दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउँदै आएका दुई परिवारलाई ग्याँस र खाद्यान्न सहयोग

तनहुँ, १५ चैत । तनहुँको व्यास युवा क्लब सञ्जाल दमौलीको संयोजन तथा सामाजिक युवा अभियान्ताको सक्रियतामा शनिबार यहाँका दुई परिवारलाई खाद्यान्न र ग्याँस सहयोग गरिएको छ । नेपाल सरकारले कोभिड–१९ लाई मध्यनजर गर्दै गत मंगलबारदेखि लकडाउन गरेपछि न्यून आय भएका/दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका व्यासनगरपालिका–१० निवासी एकल महिला प्रमिला बुढा मगरलाई एक थान ग्याँस प्रदान गरिएको हो । उनी दुई बच्चाकी आमासमेत हुन् ।

त्यस्तै, व्यास नगरपालिका–४ बागभन्ज्याङ निवासी मीना परियारलाई पनि एक बोरा चामल सहयोग गरिएको छ । मीना परियार पनि दुई बच्चाकी आमा नै हुन् ।

सामाजिक युवा अभियान्ताका सल्लाहकार लक्ष्मी भक्त खनालले एक बोरा चामाल र ओरेन्ज होम सञ्चालक सोम थापा मगरले उपलब्ध गराएको एक थान ग्याँस दुई परिवारलाई सहयोग गरिएको व्यास युवा क्लब सन्जालका अध्यक्ष गौरब पन्थले बताउनुभयो ।

आपतकालीन अवस्थामा सबै काम ठप्प हुँदा ज्याला मजदुरी गरेर दैनिकी चलाउनेको चुल्होमा आगो नबल्ने भएपछि सानै भएपनि सहयोग गरिएको अध्यक्ष पन्थले जानकारी दिनुभयो ।