क्वारेन्टाइनमा बस्नेहरू भन्छन्- ढुक्क र सतर्क रहन स्वेच्छाले बसेका हाैँ

रौतहट, १५ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास बढेसँगै जिल्लामा क्वारेनटाइनमा बस्नेको संख्या पनि बढ्दै गइरहेको छ । रौतहट जिल्लामा हालसम्म ६० जनालाई क्वारेन्टाइमा राखिएको छ ।

भारतका विभिन्न स्थानहरुबाट आएका व्यक्तिहरुलाई जिल्लाको विभिन्न स्थानीय तहले संचालन गरेका क्वारेन्टाइनमा राखिएको छ । गौर नगरपालिकाको नर्सिङ्ग कलेजमा स्थापना गरिएको क्वारेन्टाइनमा १६ जना र चन्द्रपुर नगरपालिकाको एन्फा एकेडेमीको क्वारेन्टाइनमा २४ जनालाई राखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

आफुहरुलाई कुनै लक्षण देखा नपरे पनि आफ्नै सर्तकताका लागि क्वारेनटाइनमा बस्न आएको उनीहरू बताउँछन् । आफुहरु भारतबाट आएकाले न केही छ कि भन्ने शंकाका आधारमा मात्र स्वेच्छाले आएको उनीहरुको भनाइ छ ।

क्वारेन्टाइनमा बस्नेहरुले मानसिक रुपमा आफुहरु यो अवस्थाको सामना गर्न तयार रहेको भन्दै क्वारेन्टाइनमा बस्दैमा कोरोना लागेको भन्ने सोच्नु गलत रहेको बताए । चन्द्रपुर क्वारेनटाइनमा रहेका सरोज विकले भारतको तमिलनाडुमा काम गरेर नेपाल फर्किएको र सो क्रममा संक्रमण भएको पनि हुनसक्ने आशंकाले क्वारेनटाइनमा बस्न आएको बताए ।

उनले आफुले नेपाल आएर पनि २–३ पटक स्वास्थ्य परीक्षण गराउँदा केही नदेखिएकाे तर पनि मनको शान्तिका लागि र समाजको सुरक्षाका लागि क्वारेनटाइनमा बस्न आएको बताए । बलविन्द्र कुमार साह पनि आफुलाई क्वारेनटाइनमा बस्दा कुनै पनि डर नलागेको बताउछन् । उनले आफुलाई कोरोना भाइरस नलागेकोमा विश्वस्त रहेको भन्दै आत्मसन्तुष्टि र सुरक्षाको लागि क्वारेनटाइनमा बस्न आएको बताए ।

तमिलनाडुमा धागो कम्पनीमा काम गर्ने उनीहरु एकैसाथ नेपाल आएका थिए । आफुहरु नेपाल आउने बेलासम्म भारतमा कोरोनाको महामारी फैलिसकेका कारण केही भएको छ कि भन्ने आशंकाले मात्र क्वारेनटाइनमा बस्न आएको सबैकाे भनाइ थियाे । ‘हामीहरु कसैलाई ज्वरो आउने, खोकी लाग्ने गरेको छैन । त्यसैले हामी ढुक्क छौँ, हामीलाई कोरोना लागेको छैन्,’ उनीहरू भन्छन्, ‘हामीलाई क्वारेनटाइनमा बस्दा समयमा खान पाइन्छ कि पाइदैन भन्ने मात्र चिन्ता छ । सरकारले त्यसको व्यवस्था गरिदिए हामीलाई ढुक्क हुन्थ्यो ।’

कोही मानिस क्वारेनटाइनमा बस्दैमा उसलाई कोरोना भाइरस लागेको छ भन्नु सोच्नु गलत रहेको चन्द्रनिगाहपुर अस्पताल प्रालिका डाक्टर सुवास चौधरी बताउछन् । बाहिर कुनै देशबाट फर्किएकाहरुलाई वा यहीँ रहेकाहरुलाई पनि सक्रमण भएको हुनसक्ने आशंकामा मात्र पूर्वसर्तकता अपनाएर क्वारेनटाइनमा राखिएको उहाँको भनाइ छ ।

‘सबै विदेशबाट फर्कनेहरुलाई क्वारेनटाइनमा राख्नैपर्छ भन्ने पनि होइन,’ उनले भने, ‘यदि कसैमा १ सय डिग्री फरेनहाइटभन्दा माथि ज्वरो आउने, रुघाखोकी लाग्ने, बान्ता हुने लगायतका लक्षण देखेमा मात्र अस्पताल आउँदा हुन्छ । नभए १४ दिनसम्म आफै घरमा सुरक्षित होम क्वारेनटाइनमा बस्दा पनि हुन्छ ।’

यो समय मौसमी रुघाखोकी, ज्वरो आउने समय पनि भएकाले यस्ता लक्षण देखापर्दैमा आत्तिनु नहुने उनको भनाइ छ । उनले यसबाट बच्न प्रशस्त भिटामिन ‘सी’ युक्त खानेकुरा खान र घरबाहिर ननिस्कन सुझाउनुभयो । हालसम्म जिल्लाका १६ वटा स्थानिय तहले क्वारेन्टाइन संचालनमा ल्याएका छन् ।