टोलटोलमा अत्यावश्यक वस्तु पु¥याउछौँ : आपूर्तिमन्त्री भट्ट

काठमाडौँ / कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील छ । सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा सहज आपूर्तिका लागि भरमग्दूर प्रयत्न गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग आपूर्तिको अवस्था र सरकारको तयारीका बारेमा कुराकानी गर्न आज बिहान रासस मन्त्रीनिवास पुल्चोक पुग्दा पनि उहाँ आपूर्ति व्यवस्थालाई थप सहज बनाउन खटिइरहनुभएको थियो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले नेपाल–भारत सीमाक्षेत्र रक्सौलमा औषधि तथा औषधिजन्य सामग्री बोकेका १६ ट्रक रोकिएको सूचना कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको रहेछ । उपप्रधानमन्त्री पोखरेलले आपूर्तिमन्त्री भट्टलाई त्यसबारेमा जिज्ञासा राख्दै हुनुहुन्थ्यो ।

उपप्रधानमन्त्री पोखरेलले त्यसबारेमा तत्काल बुझेर जानकारी गराउन मन्त्री भट्टलाई आग्रह गर्नुभयो । संयोजक पोखरेलको आग्रहलगत्तै मन्त्री भट्टले वाणिज्य सचिव डा बैकुण्ठ अर्याललाई औषधि रोकिएको विषयमा तत्काल बुझ्न निर्देशन दिनुभयो । एकैछिनमा सचिव डा अर्यालले बुझेर मन्त्री भट्टलाई भन्नुभयो, “मन्त्रीज्यू, ती औषधि बोकेका ट्रक रक्सौलबाट काठमाडौँ हिँडिसकेका छन् । केहीबेर मात्रै रोकिएका रहेछन् ।”

सचिव डा अर्यालको भनाइलगत्तै मन्त्री भट्टले पुनः उपप्रधानमन्त्री पोखरेललाई फोन गरेर भन्नुभयो, “मन्त्रीज्यू ती ट्रक काठमाडौँ हिँडिसकेका छन् । कुनै समस्या छैन । आजै काठमाडौँ आइपुग्छन् ।” कोरोनाका कारण पर्नसक्ने आपूर्ति प्रणालीको असरलाई कम गर्न सरकारले गरिरहेको प्रयासको यो सानो उदाहरण हो । मन्त्री, सचिव, सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय एवं निजी क्षेत्रसँग नियमित फोन संवाद गर्ने, आवश्यक सहयोग गर्ने र सहज तरिकाले अत्यावश्यक मालवस्तुको आयातमा सरकार २४ सै घण्टा परिचालित भइरहेको मन्त्री भट्टले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक उपभोग्य वस्तुदेखि औषधि तथा पेट्रोलिमय पदार्थको आयातका लागि सबै व्यवस्था मिलाइएको छ ।”