भारतमा कोरोनाले मृत्यु हुनेको संख्या २१ पुग्यो

भारतको केरलामा पनि कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। शनिबार कोचीस्थित कलामास्सेरी मेडिकल कलेजमा उपचाररत ६९ वर्षीय वृद्धको मृत्यु भएपछि कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको हो। भारतीय अधिकारीहरूका अनुसार उनी दुबईबाट फर्किएका हुन्। उनमा निमोनिया देखिएपछि गत २२ मार्चमा अस्पताल भर्ना गरिएको थियो भने पछि मात्रै कोरोनाभाइरस पोजिटिभ देखिएको इण्डिया टुडेले जनाएको छ।

उनको स्वास्थ्य अवस्था नाजुक भएपछि भेन्टिलेटरमा राखिएको थियो। उनी मुटु रोगका बिरामी र यसअघि शल्यक्रिया समेत गरिसकेको थियो। उनको शव आफन्तहरूलाई बुझाइसकेको प्रदेशका अधिकारीले बताएका छन्। अहिलेसम्म भारतको महाराष्ट्रमा पाँच, गुजरातमा तीन, कर्नाटकमा दुई, मध्यप्रदेशमा दुई जनाको मृत्यु भएको छ।

तमिल नाडू, राजेस्थान, विहार, पन्जाब, दिल्ली, वेष्ट बेंगाल, जम्मु र कश्मिर र हिमाञ्चल प्रदेशमा एक-एक जनाको मृत्यु भएको हो। केरलामा अहिलेसम्म एक जनाको मात्रै मृत्यु भए पनि १७६ संक्रमित बिरामीहरू रहेका छन् जसमध्ये ११ जना विदेशी नागरिक समेत रहेका छन्। गएको २४ घण्टामा भारतमा एक सय ४९ नयाँ संक्रमित बिरामी थपिएका छन्। त्यहाँ अहिले कोरोनाभाइरस संक्रमित बिरामीको संख्या आठ सय ७३ पुगिसकेको छ।