इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो, २४ घण्टामै ८८९ जनाको मृत्यु

काठमाडौं, १६ चैत । विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस अर्थात कोभिड-१९ बाट इटालीमा मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ । यो संख्या कोभिड(१९ को उद्गमस्थल चीनमा भन्दा तेब्बर बढी हो । चीनमा कोरोनाको संक्रमणबाट अहिलेसम्म ३ हजार ३ सयले ज्यान गुमाएका छन् ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोनाबाट अहिलेसम्म ९२ हजार ४७२ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १२ हजार ३८४ जना पूर्ण रुपमा निको भएका छन् । अहिले इटालीमा ७० हजार ६५ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये ३ हजार ८६५ जनाको अवस्था गम्भीर रहेको छ ।पछिल्लो २४ घण्टामै इटालीमा ८८९ जनाको मृत्यु भएको छ भने ५ हजार ९७५ जना नयाँ संक्रमित भेटिएका छन् । बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने संकेत देखिएको छैन ।

इटलीको उत्तरी क्षेत्र लोम्बार्डो कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । सबैभन्दा धेरै मृत्यु पनि यहीँ नै भएको छ । इटली किन यति धेरै प्रभावित भयो भनेर अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका करिब २ सय मुलुकमा फैलिसकेको छ ।