इन्डक्सन चुलाेमा खाना पकाउनेलाई विद्युत महसुल छुट गर्न निर्देशन

काठमाडौँ, १३ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले इन्डक्सन (विद्युतचुम्बकीय) चुलो प्रयोग ग्राहकलाई विद्युत महसुल छुट गर्न निर्देशन दिएको छ । मन्त्रालयले इन्डक्सनबाट खाना पकाउनेहरुलाई १५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो ।

मुलुक लकडाउनमा रहँदा र उत्तरी तथा दक्षिणी सीमानाका बन्द रहँदा खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई ध्यानमा राखी मन्त्रालयले सो निर्देशन दिएको जनाइएको छ ।

मन्त्रालय स्रोतका अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोनमार्फत सो निर्देशन दिनुभएको हो । निर्देशनमार्फत् १५० युनिटसम्मको महशुलमा २० प्रतिशत महसुल छुट दिने व्यवस्था गर्न भनिएको छ ।

इन्डक्सनमा खाना पकाउँदा ग्यासभन्दा सस्तो पर्ने, छिटो पाक्ने र ग्यास खपत कम गरी अभाव न्यूनीकरण गर्न सहयोग गर्ने भएकाले इन्डक्सनका उपभोक्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । उहाँले छुट व्यवस्था चाँडै कार्यान्वयनमा ल्याउने समेत बताउनुभयाे ।

सरकारले मुलुकमा कोरोना भाइरसको सम्भावित जोखिमलाई कम गर्न मुलुकभर लकडाउन गरेको छ । अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरिएका छन् भने अन्तर्राष्ट्रिय नाका पनि बन्द छन् ।