सेती अस्पतालको आईसोलेसनमा ८ जना भर्ना, लकडाउनपछि स्याम्पल पठाउन समस्या

धनगढी : सेती अस्पतालको आईसोलेसन कक्षमा अहिले ८ जना भर्ना भएका छन्। भारत, कतार लगायतका देशबाट फर्किएका ८ जनालाई ज्वरो आएपछि उनीहरुलाई आईसोलेसन कक्षमा भर्ना गरिएको हो।

सेती अस्पतालको इमर्जेन्सी विभागका प्रमुख डाक्टर जगदिश जोशीले उनीहरुलाई आईसोलेसन वार्डमा राखेर स्याम्पल संकलन गरिएको बताए। तर लकडाउनका कारण स्याम्पल पठाउन भने समस्या भईरहेको उनले जानकारी दिए।

यसअघि सुदूरपश्चिमका अस्पतालहरुले संकलन गरेको स्याम्पल प्रदेश जनस्वास्थ्य प्रयोगशाला हुँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको थियो। प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले लकडाउनपछि स्याम्पल पठाउन नसकिएको स्विकार गरिन्।

उनले भनिन्, ‘यसअघि धनगढी–काठमाडौँ सञ्चालन हुने विमान मार्फत स्याम्पल पठाउने गरेका थियौँ। तर अहिले लकडाउनपछि सबै हवाई सेवा पनि ठप्प छ। कसरी पठाउने भन्ने बारे छलफल भईरहेको छ।’ सुदूरपश्मिच प्रदेश भरी कोरोना परिक्षणको व्यवस्था नहुँदा स्याम्पल काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको छ।