कोरोनाका कारण नेपालीले आउँदो पुसअघि बैंकको ब्याज र किस्ता तिर्न सक्दैनन्ः कँडेल

काठमाडौं । पब्लिक इनोभेटरको रुपमा परिचिथ इन्जिनियर दिपेन्द्र कँडेलले कोरोना भाईरसको प्रभाव नेपाली अर्थतन्त्रमा समेत परिसकेकोले अब नेपालीहरुले बैंकको ब्याज र किस्ता आउँदो पुससम्म तिर्न नसक्ने बताएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै कँडेलले कोरोना भाइरसलाई अमेरिकाले सुरु गरेको तेस्रो विश्व युद्धको संज्ञासमेत दिए । नेपालमा कोरोना भित्रिने हो कि ? भन्ने आशंका गर्दै उनले यसमा सरकार चनाखो भएको बताए । एसईईलगायत सबै परीक्षा रद्द गर्नुलाई त्यसले पुष्टि गर्नेसमेत उनले बताए । कँडेलले अहिले मुलुकमा विपद आएकोले सबै दल मिलेर नै अघि बढ्नुपर्नेसमेत बताए । अहिले कोरोनाको संक्रमणबाट जोगिनको लागि विश्वव्यापीरुपमा स्कुल, कलेज, होटल र विमानस्थलहरु बन्द भइसकेको बताउँदै उनले नेपालले पनि सोही अनुसार आफ्नो तयारी गर्नुपर्नेमा जोड दिए ।

कँडेलले नेपालमा पनि त्यस्तै अवस्था भइसकेकाले अर्थतन्त्र ध्वस्त भएको सुनाए ।विश्वका शक्तिशाली देशहरु अमेरिका, क्यानडालाई समेत कोरोनाका कारण आर्थिक रुपमा खराब अवस्था आएको र अर्थतन्त्र नै ध्वस्त भएको उल्लेख गर्दै उनले नेपाल त आर्थिक रुपमा पनि धेरै सानो देश भएकोले पूर्व सावधानी अपनाउनु जरुरी रहेको सुनाए । उनले सरकारले आवश्यक पूर्वतयारी अपनाउनु पहिलो कर्तव्य हुने सुझाए । उनले भूकम्प जाँदा नेपालमा कस्तो अवस्था थियो ? भन्दै त्यतिबेलाको कहालीलाग्दो अवस्थाको समेत स्मरण गरे । सरकारले आवश्यक परे फिस्कल पोलिसीसमेत परिवर्तन गरेर अघि बढ्न सक्ने कँडेलको तर्क छ । सरकारले आफ्नो जनतालाई केही राहतका कार्यक्रमहरु समेत घोषणा गर्नुपर्ने हुनसक्ने तर्क पनि उनले सुनाए । कँडेलले कोरोनाकै कारण नेपालको अर्थतन्त्र अझै भयावह हुन नदिनको लागि नेपाल सरकार र निजी क्षेत्र मिलेर जनताका लागि राहतका कार्यक्रम घोषणा गर्नुपर्ने बताए ।

अब विदेशमा रहेका नेपालीहरुसमेत कोरोनाको प्रभावमा परेकोले रेमिट्यान्स पनि नेपालमा नआउनेतर्फ सरकारको ध्यानाकर्षण गराए । सरकारले नेपाली जनतालाई बाच्नको लागि उच्च मनोवल बनाउन पनि केही कदमहरु चाल्नुपर्ने पनि कँडेलले सुझाव दिए । उनले अहिले पनि ९० प्रतिशत नेपाली व्यवसायीहरुले बैंकबाट ऋण लिएको सुनाउँदै उनीहरुले यस्तो अवस्थामा कसरी समयमै किस्ता वा ब्याज तिर्न सकन्छन् त ? भनी प्रश्न गरे । कँडेलले प्रश्न समेत गरे । त्यस्तै, उनले मासिकरुपमा नियमित तिर्ने भ्याटसमेत तिर्न नसक्ने अवस्था आएको सुनाउँदै कम्तिमा २०७७ सालको पुस मसान्तसम्मको लागि तिर्न नपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।