अलपत्र परेका एक किशोर ओखलढुंगामा आफ्नो घर खोज्दै

Loading...

जनक ताम्राकार 

घर खोज्दै भारतको हरिद्वारबाट आएका एक १६ वर्षिय किशोर ओखलढुंगामा अलपत्र परेका छन् । चारदिनदेखि जिल्ला प्रहरी कार्यालयमा रहेका उनको ठेगाना पत्ता लाग्न सकेको छैन । कृष्ण तामाङ नाम बताउने उनी हरिद्वारमै जन्मिएका थिए ।

उनका बुवा नरेन्द्र तामाङ भारतीय आर्मीमा कार्यरत थिए । उनको आमा दिपा कार्की भने उनी सानो हुदै दोश्रो विवाह गरि छोडेर गएकी थिइन् । त्यसपछि उनलाई उनको बुवाले आर्मी ब्यारेकमै राखेका थिए । उनको बुवाको पनि केही समय अघि निधन भयो । बुवाले समेत दोश्रो विवाह गरेका थिए । बुवाको निधन पश्चात उनलाई ब्यारेकबाट निकालियो । त्यसपछि भने उनी आफ्नो पुरानो थातथलो खोज्दै नेपाल आएका हुन् ।

आफू बालख्खै हुदँ बुवा संग नेपाल आएको बताउने कृष्णले नेपाली भाषा बुझेपनि हिन्दीमा मात्रै बोल्छन् । उनलाई आफ्नो गाँउको नामको पछाडि टार रहेको र त्यहाँ एयरपोर्ट रहेको याद छ । त्यसैको आधारमा इलाका प्रहरी कार्यालय उदयपुर कटारीले उनको घर रुम्जाटार हुनसक्ने बताएपछि जिल्ला प्रहरी ओखलढुंगाले जिम्मा लिएको प्रहरी नायब उपरिक्षक अर्जुन तिमिल्सिनाले बताए ।

तर रुम्जाटारमा सोधखोज गरेर प्रहरीले बुझ्दा त्यस्तो कुनैपनि तामाङ परिवार नभेटिएपछि उनलाई जिल्ला प्रहरीमै चारदिनदेखि संरक्षण गरेर राखिएको छ । आठ कक्षा सम्म पढेको बताउने कृष्ण आफ्नो हजुरबुवाको नाम गोपाल तामाङ रहेको र उनी अझै जिवितै हुनुपर्ने बताउछन् ।

प्रहरीले भारतीय गोर्खा वेल्फेयर कार्यालयमा बुझ्दा समेत नरेन्द्र तामाङ नाम गरेको भुतपूर्व गोर्खा कोही नरहेको जवाफ पाएको जनाएको छ । रुम्जाटारमा उनले बताएको आधारमा कोही आफन्त नभेटिएपछि भोजपुरको तुम्लिङटार आसपासमा आफन्तको खोजि गरिदिनका लागि प्रहरीले कदम चालेको प्रनाउ तिमिल्सिनाले बताए ।

उनलाई तत्काल जथाभावी छोडिदिन पनि गाह्रो भएको र उनको ठेगाना पनि पत्ता नलागेपछि प्रहरीलाई समेत के गर्ने भन्ने अन्योलमा परेको छ । यस्ता व्यक्तिलाई संरक्षण गर्ने कुनै संघसंस्था नरहेकोले पनि प्रहरीमै राख्ने बाध्यता छ । कृष्ण भने आफ्नो घर र आफन्त भेटिने आशामा छन् । प्रहरीले यी किशोरले भनेको आधारमा कुनै आफन्त फेला परेमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

Loading...



Loading…