल्जियम परेको छ । रुस बाहेक युरोपबाट छनौट हुने बेल्जियम पहिलो देश हो ।
यस्तै एसियाबाट इरान र जापान छनौट भइसकेका छन् । उत्तर, मध्य अमेरिका एवम् क्यारेवियन क्षेत्रबाट मेक्सिको तथा दक्षिण अमेरिकाबाट ब्राजिलले रुस विश्वपक २०१८ मा स्थान पक्का गरिसकेका छन् ।
युरोप

रुसः स्टानिस्लाव चेर्चेसोवको टिम रुस आयोजकको रुपमा विश्वकपमा स्थानबनाएको हो । उसले फिफा कनफेडेरेशन कपमा समूह चरणबाट अघि जान सकेन । पहिलो खेलमा न्युजिल्याण्डलाई हराए पनि मेक्सिको र पोर्चुगलसँग पराजित भयो ।
कनफेडेरेसन कपको समूह चरणबाट अघि बढ्न नसक्ने विश्वकप आयोजक यसअघि दक्षिण अफ्रिका पनि हो । रुसका महत्वपूर्ण खेलाडीमा भेट्रान गोलरक्षक इगोर एकिन्फिव रहेका छन् । रुसको टिमका रहेका कुनै पनि खेलाडी प्रिमियर लिगमा खेल्दैनन् । उनीहरु सबै घरेलु लिगका क्लबबाट खेल्छन् ।

बेल्जियमः बेल्जियम रुसबाहेक विश्वकपका लागि युरोपबाट छनौट हुने पहिलो टिम हो । छनौटको समूह चरणमा दुई खेल बाँकी हुँदै उसले विश्वकपमा स्थान पक्का गरेको हो । प्रिमियर लिगका फ्यान बेल्जियमको टिममा रहेका खेलाडीसँग परिचित छन् । जसमा मोउसा डेम्बेले, मारुउने फेलेनी, क्रिष्टियन बेन्टेक, रामेलु लुकाकु, केविन डी ब्राउन र इडन हर्जाड बेल्जियमका मात्रै होइन विश्वकै स्टार खेलाडी हुन् । बेल्जियम ब्राजिल विश्वकप २०१४ मा क्वाटरफाइनलसम्म पुगेको थियो । रोबर्टो मार्टिनेजको टिम बेल्जियमका सबै खेलाडी प्रिमियर लिगमा खेल्छन् ।

दक्षिण अमेरिका
ब्राजिलः यसअघिको विश्वकपको आयोजक ब्राजिल रुस विश्वकपका लागि छनौट हुने पहिलो टिम हो । ब्राजिल गएको मार्चको अन्त्यतिर विश्वकपका लागि छनौट भएको हो । नयाँ प्रशिक्षक टिटेको अण्डरमा पाँच पटकको च्याम्पियन ब्राजिललाई जहिले पनि विश्वकपको दाबेदारको रुपमा लिने गरिएको छ । ब्राजिलको टिममा विश्वका सबै भन्दा महंगा खेलाडी नेइमार छन् । सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विजेता ब्राजिल अघिल्लो विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो । नेइमारसहित फिलिप कोन्टिन्हो, गाब्रियल जिसस, रोबर्टो फिरमिनो, विलियन, एण्डरसन र फर्नानडिन्हो ब्राजिलका मुख्य खेलाडी हुन् ।

उत्तर, मध्य अमेरिका र क्यारेबियन
मेक्सिकोः पानामालाई १–० ले हराएपछि मेक्सिकोले रुस विश्वकपमा स्थान पक्का गरेको हो । अहिलेसम्म मेक्सिको छनौट चरणमा अपराजित छ । आन कार्लोस ओसोरिओको टिममा अट्याकिङ खेलाडी छन् । मेक्सिको यसअघिका ६ विश्वकपमा नकआउट चरणमा पुगेको छ । सन् १९८६ मा आयोजक रहेका बेला उ क्वाटरफाइनलमा पुगेको थियो । हिर्भिङ लोजानो मेक्सिकोका मुख्य खेलाडी हुन् । यस्तै जाभियर हर्नान्डेज पनि अर्का महत्वपूर्ण खेलाडी हुन् ।

एसिया
इरानः इरान एसियाबाट छनौट हुने पहिलो टिम हो । कार्लोस क्युउइरोजको टिम इरानले छनौट चरणमा राम्रो प्रदर्शन गरेको छ । इरान कार्लोसको प्रशिक्षणमा लगातार दोस्रोपटक विश्वकपमा छनौट भएको हो । अहिलेसम्म पाँच पटक विश्वकपमा छनौट भएको इरानले यसअघिका चार सहभागितामा एउटा खेल मात्रै जितेको छ । सन् १९९८ को विश्वकपमा इरानले अमेरिकालाई २–१ ले हराएको थियो । रामिन रेजाइएन इरानका मुख्य खेलाडी हुन् ।

जापानः जापान सन् १९९८ देखि हरेक विश्वकपमा छनौट हुँदै आएको छ । जापान एसियाको शीर्ष टिम हो । वाहिद हालिल्होड्जिकको टिम जापानमा होन्डा, कागावा र शिन्जी ओकाजाकी जस्ता स्टार खेलाडी छन् ।

Loading...



Loading…