धनगढीका कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्ने व्यक्ति अझै सम्पर्कमा आएनन

धनगढी : धनगढीमा कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय युवकलाई अस्पताल भर्ना गर्ने अर्का व्यक्ति अझै सम्पर्कमा आएका छैनन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ती संक्रमित युवकलाई उनकै एक जना आफन्तले चैत ११ गते सेती प्रादेशिक अस्पताल ल्याएर भर्ना गरेका थिए। तर उनलाई अलिहे सम्म सम्पर्कमा ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले युवकलाई अस्पताल सम्म पुगाउनेको खोजी सुरु गरिएको बताउँदै अहिले सम्म सम्पर्क गर्न नससिकएको दिनेश खवरलाई जानकारी दिए। दुबईबाट भारतको राजधानी दिल्ली हुँदै आएका धनगढीका एक पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले उनको सम्पर्कमा आएकाहरुको खोजी गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार संक्रमित व्यक्तिका परिवारका ८ जना सदस्यलाई घरमै निगरानीमा राखिएको छ। आज अस्पताल ल्याएर सबैको नमूना संकलन गर्ने तयारी छ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको थियो। उनी चैत ८ गते काठमाडौँ–नेपालगञ्ज हुँदै धनगढी आएका थिए। ति युवक युएईको दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौँ पुगेका थिए। २१ मार्च अर्थात चैत ८ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए। उनी बुद्ध एयरको विमानबाट नेपालगञ्ज पुगेका थिए। उक्त कुराको बुद्ध एयर नेपालगञ्जका ईन्चार्ज दिनेश साहले पुष्टि गरिसकेका छन्।

८ गते धनगढी पुगेका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए। उनीमा कोरोना संक्रमणको पुष्टि आज मात्रै भएको हो। उनको स्वाब अस्पतालले संकलन गरेर टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो जहाँ परीक्षण हुँदा कोरोना पोजेटिभ पाइएको हो।

काठमाडौँ नेपालगञ्ज हवाई यात्रा र त्यसपछि नेपालगञ्ज धनगढीसम्म बसको यात्रा गरेका कारण उनीबाट अरु धेरै व्यक्तिमा पनि कोरोनाको संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ।

सेती प्रादेशिक अस्पतालले कोरोनाको संक्रमण पुष्टि भएका युवकको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसअघि नेपालमा तीनजनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये दुईको टेकु अस्पतालमा उपचार भइरहेको छ भने एकजना उपचारपछि घर फर्केका छन्।