जनप्रतिनिधि नै मानव तस्करीमा

Loading...

पीडितः विस्मिता दर्जी

अम्बिका भण्डारी
धुलाबारी । मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुवेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जी विदेशमा घरेलु हिंसाको शिकार भएकी छन् ।

कुवेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनु परेको भन्दै उनले जीवनरक्षाका लागि तत्काल स्वदेश फर्काइदिन हारगुहार गरेकी छन् ।

मेचीनगर–९ घर भएकी बिस्मितालाई मानव तस्करीको गिरोहले काठमाडौँबाट दिल्ली हुँदै सेटिङमा कुवेत पुर्याएको थियो ।

 

गाउँकै मीना कामीले बिस्मितालाई राम्रो काम र दाम पाइने भनी लोभ देखाएर कुवेत पठाएकी हुन् । मीना हाल मेचीनगर–९ की निर्वाचित वडा सदस्य हुन् । उनी नेपाली काङ्ग्रेसबाट वडाको महिला सदस्यमा निर्वाचित भएकी हुन् ।

मानव तस्करीमा संलग्न दलालहरुले एक रुपैयाँ पनि नलिइ कुवेत पुर्याएर बिस्मितालाई घरेलु कामदारको रुपमा बेचेका हुन् कि भन्ने आशङ्का उब्जिएको छ ।

नौ महिना अघि कुवेत पुर्याइएकी बिस्मिताले हाल लगातार परिवारका सदस्य र जनप्रतिनिधि मीना कामीलाई फोन गरेर कुवेतबाट छिटो उद्धार गरी घर फर्काइदिन अनुरोध गरिरहेकी छन् ।

कुवेतमा बन्दी जस्तै अवस्थामा रहेकी विस्मिता दर्जीको उद्धार गरी पाउँ भनी उनका बुबा राजकुमार दर्जीले मेचीनगर नगरपालिकामा आइतबार निवेदन समेत दिएका छन् ।

 

लोकतन्त्र पोस्टसँगको टेलिफोन कुराकानीमा बिस्मिताले आफुले कैयन दिनदेखि खान नपाएको र घर मालिकले चरम शारीरिक तथा मानसिक यातना दिइरहेको पीडा रुँदैरुँदै सुनाएकी छन् ।

‘तत्काल उद्धार भएन भने मलाई बाँच्न दिदैनन्’–कुवेतमा दर्दनाक पीडा भोगिरहेकी बिस्मिताले भनेकी छन्–‘सबै लागेर मलाई उद्धार गरिदिनु पर्यो, मलाई बचाइदिनुहोस् ।’

आफ्नी छोरीको उद्धारका लागि आग्रह गर्दा नगरपालिकाकी निर्वाचित वडा सदस्य मीना कामीले परिवारसँग १ लाख ५० हजार रुपैयाँ उल्टै मागेको उनका बुबा राजकुमार बताउँछन् ।

उनले न्यायका लागि नगरपालिकामा निवेदन दिएको बताए । ‘एक लाख ५० हजार देउ कि तीन जना विदेश पठाउने महिला खोजिदेउ, अन्यथा मबाट केही हुँदैन जे गर्नुछ गर भन्नुभयो मीना बहिनीले’, राजकुमारले भने–‘त्यही भएर न्यायको लागि निवेदन दिएको हुँ ।’

 

बिस्मिताका पति नरेन्द्र दासले तत्काल बिस्मिताको उद्धार गरिदिन मिडियामार्फत सरकार, स्थानीय प्रशासन, सरोकारवालाहरु र स्थानीय निकायसँग अपील गरेका छन् ।

सोमबार विहान लोकतन्त्र पोस्टको कार्यालय आइपुगेका दासले पत्नीमाथि चरम शारीरिक र मानसिक यातना भएको बताउँदै भने–‘उनको ज्यान जोखिममा छ, उद्धारका लागि सहयोग गरिदिनुस् ।’

उनले जनप्रतिनिधि जस्तो मान्छेबाट यसरी ठगिनु दुःखद् भएको बताउँदै भने–‘तत्काल अपराधीलाई कारवाही र पीडितलाई न्याय होस् ।’
मानव बेचविखन सम्बन्धी आरोप लागेकी मीना कामीले बिस्मिताको परिवारका सदस्यले आफूसँग रिहाईका लागि भन्न नआएको दावी गरिन् । उनले आफूले बिस्मितालाई गैरकानूनी रुपमा कुवेत पठाएको स्वीकार गर्दै भनिन्–‘उनले यातना पाएको कुरा झुठ्ठा हो, मसँग उनको कुरा भइरहेको छ ।’ मीनाले कुवेत पठाउँदा खर्च भएको १ लाख ७५ हजार रुपैयाँ नतिरेको हुँदा त्यही रकम मात्र आफूले मागेको बताइन् ।

 

उनले ‘जाँदा लागेको पैसा तिरे’ बिस्मितालाई दसैँ पछि फिर्ता ल्याइदिने बताएकी छन् ।
‘भन्ने वित्तिकै ल्याउन सक्दिन’, लोकतन्त्र पोस्टसँग मीना भन्छिन्–‘किनभने म राष्ट्रपति होइन, जतिखेर भन्यो त्यतिखेर ल्याउन सक्ने ।’
उनले आफूलाई थुनेर बिस्मितालाई ल्याउन सकिन्छ भने थुने पनि फरक नपर्ने बताइन् ।

अधिवक्ता दिपेन्द्र भट्टराईले गैर कानुनी बाटो प्रयोग गरेर बैदेशिक रोजगारमा पठाउनेलाई मानव बेचविखन तथा ओसारपसार सम्बन्धी मुद्दा लाग्ने बताए ।
अधिवक्ता भट्टराईले यस्ता प्रकृतिका मुद्दा प्रहरी कार्यालयमा दर्ता हुने बताए । उनले बेचविखन गरेकै ठहरिए पीडकलाई २० बर्षको जेल सजाय र क्षतिपूर्ति समेत कानुनमा व्यवस्था भएको बताए ।
(लोकतन्त्र पोस्ट दैनिकबाट)

Loading...



Loading…