कोरोनाभाइरस लागेकी २६ वर्षे युवतीको बयानः एकाएक बोल्नै नसक्ने भएँ, स्वास फेर्न गाह्रो भयो

मेरो उमेर मात्र २६ वर्ष । मलाई यसअघि श्वासप्रश्वाससम्बन्धी कुनै पनि समस्या थिएन । म दिनभरि जसो शारीरिक परिश्रम गरिरहेकी हुन्छु । चुरोट पिउँदिन । कोरोना सङ्क्रमणको अहिलेको विकराल स्थितिमा म अरू बिरामीहरूकी सहयोगी हुन सक्छु भन्ने मलाई लाग्थ्यो । तर बिडम्बना ! कोरोना (कोभिड–१९) सङ्क्रमितका रूपमा अहिले म आफैँ अस्पतालमा छु ।

सन् २०२०, मार्च महिनाको १३ तारिख, शुक्रबारका दिन मेरो शरीरमा कोरोनाको लक्षण देखियो । मबाट अरू मान्छेहरूलाई यो भाइरस नसरोस् भनेर मैले अलग्गै रहने निर्णय गरेँ । सुरुमा मलाई ज्वरो आउने र टाउको दुख्ने लक्षण देखियो । त्यसबेला मलाई यो सङ्क्रमण यति धेरै घातक हुन सक्छ भन्ने लागेन । तैपनि सतर्कताका लागि मेरा श्रीमान् र मैले छुट्टाछुट्टै कोठामा सुत्ने निधो गर्यौँ ।

भोलिपल्ट बिहानदेखि मलाई खोकी लाग्न थाल्यो । आइतबार भने मलाई अचानक अलि बिसेक भयो । ज्वरो हरायो । कोरोना भाइरसले सताएकै भए पनि घरमै बसेर आराम गर्दा हुने भो । अस्पताल जानु परेन भनी म ढुक्क भएँ । यस्तो अवस्थामा मान्छेहरू निक्कै आत्तिएको देखेकी थिएँ । मैले भोलिपल्टदेखि आफ्नो नियमित काममा जाने योजना बनाएँ । अब मजाले नुहाउन पनि पाउने भएँ भनेर झनै रमाएँ ।

तर सबै कुरा मैले सोचे जस्तै कहाँ हुँदो रहेछ र ! आइतबार राति त म जाडो भएर लुगलुग काम्न पो थालेँ । तत्कालै उल्टी भयो । बिस्तारै सास फेर्न गाह्रो हुँदै गयो । सोमबार बिहान त म झन्डै झन्डै बोल्नै नसक्ने भएँ । श्वास बढ्न थाल्यो । स्वाँस्वाँ हुन थाल्यो ।

शौचालयसम्म पुग्न पनि गाह्रो भो । सोमबार बेलुका मैले केही खानेकुरा खान खोजेँ । तर मलाई त सासै फेर्न पनि गाह्रो पो भयो । शरीरमा अक्सिनज नपुगेझैँ लाग्न थाल्यो । जे गर्न खोजे पनि गाह्रो मात्रै हुन थाल्यो । कम्प्युटर खोलेर डाक्टरलाई आफ्नो स्वास्थ्य स्थितिबारे अवगत गराउन चाहेँ । त्यति गर्न पनि महाभारतै भयो । म त इन्तु न चिन्तु पो भएँ ।

मलाई अस्पताल जाने मन थिएन । यसका कतिपय कारण छन् । केही दिनअघि ३११ मा फोन गरेर कोरोना भाइरस परीक्षणबारे जानकारी लिएकी थिएँ । कोरोनाका सङ्क्रमणको लक्षण भएका मानिसहरूले आफ्नै घरमा अलग्गै बसेर उपचार गर्नुपर्छ भन्ने सुझाव दिइएको थियो ।

पत्रपत्रिकामा पनि यस्तै कुरा लेखेको पढेकी थिएँ । सरकारी सूचनाहरूमा पनि यही कुरामा जोड दिएको पाइन्छ । त्यसबेला मैले कदाचित आफूलाई सङ्क्रमण भइहालेमा भाइरस फैलिन नदिन सबै किसिमका उपायहरू अपनाउने सङ्कल्प गरेकी थिएँ ।

