बुधबार देखि १६ श्राद्ध, श्राद्धमा के गर्ने र के नगर्ने जान्नुस सम्पूर्ण जानकारी …

Loading...

‘सूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहाश्रमी ।
धनपुत्रा : कुतस्तस्य पितृनिश्वास पीडनात् ।।’

भाद्र २१ गते अर्थात बुधबारदेखि २०७४ सालको सोह्र श्राद्ध सुरु हुने भएको छ । चान्द्रमान अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भन्ने गरिन्छ । वास्तवमा एउटा पक्षमा १५ वटा तिथिमात्र हुन्छन्, तर कसैले भाद्र पूर्णिमाको दिनलाई र कसैले आश्विन शुक्ल प्रतिपदालाई समेत जोडी १६ को सङ्ख्या पुर्याउने गर्दछन् । औँसी र पूर्णिमा पन्ध्रौं क्रममा आउने तिथि भए पनि यी दुबै बेग्लाबेग्लै हुन् भन्ने मान्यता रहेकाले तिथिको सङ्ख्या पनि १६ नै हुन्छ, त्यसैले यसलाई सोह्रश्राद्ध भनिएको हो । सोह्रश्राद्धमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ । आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

जीवन र मृत्युको शाश्वत सत्यलाई स्वीकार गरी हाम्रो सनातन धर्मले र यस अन्तर्गत निहीत दर्शनशास्त्रले जसको जन्म हुन्छ, उसको मृत्यु र जसको मृत्यु हुन्छ, उसको जन्म पनि निश्चित हुन्छ अनि यो सांसारिक चक्र निरन्तर चलिरहन्छ भन्ने मान्यता बोकेको देखिन्छ । कुनै प्राणिले यस जन्म र मृत्युको प्रक्रियामा नआउनु भनेको उसले मोक्ष प्राप्त गर्नु हो । हाम्रो सनातन संस्कारमा घरपरिवारका कुनै व्यक्तिको मृत्यु भएमा ती मृतात्माको परम्परा र विधिविधानको पालना गरी श्राद्धादि दशगात्र कर्म सम्पन्न नगरेमा वा आफ्ना मृत पूर्वजहरूको स्मरण नगरेमा तथा वर्षैपिच्छे आउने तिनको पुण्यतिथिमा श्राद्धादि कर्म नगर्दा उसका सन्तति र वंशजले अशान्ति, वंशवृद्धिमा बाधा, रोगव्याधिको जोखिम, स्वास्थ्य, धन, सुखसयल आदिमा अनायासै सङ्कट ब्यहोर्नु पर्दछ भन्ने मान्यता छ । हाम्रा संस्कृति र परम्पराले मात्र होइन, सनातन धर्ममा श्रुति-स्मृति-पुराणादि शास्त्रले पनि प्रकारान्तरले यसै कुरालाई पुष्टि गरेको पाइन्छ ।

हिन्दू परिवारमा कुनै व्यक्तिको मृत्यु भएमा यथासम्भव दाहसंस्कार गर्ने विधान छ । त्यसरी मरेका परिजनको दाहसंस्कार गरिसकेपछि मृतात्माले वायु स्वरूप धारण गर्दछ । त्यस स्वरूपलाई प्रेत भनिन्छ । ‘प्रेत’ अवस्था मृत्युपछि बाह्रौंका दिनसम्म क्रियाकर्म गरिने समयावधिको अवस्था हो । बाह्रौंसम्म गरिने दशगात्रादी कर्महरू अर्थात प्रथम षोडशीदेखि सपिण्डीकरण सम्मको कर्मसमाप्तिपछि मृतात्माले सूक्ष्म शरीर धारण गर्दछ । सूक्ष्म शरीर लिए पनि उसभित्र शोक, माया, मोह, भोक, प्यास आदि जीवनकालका वृत्तिहरू यथावत रहन्छन् । मृत्यु भएको एक वर्षपछि वर्षदिने वार्षिक श्राद्धमा उक्त सूक्ष्म शरीरधारी प्रेत र पितृहरूसँग सम्मिलन गर्ने काम हुने गर्दछ । अतः वार्षिक श्राद्धका क्रममा और्द्धदैहिक क्रिया सकिएपछिमात्र ती मृतात्मा अन्य पितृसरह हुन पुग्छन् । त्यसपछि प्रत्येक वर्ष मरेको पुण्यतिथिलाई समाती तिनका वंशजले एकोद्दिष्ट श्राद्ध गर्ने परम्परा छ ।

