एकअर्काका फ्यान गगन थापा र मनीषा कोइराला बने सारथी

Loading...

काठमाडौं : ‘तपार्इं जोडिएको यति राम्रो अभियानमा म पनि जोडिन पाएँ, यसले मलाई धेरै खुसी दिएको छ । क्यान्सरको युद्ध जितेर अरूमा हाँसो थमाइरहनुभएको छ । हाम्रो अभियानमा पनि तपार्इं हुनुहुन्छ । यसले हामीलाई पनि राम्रो काम गर्न हौसला मिल्छ ।’
कांग्रेस नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले यसरी मन्तव्य सुरु गर्दा नजिकै रहेकी बलिउड नायिका मनीषा कोइरालाको हँसिलो अनुहार झनै खुलेको थियो । मनीषाले आफू बोल्दा खुलेरै गगनको प्रशंसा गरिन् । ‘सबैभन्दा पहिले म गगनजीलाई धेरै धन्यवाद दिन चाहन्छु’, मनीषाले सुरुमै भनिन्, ‘तपाईं स्वास्थ्यमन्त्री हुँदा यति राम्रो काम गर्नु भएको छ, त्यसको जति प्रशंसा गरे पनि कमै हुन्छ । स्वास्थ्य क्षेत्रको सुधारमा तपार्इंको भूमिका प्रशंसनीय छ । त्यसले मलाई पनि खुसी दिन्छ।’

मञ्चमा दुवै हात गालामा राखेर सोचिरहेका देखिने गगनको ध्यान मनीषाले खुलेर प्रशंसा गर्न थालेपछि भंग भयो । उनी फिस्स हाँसे ।क्यान्सर केयर नेपालले डिम्बासयको क्यान्सरविरुद्ध जनचेतान फैलाउने अभियानअन्तर्गत सोमबार राजधानीमा कार्यक्रम आयोजना गरेको थियो । प्रमुख आकर्षणका केन्द्र थिए गगन र मनीषा ।यी दुवै एक अर्काको प्रशंसामा उत्रिएपछि हलमा उपस्थित ‘अंकोलोजिस्ट’ चिकित्सक, डिम्बासय क्यान्सरसँग लडिरहेका महिला र बुद्धिजीवी सोचमग्न भएका थिए । उनीहरूको चोटिलो भाषणले सहभागी केहीका आँखा रसाएका थिए ।
नेपाली राजनीतिका ‘आशाका किरण’ गगनले स्वास्थ्यमन्त्री भएपछि स्वास्थ्य क्षेत्र सुधारमा लिने काम गरेका छन् । बलिउडमा प्रख्याति कमाएकी मनीषा डिम्बासय क्यान्सर जितेपछि नेपालीको स्वास्थ्य प्रवद्र्धन अभियानमा होमिएकी छन् । मनीषाको यो अभियान नेपालमा मात्र सीमित छैन, उनकै कार्यथलो भारतमा झनै प्रख्यात हुँदै छ ।
क्यान्सर युद्धको जितपछि आफ्नो ‘करियर’ को यात्रालाई स्तरीय बनाउने अठोट बोकेकी मनीषाले समाज सेवाका रूपमा क्यान्सरबाट मानिसलाई जोगाउन, त्यसबाट पीडित बनेकाको ओठमा हाँसो ल्याउन र उनीहरूको उपचारमा सहयोगी भूमिकामा देखिन थालेकी छन् ।
मनीषा सहभागी अभियानले क्यान्सर न्यूनीकरणको क्षेत्रमा मात्र सरोकार राख्दैन । स्वच्छजीवनशैलीका साथ आत्मबल बलियो बनाए, चिकित्सकले समयमै सही उपचार गरिदिए तथा परिवारले माया दिए सबै किसिमको रोगमा जित हासिल हुनेमा मनीषाको अभियान केन्द्रित छ ।