अझ मलाई त गम्भीर बिरामीहरूको उपचारमा समर्पित हुनुपर्ने डाक्टर र नर्सहरूको बहुमूल्य समय मेरा लागि खर्च नहोस् भन्ने पनि लागेको थियो । मलाई कोरोनाबाहेक अरू कुनै रोग लागेको पनि त हुन सक्छ । यस्तो अवस्थामा अस्पताल जाँदा साँच्चिकै कोरोना सर्न पनि त सक्छ । मेरा मनमा यही डर थियो । मलाई श्वास प्रश्वासमा गम्भीर समस्या हुँदै गएको भए पनि भित्री मनमा चाहिँ यस्ती भर्खरकी, स्वस्थ मान्छेलाई कोरोना नै त के लागिहाल्ला र भन्ने लागेको थियो ।

कोरोनाका लक्षणहरू अझ सघन हुँदै गएपछि भने मैले अस्पताल भर्ना हुनै पर्याे । म ज्यादै आत्तिएकी थिएँ । मेरो उमेरका मान्छेलाई कोरोना सङ्क्रमण भएको देखेर अस्पतालका डाक्टरहरूले पनि अचम्म मान्लान् भन्ने ठानेकी थिएँ । तर उनीहरूले आश्चर्य नमानेको देखेर म आफैँ चकित भएँ । अर्काे कोठामा कोरोनाबाटै सङ्क्रमित ३० वर्षका बिरामी उपचाररत रहेको जानकारी पाएँ । ती बिरामी पनि मेरै जस्तो श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या भोगिरहेका रहेछन् ।

अस्पतालका कर्मचारीहरूले मेरै उमेरका धेरै युवायुवतीहरू कोरोना परीक्षण गर्न आकस्मिक कक्षमा आउने गरेको बताए । मैले कोरोना भाइरसले जुनसुकै उमेरका मानिसलाई आक्रमण गर्ने रहेछ भन्ने कुरा बल्ल बुभेmँ । मेरो श्वासप्रश्वासमा समस्या आएको कुरा सुन्नेबित्तिकै अस्पताल भर्ना हुन सल्लाह दिने डाक्टरलाई मैले मनमनै धन्यवाद दिएँ ।

अस्पतालमा फोन गरेर मेरो स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने श्रीमानप्रति म कति हो कति आभारी भएँ । अस्पतालमा भर्ना भएपछि सबैभन्दा पहिले मलाई अक्सिजन दिइयो । तत्कालै मलाई सास फेर्न सजिलो भयो । त्यहाँका डाक्टर र नर्सहरूले अत्यन्त जिम्मेवारीपूर्वक मेरो उपचार गर्नुभयो । यस्तो सङ्कटका बेलामा अस्पतालमा बेड पाएकामा मैले आफैँलाई भाग्यमानी ठानेँ । हेर्नुहोस् त, यस्ता बेलामा पनि भाग्यले नै जस पाउँदो रहेछ ।

तपाईंको उमेर ४० वर्षभन्दा कम छ भने तपाईंले कोभिड–१९ लाई गम्भीर रूपमा लिनुपर्ने थुप्रै कारणहरू छन् । अमेरिका लगायत संसारभरि नै सबैभन्दा बढी जनसङ्ख्या भएको समूह हुनुका नाताले यो महामारीले सबैभन्दा बढी हामी नै प्रभावित हुने निश्चित छ । एउटा अनुमान अनुसार परिकल्पना के गरिएको छ भने यस उमेरका धेरै मानिसहरूलाई कोरोना सङ्क्रमण भएर पनि त्यसको लक्षण नदेखिन सक्छ ।

त्यसैले हामीले अत्यन्तै सतर्कतापूर्वक अन्य मानिसहरूबाट आफ्नो दूरी कायम राख्नुपर्ने हुन्छ । यसो गर्नाले हामीबाट वृद्धावृद्धा तथा बालबालिकामा भाइसर सर्ने सम्भावना हुँदैन । अनि बिस्तारै यो महामारीको प्रभाव पनि घट्दै जान्छ । तर दुर्भाग्यको कुरा हाम्रो पुस्ताका र अझ हामीभन्दा कम उमेरका मानिसहरूले यो स्वास्थ्य सङ्कटबाट पर्न सक्ने घातक असरलाई त्यति गम्भीरतापूर्वक लिएको देखिँदैन ।

हामी अझै पनि समूहमा हिँड्न छाडेका छैनौँ । एक ठाउँमा भेला हुन छाडेका छैनौँ । देश विदेशको यात्रा गरिरहेका छौँ । अनि यो एक्लिएर (क्वारेन्टाइनमा) बस्नुपर्ने बाध्यात्मक समयलाई रमाइलो गर्न दिइएको अतिरिक्त बिदाका रूपमा उपयोग गरिरहेका छौँ ।