लकडाउनले सबैभन्दा बढी महंगियो साग, गोलभेडाको मूल्य कालीमाटीमा ९५ रुपैयाँ, उपभोक्ताले तिर्नुपर्छ १४०

नेपालमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले साताव्यापी लक डाउन घोषणा गरेको छ। सरकारले लक डाउनका बेला दैनिक उपभोग्य वस्तुको ढुवानी र वितरणमा कुनै समस्या नआउने बताए पनि फिजिकल डिस्टेन्स कायम राख्नुपर्ने भएकाले किनमेलमा केही असहज भने भएको छ। त्यसमा पनि सीमित पसल खुलेकाले तरकारीको भाउ निकै बढेको छ।

कोरोना फैलिएपछि दिनप्रतिदिन तरकारीको मूल्य बढ्न थालेको चाबहिल तरकारी बजारमा तरकारी किन्न आएकी सरिता सापकोटाले बताइन्। ‘धेरैले त बढेको छैन किलोमा १०-१५ रुपैयाँले बढ्दै गएको छ। तर यसैगरि दिनप्रतिदिन बढ्दै गयो भने त काम पनि छैन केले किनेर खानु,’ उनले भनिन्। सरकारले अत्यावश्यक खाद्यान्न तथा तरकारी ढुवानीमा रोक नलगाउँदा पनि तरकारीको मूल्य बढेको उनले गुनासो पोखिन्।

चैत १० गते देखि १४ गतेसम्म तरकारीको मूल्य हेर्ने हो भने गोलभेडा १३ प्रतिशतले वृद्धि भएको छ। मेथी, रायो, तोरी, चम्सुर, पालुंगोको सागमा भने १ सय १४ प्रतिशतले वृद्धि भएको छ। काउली, बन्दा, भन्टा, बोडी, मुला, सिमीलगायतका तरकारीमा भने सामान्य घटबढ भएको छ। यसले बजारमा तरकारीको मूल्य नबढे पनि व्यापारीले भने बढाएको देखाउँछ।

कालिमाटी बजारको शुक्रबारको मूल्य सूची हेर्ने हो भने गोलभेडाको मूल्य घटेको छ। ठूलो तथा सानो गोलभेडाको मूल्य प्रतिकिलो ८० देखि ९५ रुपैयाँ रहेको छ तर बजारमा भने उपभोक्ताले सय देखि १ सय ४० रुपैयाँसम्म तिर्नुपरेको छ। घिउसिमी ८०, बन्दा ६०, भन्टा ६०, भिण्डी १ सय ४०, काउली ८०, गाजर ४०, लामो फर्सी ४०, मटरकोशा ६०, मुला ४०, डल्ले फर्सी ५० प्रतिकेजी चावहिल तरकारी बजारमा कोरोबार भइरहेको छ।

कालिमाटी तरकारी बजारमा भने तरकारीको मूल्यमा खास्सै अन्तर नभएको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। ‘कोरोनाले नै भनेर तरकारीको मूल्य वृद्धि भएको छैन, ५-१० रुपैयाँले घटबढ हुनु त सामान्य हो।’

अहिले बजारमा तरकारी आउने क्रम भने घटेको उनले बताए। अन्य समयमा ९ सयदेखि ११ सय टनसम्म तरकारी आउँथ्यो, अहिले दुई दिनमा त्यति आएको छ,’ उनले भने। लकडाउनको अवस्थामा पनि उक्त परिमाणको तरकारी आउनु राम्रै भएको उनी बताउँछन्।

‘व्यापारीलाई उपभोक्ता किन्न आउँछन् की आउँदैनन्, मूल्य पाइन्छ की पाइँदैन, सामान लगेर फर्किन पाइने हो होइन भन्ने डर छ,’ उनले भने, ‘यस्तो अवस्थामा यति सामान आउनुलाई राम्रै मान्नुपर्छ।’ छिमेकी मुलुक भारतबाट पनि निरन्तर सामान आइरहेको उनले जानकारी दिए। उनका अनुसार बजारमा बिहान र बेलुकाको समयमा तरकारीको कारोबार भइरहेको छ।