पूर्वमन्त्री बस्नेतले बाँडे स्वास्थ्य सामग्री

सिन्धुपाल्चोक–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका दुइ स्वास्थ्य केन्द्रलाई कोरोना परीक्षणमा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको छ।

कोरोनाको आशंकामा स्वास्थ्य संस्थामा परीक्षणका लागि बिरामी आउने भए पनि स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामग्रीसमेत अभाव भएपछि बस्नेतको पहलमा आवश्यक सामग्री वितरण गरिएको हो। बस्नेतले बाह्रविसे नगरपालिकाका प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे र क्षमादेवी स्वास्थ्य चौकीमा सेनीटाइजर,साबुन माक्स, ग्लोब्स, एप्रोन लगायतका सामग्री स्वास्थ्य केन्द्रमा पुगेर हस्तान्तरण गरेका थिए।

त्यस्तै सिटामोल,स्वास्थ्यकर्मीहरुका लागि डिस्पोजल क्यापसहित करिब १० लाख मुल्य बराबरको सामग्री स्वास्थ्य चौकीहरुमा हस्तान्तरण गरिएको थियो। बाह्रविसेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र क्षेत्र नम्बर १ को उच्च सुविधा रहेको स्वास्थ्य केन्द्र भए पनि सामग्री अभावमा स्वास्थ्यकर्मीलाई समस्या भएपछि सबैसँग सहयोग मागेर सामग्री वितरण गरिएको पूर्वमन्त्री बस्नेतले जानकारी दिए।

बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेकी डा. सिर्जना महर्जनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए। संकटका बेला सबै राजनीतिक दल र स्थानीय सरकारका प्रमुखहरुले पनि सम्भव हुँदासम्म स्थानीय स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरेर सहयोग गर्नुपर्ने बस्नेतले बताए।