स्थूल शरीरलाई त्यागी आत्मा ब्रह्माण्डमा विलीन हुनु, मृत शरीरको दाहसंस्कार र क्रियाकर्मादि अन्त्येष्टि संस्कार गरिनु र त्यसपछि मृतात्माको तृप्तिका निमित्त और्द्धदैहिक क्रियाकर्म सम्पादन गर्नु र त्यसपछि पनि वर्षैपिच्छे श्रद्धापूर्वक श्राद्ध गर्नुलाई श्राद्ध भनिन्छ । और्ध्वदेहिक क्रियाकर्म नभएका वा हुन बाँकी रहेका मृतात्मा प्रेत हुन् भने वर्षदिनसम्मको और्ध्वदेहिक क्रियाकर्म समापन भएका मृतात्माहरू पितृ हुन् । श्राद्धादि कर्ममा आफ्नी विवाहिता पत्नीद्वारा दूधमा चामल पकाई त्यसमा सराबरी तील मिसाई बटारेर डल्लो बनाइएको वस्तुविशेषलाई पिण्ड भन्ने गरिन्छ र पिण्डको अर्थ शरीर हो । श्राद्ध शब्दको व्युत्पत्ति गर्ने क्रममा भनिएको छ – श्रद्धया क्रियते यत् तत् श्राद्धम् अर्थात् मृत पितृहरूको स्मरणका लागि श्रद्धापूर्वक गरिने कर्म श्राद्ध हो । जन्मदाता मातापिता र अन्य पूर्वजहरू मरेपछि अोझेलमा नपरून्, नबिर्सिइयुन्, उनीहरुप्रति यथोचित सम्मान र श्रद्धा रहीरहोस् भन्ने आकाङ्क्षाका साथ तिनलाई वेलावेलामा सम्झिने र श्रद्धा गर्ने काम नै सारांशमा श्राद्ध हो ।

यमस्मृतिमा पाँच किसिमका श्राद्धको चर्चा गरिएको पाइन्छ – नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण । दिनैपिच्छे गरिने श्राद्धलाई नित्यश्राद्ध भनिन्छ, कसैलाई निमित्त बनाएर गरिने श्राद्धलाई नैमित्तिक श्राद्ध भनिन्छ । नैमित्तिक श्राद्ध नै एकोद्दिष्ट श्राद्ध हो । एकोद्दिष्ट शब्दको अर्थ हो – एक जनालाई मात्र उद्देश्य राखी गरिने । केवल एक जनालाई मात्र उद्देश्य राखी गरिने दशगात्र कर्म, एघारौं, बाह्रौं आदिका काम पनि नैमित्तिक श्राद्ध हुन् । कुनै विशेष इच्छापूर्ति वा कामना राखी गरिने श्राद्धलाई काम्य श्राद्ध भनिन्छ । कुनै शुभ कर्मको तैयारीका क्रममा गरिने नान्दीमुखी आदि श्राद्ध बृद्धिश्राद्ध हो भने पर्व विशेष औंसी, सङ्क्रान्ति, आश्विन कृष्णपक्षको पितृपक्षमा गरिने श्राद्ध पार्वण श्राद्ध हो ।

