तस्बिरमा हेर्नुहोस काठमाण्डौमा १० वटा ट्याङ्करले कीटनाशक औषधि छर्कँदै

काठमाण्डौ – सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन काठमाण्डौ महानगरपालिकाले कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । बिहीबार बिहान तीन वटा जेटले औषधि छरेका छन् ।

तीनवटामध्ये एउटा बबरमहल—बानेश्वर—तीनकुने—सिनामङ्गल क्षेत्रमा खटिएको थियो भने अर्को जमल—लाजिम्पाट—पानीपोखरी हुँदै महाराजगञ्ज क्षेत्रसम्म पुगेको थियो ।

अर्कोलाई वसन्तपुर आसपास क्षेत्रमा केन्द्रित गरिएको थियो । नगर प्रहरी महाशाखा प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) धनपति सापकोटाका अनुसार बिहीबार दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्याङ्कर परिचालन गरिनेछन् ।

४० हजार लिटर पानीमा एक सय ४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने बिहीबारको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ । बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई शहरभरि पुर्‍याउने रणनीतिका आधारमा काम भइरहेको उहाँको भनाइ छ ।

बुधबार वीर अस्पताल, टेकु अस्पताल सहित भित्रि शहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छर्किएको थियो । यससँगै ब्रुमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको छ।