स्वास्थ्य मन्त्री र सचिव हटाउन ओलीलाई दवाव

काठमाडौं,१४ चैत – नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले कोरोना भाइरसको संक्रमणविरुद्ध काम गर्न नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र सचिव यादवप्रसाद कोइरालालाई हटाउन माग गर्नु भएको छ ।उपाध्यायले ट्वीट गर्दै स्वास्थ्य मन्त्री र सचिवले कोरोना भाइरसको संक्रमणविरुद्ध उचित काम गर्न नसकेको आरोप लगाउनु भएको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीसमक्ष जनताको तर्फबाट यो अर्जेन्ट अनुरोध खबर गरिदिनुपर्‍यो”, ट्वीटमा उपाध्यायले लेख्नु भएको छ, “निकम्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आजै हटाएर कुनै चिकित्साविज्ञलाई आजैदेखि स्वास्थ्यमन्त्री नियुक्ति गरिहालुन् ।”

उहाँले लेख्नु भएको छ, “कुनै स्वास्थ्यकर्मी कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मा दिइहालुन् ।” मन्त्री र सचिवले जिम्मेवारी अनुसारको काम गर्न नसकेको भन्दै उपाध्यायले उनीहरूलाई हटाएर विज्ञहरूलाई नियुक्त गर्न माग गर्नु भएको छ ।

मन्त्री र सचिवले स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने सुरक्षाका सामग्री, औषधि, परीक्षण गर्ने किट आदि व्यवस्था गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ । जिल्लाहरूबाट समेत कोरोना भाइरसको संक्रमणको परीक्षण काठमाडौं ल्याउनेपर्ने लगायतका व्यवस्था अहिलेसम्म कायम राखेको भन्दै स्वास्थ्यमन्त्री र सचिवको आलोचना भइरहेको छ ।

उहाँहरूले कोरोनाविरुद्ध आवश्यक पर्ने सामग्री र बन्दोबस्तीको कार्य नगरेको पनि आरोप लाग्न थालेको छ ।