नित्यश्राद्धमा केवल जलको प्रयोग गरिन्छ । त्यस्तै दाहसंस्कारपछि बाह्रौंसम्मका दशगात्र कर्म आदिमा पनि लम्बाचौडा विधानको आवश्यकता हुँदैन । यी श्राद्धमा विश्वदेवको स्थापना र पूजादि गरिरहनु पर्दैन । तर बाँकी एकोद्दिष्ट, मासिक, वार्षिक, पार्वण आदिमा विश्वदेवको स्थापना गरी श्राद्ध गर्ने विधान छ । मरणकालको एक वर्षसम्म मृतात्माको तृप्तिका लागि और्द्ध्वदैहिक क्रियाकर्म तथा श्रद्धापूर्वक सम्पादन गरिने प्रेत र पितृ कर्म श्राद्ध हो र जुन मृत व्यक्तिको एक वर्षसम्मको सबै और्ध्वदैहिक क्रियाकर्म सम्पन्न भएको हुन्छ, तिनलाई पितृ भन्ने गरिन्छ । हाम्रो धर्मशास्त्रमा पितृहरूलाई देवतासरह पूज्य भनी उल्लेख गरिएको छ । संस्कृत भाषामा पितृ शब्दको अर्थ पिता भन्ने हुन्छ भने धार्मिक सन्दर्भमा प्रयुक्त पितृचाहिं मृत पूर्वजहरू भन्ने हुन्छ । शास्त्रमा पितृलाई दुई वर्गमा विभाजन गरिएको छ – दिव्यपितृ र मनुष्यपितृ । आफ्नो वंश परमपरामा कुनै व्यक्तिविशेषको मृत पिता, पितामह र प्रपितामह (बाबु, बाजे र बराजु) समेतका पूर्वजहरू मनुष्यपितृ हुन् भने सृष्टिको प्रारम्भमा नै पृथक् लोकमा निवास गरेका कल्पित पितृदेवहरू दिव्य पितृ हुन् । दिव्यपितृले समस्त जीवधारीको मरणोपरान्त के गति प्रदान गर्ने भन्ने निर्णय गर्ने अधिकार पाएका हुन्छन् । दिव्यपितृका अधिष्ठाता यमराजलाई मान्ने गरिन्छ । त्यसैले पितृहरूको सूचीमा यमराजको नाम पनि आएको हुन्छ । यस वर्गमा कव्यवाडनल, सोम, यम, अर्यमा, अग्निष्वात्त, सोमप, बर्हिषद आदि पर्दछन् । यी दिव्यपितृहरूमध्ये अर्यमा प्रमुख हुन्, गीतामा भगवान् श्रीकृष्णले पितृणामर्यमा चास्मि भन्नु भएबाट यस कुराको पुष्टि हुन्छ ।

अर्यमा कश्यपपत्नी अदितिका पुत्र हुन् । यिनी देवराज इन्द्रका भाइ हुन् । देवमाता अदितिको गर्भबाट द्वादश आदित्यको जन्म भएको थियो । ती क्रमशः विवस्वान्, अर्यमा, पूषा, त्वष्टा, सविता, भग, धाता, विधाता, वरुण, मित्र, इन्द्र र त्रिविक्रम हुन् । यी सबैले देवताका रूपमा हिमालयको उत्तरमा अवस्थित रही पूज्यस्थान प्राप्त गरेका थिए । द्वादशादित्यमध्येका एक जना अर्यमा पितृहरूका देवता हुन् । ज्योतिषशास्त्रमा उत्तराफाल्गुनी नक्षत्रका अधिदेवता अर्यमा मानिन्छन् र उनको वासस्थान पनि उक्त नक्षत्र नै हो भनी बताइएको छ । सामान्यतया जुनसुकै वर्षमा भाद्र २८ गतेदेखि आश्विन १० गतेसम्म सूर्यले उत्तराफाल्गुनी नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ । त्यसैले पितृपक्षमा सूर्यको भ्रमण पितृदेव अर्यमा बसेको उत्तराफाल्गुनी नक्षत्रमा हुने भएकाले हामीले उक्त अवधिमा श्राद्धादि पितृकार्य गर्दा सूर्यका माध्यमबाट हाम्रो र पितृहरूको सहज सम्पर्क हुन्छ । सोह्र श्राद्ध अर्थात् आश्विन कृष्ण पक्षमा सूर्य र अर्यमाको मिलन हुने अनि सूर्यको सुषुम्ना नामक किरणको आश्रय लिई पितृलोकमा रहेका हाम्रा मृत पूर्वजहरूले पृथ्वीमा भ्रमण गर्ने हुँदा उक्त अवधिमा श्रद्धापूर्वक प्रदान गरिएको तर्पण, श्राद्धादि कर्म पितृले सहज ढङ्गले प्राप्त गर्ने विश्वास गरिन्छ । त्यसैले पितृपक्ष अर्थात सोह्रश्राद्धमा पितृहरू आफ्नो लोकबाट मनुष्यलोकमा सूक्ष्म स्वरूप धारण गरी आउने हुनाले ती पितृहरूलाई भोज्यपदार्थ र शुद्ध जल आदि तिनका वंशजले प्रदान गर्नु वाञ्छनीयसमेत देखिन्छ । भनिएको पनि छ – एकैकस्य तिलैर्मिश्रांस्त्रींस्त्रीन् दद्याज्जलाञ्जलीन् । यावज्जीवकृतं पापं तत्क्षणादेव नश्यति अर्थात् कम्तीमा एकएकवटा तिल मिसिएको शुद्ध जलले आफ्ना पितृहरूलाई सम्झी तर्पण गर्ने व्यक्तिका समस्त पापराशि तत्क्षण नाश हुन्छन् ।

