सुदूरपश्चिमका विरामीलाई अस्पतालले भन्यो, कोरोना परिक्षणका लागि काठमाडौँ जानुस्

भुवन भट्ट: लगातार ५ दिनसम्म रुघाखोकी र खकारमा रगत देखिएपछि कञ्चनपुरका हरीस पाण्डे मंगलवार मात्रै महाकाली अस्पतालमा पुगे। तर अस्पतालबाट भने कोरोना परीक्षणका लागी काठमाडौँ नै जानुपर्ने भन्दै उहालाई सामान्य रुघाखोकीको औषधी दिएर घर फर्काईदियो। ‘कोरोना भाईरसको हाम्रो यहाँ समान्य चेकजाँच मात्र हुन्छ, अन्य परिक्षणका लागि काठमाडौँ जानुस भनेर फर्काईदियो।’ उनले भने।

तर उनले आफ्नो आर्थिक अवस्था कमजोर हुँदा परिक्षणका लागि काठमाडौँ जान नसक्ने स्थिती रहेको बताए। कोरोना परिक्षण गर्ने उपकरण महाकाली अस्पतालमै व्यवस्थापन गर्नुपर्ने माग गरे। विश्वका एक सय ७६ बढी देशमा कोरोनाको संक्रमण देखा परी सक्दा पनि सुदूरपश्चिमका स्वास्थ्य संस्थाहरुमा उपकरण अभावले विरामीको उचित परीक्षण हुन नसकेको हो। कोरोना परिक्षणको व्यवस्था सुदूरपश्चिमकै अस्पतालमा नभएपनि यस क्षेत्रका अस्पतालले नमूना काठमाडौँ पठाउन पनि अटेरी गरेको गुनासो गरिएको छ।

कञ्चनपुरकै अर्का स्थानीय कृष्ण सिंह ऐरले स्थानीय र प्रदेश सरकारले कोरोनाको संक्रमण फैलिन नदिने विषयमा गम्भीर नबनेको गुनासो गरे। उनले अस्पतालले शंकास्पद विरामीलाई आईसोलेसन वार्डमा राखेर उपचार गर्नुपर्नेमा उल्टै काठमाडौँ जानुपर्छ भन्दै छोडिरहेको पाईएको बताए।

सुदूरपश्चिममा अहिले सम्म कोरोना परिक्षणका लागि सेती प्रादेशिक अस्पतालले मात्रै नमूना संकलन गरी काठमाडौँ पठाएको छ। चार जनाको परिक्षण गरिएकोमा चारै जनाको रिर्पोट नेगेटिभ आएको छ। तर अन्य अस्पतालले भने शंकास्पद विरामीलाई पनि समान्य औषधी दिएर घर फिर्ता गरिदिने गरेका छन्।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्र्कीले कोरोनाको संक्रमण फैलिएमा उपचारका लागि आईसियु व्यवस्थापन गर्ने तयारी गरिएको बताए। उनले महाकाली र सेती प्रादेशिक अस्पताललाई आईसियुका लागि एक÷एक करोड बजेटको सुनिश्चितता पठाईएको बताए।