गाजनेका चारवटा घरमा लुटपाटमा संलग्नको खोजीकार्य जारी,स्थानीयबासी अझै त्रसित

Loading...

म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँको चारवटा घरमा शनिबार राती ८ बजे लुटपाटमा संलग्नहरु अझै भेटिएका छैनन् । स्थानीय विष्णुकला शर्मा, निलकण्ठ शर्मा, कृष्ण कार्की र सीता कार्कीको घरमा लुटपाट भएको भएको थियो । प्रहरीले लुटपाटमा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

केहीबर्ष अगाडी छिमेकी मंगला गाउँपालिका–१ कुहुँ पूर्णगाउँ र रघुगंगा गाउँपालिकाको झिँको सिमानामा अवस्थित टोड्केमा भएको सामुहिक लुटपाट जस्तै गाजनेमा रातको समयमा घरेलु हतियारको प्रयोग गरी लुटपाट भएको थियो । टोड्के र गाजनेमा अपनाइएको लुटपाटको शैली मिलेको छ । स्थानीयले धम्काउँदै हतार हतारमा लुटेर फरार भएका टोड्केका लुटेराको पहिचान हुन सकेको छैन् ।

टोड्के र गाजनेको लुटपाटमा संलग्नहरु एउटै हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । हुट, जिन्सको पाइन्ट, छातेटोपी, जुत्ता, र ओटी माक्स लगाएका तथा झोला भिरेका ३ जनाको समूहमा बाँडिएर चार घरमा पालो गरेर लुटपाट गरेको यामबहादुर बानियाँले बताए । ‘लुटेराको खोजीमा प्रहरीले ब्यापक परिचालन गरेको छ । घटनामा संलग्न भएकाको पहिचानमा आसपासका क्षेत्रका गाउँबाट पनि सहयोग भइरहेको छ’ उनले भने ।

आइतबार दिनभर प्रहरीले स्थानीयको सहयोगमा गाजने, नयाँ गाउँ, छिमेकी घतान आसपासका जंगलहरुमा खोजी गरेको थियो । गाउँ माथिको जंगलबाट आएका लुटेराले स्थानीय सीता कार्कीको घरबाट चारतोला सुन, रुपा कार्कीको साथबाट २५÷२५ लालको दुईवटा रिङ, विष्णुकला र उनको छोरी सन्तु शर्माको साथबाट एकएक तोला सुन लगेका छन् ।

त्यस्तै स्थानीय शिक्षक निलकण्ठ शर्माको साथबाट नगद १ हजार तीनसय रुपैयाँसहित आधा तोलाको औंठी खोजेका थिए । लुटेरालेहामी प्रहरी हौं, हाम्रो १८ जनाको टोली आएको छ भन्दै स्थानीयलाई धम्की दिएका थिए । रातको समयमा गाउँका घरघरमा छिरेर लुटपाट मच्चाएपछि अहिले गाजने गाउँका वासिन्दाहरु त्रसित भएका छन् ।

गाउँका स्थानीय र पीडितहरु एक ठाउँमा भेला भएर बसेको उनीहरुले बताए । लुटेराहरु वनजङ्गलतर्फ लागेका थिए । लुटपाटको सूचना पाएलगत्तै बाबियाचौर, गलेश्वरलगायत जिल्लाको विभिन्न ठाउँमा रहेका प्रहरीचौकी र नाकामा जानकारी गराइएको थियो । स्थानीयबासीले गाउँ आसपासका क्षेत्रमा अस्थायी चौकीको माग समेत गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Loading...



Loading…