कसले कुन दिन श्राद्ध गर्ने ?
पहिलेपहिले सोह्रश्राद्धका सोह्रै दिन श्राद्ध गर्ने प्रचलन थियो । तर अहिले सोह्रश्राद्धको कुनै एउटा दिन श्राद्ध गर्ने र बाँकी दिनहरूमा अन्य श्राद्धमा एकछाकीका दिन बारे सरह चोखोनीतो गरेर बस्ने गरिन्छ । सोह्रश्राद्ध व्यक्ति विशेषको श्राद्ध होइन, यो सबै मृतपितृहरूको साझा श्राद्ध हो । त्यसैले यसलाई एेच्छिक रूपमा जुन तिथिका दिन सहज पर्छ, त्यसै दिन श्राद्ध गर्न सकिने श्राद्ध भन्दा अत्युक्ति हुँदैन । तर सामान्यतया व्यक्तिले स्वत्व खोज्ने प्रवृत्ति भएकाले आफ्ना मृतपितृको तिथि समाती श्राद्ध गर्ने परिपाटी प्रचलनमा छ । तर स्वेच्छाले तिथि रोज्नुको अर्थ यस पटक एउटा र अर्को पटक अर्को तिथि रोज्नु हुँदैन । सुरुमा जुन तिथि समात्यो जुठो, सूतक वा छोइछिटोले बाधा नपारे त्यही तिथिमा वर्षैपिच्छे श्राद्ध गर्नुपर्छ । आमरूपमा नेपाली परिवेशमा सोह्रश्राद्ध गर्दा पिता (बाबु), पितामह (बाजे) वा प्रपितामह (बराजु) मध्ये कुनै एक जनाको तिथि समाती वर्षेनी उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ । तर जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनीहरूले पनि यस पक्षको पञ्चमी, अष्टमी, द्वादशी वा अमावस्या तिथिका दिन श्राद्ध गर्ने चलन छ ।

पितृपक्षमा गर्नै पर्ने र नगर्ने कामहरू :-
पितृपक्ष सूर्य दक्षिणायन भएको वेलामा पर्दछ । शास्त्रबमोजिम सूर्यले यस समयमा सन्ततिले श्राद्ध गरी तृप्त भएका पितृहरूको आत्मालाई मुक्तिको मार्ग प्रशस्त गर्ने गर्दछन् । भनिन्छ, त्यसैले पनि पितृहरू आफू दिवङ्गत भएको तिथिका दिन आफ्ना सन्तति (छोरा, नाति, पनाति) हरूबाट आफ्नो उद्धारको आकाङ्क्षा राखी पिण्ड र तर्पणको आशा गर्दछन् । त्यसैले प्रत्येक सन्ततिले आफ्ना दिवङ्गत भएका मृत पितृहरूलाई उद्देश्य गरी श्राद्धादि कर्म गर्ने गर्दछन् । तर यसरी श्राद्ध गर्दा केही नियमहरूको पालना गर्नु पर्दछ ।