मनीषाको यो अभियान सुरु भएकै बेला स्वास्थ्य क्षेत्र सुधारको युद्धमा गगन होमिएका थिए । नीतिगत सुधारसँगै गगनले स्वास्थ्यमन्त्री हुँदा थालनी गरेको स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रममा मनीषा जोडिन पुगेकी हुन् ।
उनीहरूको अन्तरमनको इच्छा थियो, ‘नेपालीलाई रोग लाग्नै नदिने र लागिहाल्यो भने सहज र स्तरीय उपचारको पहुँचमा पुर्‍याउने ।’गगनले सुरु गरेको अभिायन ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ मा सहभागी हुन मनीषा भारतबाटै यात्रा सुरु गरिन् । गगनका कदममा चासो लिएकी मनीषा गगनको अभियानमा जोडिन पाउँदा खुसी हुनु स्वाभाविक थियो ।
सरकारी क्षेत्रको मात्र भर नपरी हरेक मानिस आफ्नो स्वास्थ्यप्रति सजग हुने हो भने रोगकै कारण गरिब भएर जीवन गुमाउन नपर्नेमा दुवैको एकै मत छ । मनीषाले क्यान्सर लडाइँमा शक्ति प्राप्त गर्न शरीरिक, मानसिक र आध्यामिक रूपमा स्वस्थ हुनु अपरिहार्य भएको बताइन् । ‘शरीर मात्र स्वस्थ्य भएर हुन्न, मन सकारात्मक हुनुपर्छ, आत्मबल बलियो हुनुपर्छ र त्यसका लागि मनलाई अध्यात्ममा जोड्नु तब मात्र रोगसँगको युद्ध सफल हुन्छ’, मनीषाले थपिन्, ‘रोगका कारक तत्व खैनी, चुरोट र मदिराको प्रयोग गर्नुहुन्न । त्यसको नियन्त्रणमा सरकार अघि बढ्नुपर्छ । गलत साथीको संगत पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ ।’
स्वास्थ्यमन्त्री हुँदा क्यान्सर उपचारमा याचना गर्ने तथा उनीहरूको रोदन सुनेका गगनले जीवनशैली सुधारमा र रोगसँग लड्ने क्षमतामा आर्थिक अवस्थाले पनि भूमिका खेल्ने बताए ।
‘स्वस्थ हुन जीवनशैली पनि स्वस्थ बनाउनुपर्छ । तर, नेपालमा आर्थिक अवस्था ज्यादै कम भएका मानिसमा धेरैजसो यस्ता रोग देखिएका छन् । उपचारका लागि पैसा नभएपछि भएको आत्मबल पनि खस्कँदो रहेछ,’ गगनले भने, ‘त्यसैले सबैभन्दा पहिले नेपालीको आर्थिक पाटो बलियो बनाउनुपर्छ । तर, गरिब बिरामीलाई सरकारले नै सस्तो र स्तरीय औषधि र उपचार व्यवस्था गर्नुको विकल्प छैन ।’ गगनको त्यो वाक्यले हँसिली मनीषा गम्भीर बनिन् ।
‘मनीषा पो शिक्षित छन्, परिवार सम्पन्न र बुझ्ने थियो र समयमै राम्रो ठाउँमा उपचार भयो र आत्मबल बढ्यो’, मनीषाले बिदा माग्दै गर्दा पछिल्लतिर बसेका एक चिकित्सकले खासखुस गरे, ‘नेपालमा अधिकांश मानिस रोगले थला पारेपछि मात्रै अस्पताल आउँछन् । समयमै सही चिकित्सकसँग पुग्न नसक्दा बाँच्ने सम्भावना बोकेका पनि मृत्युवरण गर्न बाध्य छन् । उनीहरूजस्ता नगरिकबीच पुग्नुपर्छ यस्तो कार्यक्रम अनि मात्र सफल हुन्छ रोगविरुद्धको लडाइँ ।’

नियमित स्वास्थ्य जाँच गरौं ‘
क्यान्सर केयर नेपालले ‘सेप्टेम्बर’ महिनालाई डिम्बासय, पाठेघरको मुखलगायत क्यान्सरविरुद्धको जनचेतनामूलक अभियान थाल्ने घोषणा गरेको छ । केयर नेपालका अध्यक्ष डा.मदनकुमार पियाले नियमित स्वास्थ्य जाँच, चिकित्सकको परामर्श र स्वस्थ जीवनशैली अपनाउन क्यान्सरबाट जोगिने बताए।
नेपालकी कार्यकारी सदस्य डा.सन्ध्या चापागार्इंले क्यान्सर आनुवंशिक रोग पनि भएकाले परिवारका सदस्यलाई क्यान्सर भएको छ भने निरोगीले पनि नियमित स्वास्थ्य जाँच गर्नुपर्ने सुझाव दिइन् । हालसम्म डिम्बासयको क्यान्सरका लागि ‘स्क्रिनिङ’को जाँच पद्धतिको विकास भइनसकेकाले पाठेघरको मुख्य र डिम्बासयको जाँच नियमित गर्दा धेरै हदसम्म रोगबाट जोगिनेमा उनले जोड दिइन् । annapurnapost.com

Loading...



Loading…