मनकारी किसान: गरिब विपन्नलाई नि:शुल्क बाँडे १६ क्विन्टल तरकारी

लहान/ लकडाउनको कारणले स्थानीय हाटबजारमा तरकारी किन्नसमेत सकस भएपछि सिराहाको लहान नगरपालिका– २४ गोविन्दपुरका एक किसानले शनिबार अपरान्ह लहान बजार क्षेत्रमा करिब १६ क्विन्टल तरकारी बाँडेका छन् । गोवि न्दपुर खपानी टोलका करिब ४५ वर्षीय किसान रामप्रकाश महतोले आफ्नो पाँच कट्ठा बारीमा उब्जाएको ८० हजार रुपैयाँबराबरको भन्टा लहान बजार क्षेत्रमा बाँडेका हुन् । इलाका प्रहरी कार्यालय लहानसँग समन्वय गरी दुईजना प्रहरीसमेतको उपस्थितिमा लहानको गुदीगाउँ, नयाँ बजार, पुरानो बजार, लहान मुख्य चोकमा रहेको गुदरी हाटमा निःशुःल्क रूपमा भन्टा बाँडेको महतोले बताए ।

गाउँले चारजना युवाको सहयोगमा उनले आफ्नै ट्याक्टरमा १६ क्विन्टल भन्टा हालेर शनिबार अपरान्हसम्म बजारका बासिन्दालाई बाँडेका हुन् । ‘सामान्य वेलामा त किनेर पनि खान सकिने सुविधा हुन्छ,’ उनले भने, ‘कोरोना भाइरसको त्रासले मुलुक नै लकडाउन भएको अवस्थामा थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले बाँडेको हुँ ।’आफ्नो १५ कट्ठा बारीमा लगाएको भन्टा खेतीमध्ये १० कट्ठामा कलिलै भएकाले पाँच कट्ठाको भन्टा टिपेर बाँडेको उनले बताए । ‘लकडाउन लम्बिँदै जाने भएमा १० कट्ठामा हुर्किँदै गरेको भन्टा खानलायक भएपछि त्यो पनि बाँड्ने योजनामा छु,’ उनले भने ।

मजदुरी गरेर दैनिकी चलाइरहेका गरिब विपन्नलाई चुलो बाल्नसमेत अप्ठ्यारो परेपछि सिराहाको गोलबजार नगरपालिका– ७ चोहर्वामा राहतस्वरुप चामलसहितका सामग्री बाँडिएको छ । मजदुरी गरेर जीविकोपार्जन गर्ने स्थानीय करिब साढे दुई सय घरधुरी गरिब विपन्न परिवारलाई शनिबार बिहान खाद्यान्नसहित मास्क बाँडिएको गोलबजार–७ का वडाध्यक्ष जगतकुमार श्रेष्ठले बताए ।राहत सामग्री मजदुर परिवारको बढी संख्या रहेको गोलबजार– ७ अन्तर्गत धरमपुर, पुरानो चोहर्वा, जिम्दार टोल, लवटोली, दशैँ महाजन टोलमा बाँडिएको उनले बताए ।नयाँ पत्रीका