१ – श्राद्धकाल – पितृपक्षमा गरिने श्राद्ध दिनको तेस्रो पहरमा गर्ने गर्नु पर्दछ । तर एकोद्दिष्ट श्राद्ध (मरेको वार्षिक तिथिका दिन गरिने) श्राद्धमा दिनको दोस्रो पहरलाई लिने गरिन्छ । एकोद्दिष्ट श्राद्ध मध्याह्न कालमा, पार्वण श्राद्ध अपराह्नमा र आभ्युदयिकश्राद्ध प्रातःकालमा गर्ने विधान छ ।

२ – श्राद्ध गर्ने ठाउँ –
प्रत्येक गृहस्थीले नियमित श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । अरूको स्वामित्व भएको घर वा जमिनमा बसेर श्राद्ध गर्दा पितृहरू खुसी हुँदैनन् भन्ने मान्यता छ । तर बन्धुबान्धव र सगोत्रीको स्वामित्व भएको घर वा कोठाचोटामा श्राद्ध गर्दा फरक पर्दैन । अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृ अप्रसन्न हुनेमात्र होइन, तिनको शक्ति र सामर्थ्यमा पनि कमी आउँछ भन्ने शास्त्रीय मान्यता रहेको छ । त्यसैले खासगरी सहरी क्षेत्रमा अरूको स्वामित्वको घरमा डेरा गरी बस्ने श्राद्धकर्ताले श्राद्ध र तर्पणादि कार्य सकेसम्म नजिकको तीर्थक्षेत्र वा मन्दिरमा गई गर्नु उपयुक्त हुन्छ । मन्दिर वा तीर्थक्षेत्र पनि नजिकै छैन भने भुइँमा आँगनमा बनाइएको तुलसीको मठ छ भने गृहमालिकको स्वीकृति लिई त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन ।

त्यस्तै कुनै कामना विशेषले गरिने श्राद्ध तोकिएको ठाउँमा गर्नु पर्दछ । कूर्मपुराणमा पुत्रले पितृमुक्तिको कामनाका साथमा विभिन्न तीर्थस्थलमा गई श्राद्ध गर्नु वाञ्छनीय छ भनी उल्लेख गरेको छ :-

गङ्गायामक्षयं श्राद्धं प्रयागेऽमरकण्टके । गायन्ति पितरो गाथां कीर्तयन्ति मनीषिणः ॥
एष्टव्या बहवः पुत्राः शीलवन्तो गुणान्विताः । तेषां तु समवेतानां यद्येकोऽपि गायां व्रजेत् ॥
गयां प्राप्यानुषङ्गेण यदि श्राद्धं समाचरेत् । तारिताः पितरस्तेन स याति परमां गतिम् ॥
वराहपर्वते चैव गङ्गायां वै विशेषतः । वाराणस्यां विशेषेण यत्र देवः स्वयं हरः ॥
गङ्गाद्वारे प्रभासे च बिल्वके नीलपर्वते । कुरुक्षेत्रे च कुब्जाम्रे भृगुतुङ्गे महालये ॥
केदारे फल्गुतीर्थे च नैमिषारण्य एव च । सरस्वत्यां विशेषेण पुष्करेषु विशेषतः ॥
नर्मदायां कुशावर्ते श्रीशैले भद्रकर्णके । वेत्रावत्यां विपाशायां गोदावर्यां विशेषतः ॥
एवमादिषु चान्येषु तीर्थेषु पुलिनेषु च । नदीनां चैव तीरेषु तुष्यन्ति पितरः सदा ॥
कूर्मपुराण ०२। २०। २९ – ३६

