अलपत्र सवारीचालक तीन दिनदेखि पानीकाे भरमा

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनले वीरगन्जको बसपार्कमा सवारीचालक अलपत्र परेका छन् । सरकारले गत चैत ११ देखि १८ सम्म लकडाउन घोषणा गरेपछि ४० जना चालक खाना नपाएर बसपार्कमा अलपत्र परेका हुन् ।

लकडाउन सुरु भएको (११ चैत) दिनदेखि खाना नपाएर अलपत्र परेको धादिङ घर भएका ना.६ख २७०६ नम्बर बसका चालक सुमन रिजालले गुनासो गरे । उनले भने, ‘लकडाउन घोषणा गर्नुभन्दा एक दिनअगाडि खाना खाएका हो । आज तीन दिन भयो पानी पिएर दिन काट्नुपरेको छ ।’

रिजालजस्तै अहिले वीरगन्ज बसपार्कमा अधिकांश चालक र सहचालकले खाना नखाएर पानीको भरमा दिन बिताइरहेको गुनासाे गरे । बसपार्कमा खाना नखाएर अलपत्र परेकामध्येका महोतरीका ना.६ख २७०६ नम्बरकाे सवारीका चालक प्रेमप्रसाद बराल भने, ‘पैसा पनि छैन, भए पनि खाना खाने ठाउँ छैन । यसरी कति दिन धानिन्छ जीवन ?’

सरकारले अत्यावश्यकबाहेक कुनै पनि कामले घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । उता चालकले सवारीधनीलाई सक्पर्क गर्दा चालकको फोन उठाउन छाेडेका छन् ।

बसपार्कमै रहेका ना.७ख २५७२ नम्बरको बसका चालक विशाल आलेमगरले सवारीधनीलाई पैसा सकिएको जानकारी गराउँदा पनि कुनै रेस्पोन्स नगरेको गुनासो गरे । उनले भने, ‘लकडाउन भएपछि बसपार्कमा रहेका होटेल बन्द छन्, तीन दिनदेखि खाना पाएको छैन, पानीको भरमा बाचेका छौँ ।’