कालिकाेटमा ज्वराे नाप्ने मेसिन छैन, ३७ जना क्वारेन्टाइनमा राखियाे

कालिकोट, १५ चैत । कोभिड–१९ (कोरोना भाइरस)को आशंकामा कालिकोटका दुईवटा स्थानीय तहका ३७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लाभर ६०६ वटा क्वारेन्टाइन बेड र जिल्ला अस्पतालमा ४ वटा आइसोलेसन बेड तयार गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो । महतका अनुसार स्वास्थ्यकर्मीका लागि अतिआवश्यक पर्ने सामग्रीको अभाव छ । ज्वरो नाप्ने आइआर थर्मोमिटर, स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्कलगायतका सामग्रीहरु छैनन् । माग गरिए पनि सम्बन्धित क्षेत्रबाट प्राप्त नभएको महतले बताए ।

सान्नीत्रिबेणी गाउँपालिकामा २८ जना र राष्कोट नगरपालिकामा ९ जना गरी जम्मा ३७ जना क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा डाक्टर विज्ञान प्रजापतिको संयोजकत्वमा ९ सदस्यीय विपद् उद्धार तथा प्रतिकार्य टिम गठन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा ३ बेडको आइसोलेसन बनाउने तयारी भइरहेको छ । पलाँता गाउँपालकाले २० हजार थान मास्क तथा हात धुने साबुन वितरण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनुभयो । त्यस्तै तिलागुफा नगरपालिकाले सबै स्थानीय नागरिकलाई घरबाहिर नआउन आग्रह गरेको छ ।