३ – श्राद्ध गर्नाले पितृदोषको शान्ति : जसको जन्मकुण्डलीमा सूर्य र राहु वा केतु ग्रहको युतिसम्बन्ध छ, त्यस्तो कुण्डली भएको व्यक्तिलाई पितृदोष रहेको छ भन्ने गरिन्छ । यसबाहेक नीच सूर्य, शनिबाधित सूर्य वा शनिको घरमा रहेको सूर्य हुँदा पनि पितृदोष नै ठहर्याउने गरिन्छ । यसरी पितृदोष हुँदा टाउको वा दिमागी बिमारी, निर्णय क्षमतामा कमी, धन नटिक्ने, उन्नतिप्रगतिमा रोकावट आदि विभिन्न बाधा ब्यहोर्नु पर्ने हुन्छ । पितृपक्षमा श्राद्धकर्मद्वारा पूर्वजहरूलाई दिवङ्गत भएको तिथिअनुसार पिण्डदान, तर्पण आदि गर्नाले पितृदोषबाट मुक्ति पाइन्छ ।

४ – पितृको दिशा दक्षिण : तैत्तिरीय संहितामा बताइएअनुसार सृष्टिको प्रारम्भमा पूर्व, पश्चिम र उत्तर दिशा क्रमशः देवता, मनुष्य र रुद्रदेवलाई प्रदान गरिएको थियो, अनि दक्षिण दिशा पितृहरूको भागमा पर्यो । त्यसैले पितृहरूको श्राद्ध र पूजादि सदैव दाहिने काँधमा जनै भिरेर (अपसव्य भई) दक्षिण दिशातर्फ फर्किई गर्नुपर्दछ ।

५ – श्राद्धका सात चीज : कुनै पनि श्राद्धमा गङ्गाजल, दूध, मह, तोरीको साग, छोरीको छोरो (दौहित्र), कुश र तिल महत्त्वपूर्ण मानिन्छन् । यसबाहेक श्राद्धमा प्रयोग गरिएको तुलसीको मञ्जरीबाट पितृगण प्रलयकालपर्यन्त प्रसन्न रहन्छन् भन्ने गरिन्छ र पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने चलन पनि छ । यसरी मञ्जरीको उपयोग गरेमा पितृगण गरुडमा सवार भई सीधै विष्णुलोक पुग्दछन् भन्ने मान्यता छ ।

६ – श्राद्धका भाँडाकुँडा : श्राद्धमा प्लास्टिक, स्टील र फलामका भाँडाकुँडाको प्रयोग गर्नु हुँदैन । त्यस्तै केराको पात पनि चलाउनु हुँदैन । कर्ताको सामर्थ्यअनुसार श्राद्धमा सुन, चाँदी, झर्का (काँसो) वा तामाका पात्र अथवा सालको पातले बनेका दुना टपरीको प्रयोग गर्न सकिन्छ ।

७ – माङ्गलिक कार्य र किनमेल निषेध : श्राद्धपक्षका पन्ध्र दिन कुरो छिन्ने, विवाह/व्रतबन्ध गर्ने, गृहप्रवेश गर्ने आदि कर्म निषेधित मान्ने गरिन्छ । श्राद्ध पक्षमा दीर्घ उपयोगका लागि धनलगानी गर्नु पनि अशुभ मानिन्छ । जस्तै मोटरवाहन, सुन, चाँदी, जग्गाजमिन आदिको खरिद गर्नु हुँदैन । सामान्यतया नयाँ व्यापार, व्यवसाय र उद्योगधन्दा वा कलकारखानाको सुरु पनि यस अवधिमा गर्ने गरिंदैन । त्यस्तै लामो दूरीको यात्रा पनि यस समयमा गर्नु हुँदैन । तर श्राद्धाधिकार नभएका (पुरूषका लागि बाबुआमा र स्त्रीका लागि सासुससुरा ज्युँदै भएका) व्यक्तिले किनमेल र यात्रा जस्ता विषय बारिरहनु पर्दैन ।

