ब्राजिल बराबरीमा रोकियो, चिली हार्‍यो

Loading...

रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गतको खेलमा रुस विश्वकपका लागि छनौट भइसकेको ब्राजिल कोलम्बियासँग १–१ को बराबरीमा रोकिएको हो ।

अवे मैदानम भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा विलियनको गोलबाट ब्राजिलले अग्रता लियो । तर ५६ औं मिनेटमा घरेलु टोली कोलम्बियाका लागि राडामेल फालकाओले बराबरी गोल फर्काएर महत्वपूर्ण एक अंक जोडे । ब्राजिलका नेइमार तथा कोलम्बियाका जेम्स रोड्रिग्वेजले गोल गर्ने प्रयास गरेका थिए तर सफल भने भएनन् । कोलम्बिया दक्षिण अमेरिका क्षेत्रबाट विश्वकपका लागि छनौट हुने दौडमा छ ।

बिहानै भएको खेलमा चिली भने पराजित भएको छ । अवे मैदानमा भएको खेलमा चिली बोलिभियासँग १–० ले पराजित भएको हो । बोलिभियाको जितमा ५९ औं मिनेटमा अ्रसले गरेको गोल नै निर्णायक बन्यो । चिलीका लागि एलेक्स सान्चेज र अटुरो भिडालले गोल गर्ने प्रयास गरेपछि सफल हुन सकेनन् । अर्को खेलमा इक्वेडरलाई पेरुले २–१ ले हरायो । दक्षिण अमेरिकी क्षेत्रको शीर्ष स्थानमा रहेको ब्राजिलको ३७ तथा दोस्रो स्थानको कोलम्बियाको २६ अंक छ । २३ अंकसहित चिली पाँचौं स्थानमा छ ।

Loading...



Loading…