८ – श्राद्धको खानपान र काम : सोह्रश्राद्धमात्र होइन, अन्य एकोद्दिष्टादि सामान्य श्राद्धमा पनि श्राद्धभन्दा एकदिन अगावै नङ, केश आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनीतो गर्नु पर्दछ । श्राद्धको एक दिनअगाडिको दिनलाई एकछाकी भन्ने गरिन्छ । एकोद्दिष्ट श्राद्धमा एकछाकी र श्राद्धका दिन तथा सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछामासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन । त्यस्तै मुसुरीको दाल, लौका, चिचिन्डो, बैगुन, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्यवस्तुहरुको प्रयोग गर्नु हुँदैन । त्यस्तै हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगान गर्नु आदि पनि निषेध गरिएको छ । एकछाकी र श्राद्धका दुबै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन । उक्त दुबै दिन शरीरमा सुन, तेल र सावुनको संसर्ग गर्नु हुँदैन । पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन, अनि राती पनि भुइँमा एकसरो ओछ्यान लगाएर शयन गर्नुपर्दछ ।

९- श्राद्धमा पिण्डदान : श्राद्धभन्दा पहिले नै श्राद्धकर्ताकी पत्नी रजस्वला भएर सात दिन बितेको छैन भने पार्वण श्राद्धमा पिण्डदान गर्न हुँदैन ।

१०- श्राद्धका दिन पितृकर्म प्रमुख : पितृश्राद्धका दिन पिण्डदानको कार्य पूर्ण नहुन्जेलसम्म हवनादि कार्य, भिक्षादान, देवपूजा, ब्रह्मचारी, तपस्वी र अभ्यागतहरूको आतिथ्यादि कुनै पनि काम गर्नु हुँदैन । श्राद्धका दिन पितृकर्म नै मुख्य र विशेष काम हो, त्यसैले पहिलो प्राथमिकता पितृकर्मलाई दिनु उपयुक्त हुन्छ, त्यसैले त्यस दिन पिण्डदानअघि अन्य समस्त कर्म प्राथमिकताका क्रममा राख्नु हुँदैन ।

११- श्राद्धमा ककसलाई डाक्ने वा नडाक्ने : यस कर्मका क्रममा विशेष गरी जसको श्राद्ध गरिंदैछ उसका छोरीपट्टिका नातिनातिना, गोतियार बन्धुबान्धव, ज्वाइँ र भान्जाभान्जीलाई निमन्त्रणा गर्नु अनिवार्य मानिन्छ । पितृकर्मका दिन पतित व्यक्तिहरूलाई आमन्त्रण गर्नु हुँदैन ।

१२- श्राद्धमा चढाउने फूलपाती : श्राद्धमा रातो रङको कुनै पनि वस्तुको प्रयोग निषेध गरिएको छ । यसमा तुलसी, भृ्ङ्गराज, सयपत्री, अगस्त्यपुष्प आदि पुष्पहरू ग्राह्य मानिन्छन् भने केत्तकी, करवीर, वकुल, कुन्दक र रातो रङका अन्य फूलहरू प्रयोग गर्नु हुँदैन ।

१३- श्राद्धको पितृप्रसाद वितरण : श्राद्ध सकिएपछि बाँडिने पितृप्रसाद आमन्त्रण गरिएका सबैलाई वितरण गर्नु पर्दछ, तर पिण्डमा चढाइएको पितृप्रसाद श्राद्धाधिकार पाएको सपिण्डीभित्रको दाजुभाइ र बन्धुबान्धवले मिलेर ग्रहण गर्नुपर्दछ । उक्त प्रसाद एउटै गोत्रभित्रका सगोत्री दाजुभाइलाई दिए पनि हुन्छ, तर अन्य गोत्रका व्यक्तिहरूले ग्रहण गर्न निषेध गरिएको पाइन्छ ।

सोह्र श्राद्ध र अन्य श्राद्धको समयमा माथिका नियमलाई पालना नगरेमा मृतपितृहरू रिसाउने र सन्ततिका घरमा अशुभ र अशान्तिले वास गर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । तर विधिवत नियम र निष्ठाका साथमा पितृकर्म गरेमा तिनको सदाशय र आशिर्वादले धेरै फल प्राप्त गर्न सकिन्छ । भनिएको पनि छ :-
आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः ॥

Loading...



Loading…