सेती अस्पतालको नर्सको मार्मिक स्टाटस- मर्ने कसैको रहर हुदैन, तर नमरेको कुनै प्रहर हुदैन

दीर्घराज उपाध्याय/सेती प्रादेशिक अस्पतालमा कार्यरत सिनियर नर्स भगवती बडालले शनिवार दिउसो आफ्नो फेसबुक वालमा स्टाटस पोष्ट गरिन – मर्ने कसैको रहर हुदैन, तर नमरेको कुनै शहर हुदैन, भागेर जाउ कुन ठाउँ जाउ, मान्छे नमर्ने शहर हुदैन ।

अस्पतालको आईसोलेसनमा राखिएका व्यक्तिमा कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि बडालले पोष्ट गरेको यो स्टाटसले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको मनोदशा र मानसिक अवस्था प्रष्ट्यायो ।उनको यो मार्मिक स्टाटसले धेरैलाई भावुक पनि बनायो ।

एकदिनअघि सम्म ती व्यक्तिको रेखदेख र उपचारमा संलग्न चिकित्सकहरु आतंकित भए ।
सुरक्षाका कुनै उपाय नभएका र सहजै उपचार गरिरहेका ती सबै स्वास्थ्यकर्मीहरु जो जो उनको सम्पर्कमा थिए, उनीहरु निकै आतंकित भए ।

सुरक्षा कवच मानिने पर्सनल प्रोटेक्टिभ ईक्युमेण्ट (पीपीई), मास्क, सेनिटाईजर उपलब्ध नभएपनि बिरामीको उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीहरु आतंकित हुनु स्वाभाविक थियो ।

भित्र स्वास्थ्यकर्मीहरु अव ती व्यक्तिको उपचार कसरी सुरक्षित तवरले गर्ने ? भनेर छलफल गर्दै थिए, यता बाहिर संक्रमितले तातो पानी खान पाएन भनेर समाचार भाईरल भईसकेको थियो । भित्रभित्रै स्वास्थ्यकर्मीहरुको मन र आत्मवल पुरै चिसो भईसकेको भने कसैले बुझेनन ।

कोही बाहिर संक्रमितले तातोपानी खान नपाएको ईस्युमा स्टन्ट गरिररहेका थिए ।  तर  चिकित्सक र स्वास्थ्यकर्मीहरुका पीडा र अवस्था भने कसैले बुझिरहेका थिएनन । र छैनन ।
संक्रमितको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरुले आफ्ना परिवारलाई भेट्न नपाएको कति दिन भयो ? तिनका परिवारजन कस्तो संन्त्रासमा होलान ? यस तर्फ कसैले ध्यान दिएन ।

अस्पताल भित्र चिकित्सक र स्वास्थ्यकर्मीहरुको चिन्ता थियो, संक्रमित व्यक्तिलाई कसरी बचाउने ? कसरी सुरक्षित तरिकाले उनको उपचार गर्ने ?यता बाहिर भने तीनै स्वास्थ्यकर्मीहरुलाई क्रुर व्यक्तिका रुपमा चित्रण गर्ने हल्लाका पछाडि मान्छेहरु कुदिसकेका थिए ।

प्रेस काउन्सिल नेपालको आचार संहिताले भन्छ, संक्रमित नाम बाहिर नल्याउ । उसको पहिचान नखुलाउ । यतिसम्म कि मृत्युपछि पनि उसको नाम नखोल ।आचार संहिता अनुसार संक्रमितलाई फोन गर्न सम्म पनि पाईन्न ।

यहाँ त मनोबल उच्च भएका संक्रमितलाई पटक पटक फोन गरेर आतंकित पार्ने काम भएको छ । बिहानसम्म उच्च मनोबल भएका संक्रमित साँझ हताश देखिन्थे ।

ए अस्पतालमा स्वास्थ्यकर्मीहरुले सेवा दिएन भनेर अर्ति दिनेहरु, सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा रहेका व्यक्तिमा कोरोनाको संक्रमण भएको खवर सार्वजनिक भए लगत्तै हतारमा घरभित्र पसेर कोठा थुन्ने तिमीहरु नै होईन ।

अस्पतालमा रहेका व्यक्ति संक्रमण भएको खवर सुनेर त तिम्रो अवस्था त्यस्तो भयो । संक्रमितको प्रत्यक्ष रेखदेख र उपचार गरिरहेका स्वास्थ्यकर्मीहरुको मानसिक अवस्था कस्तो भयोहोला ? र ति स्वास्थ्यकर्मीका परिवारजनले कस्तो तनाव झेले होलान ? के यसको अनुमान गरेका छौ ?

बन्द कोठाभित्र बसेर सामाजिक सञ्जाल मार्फत अर्ति दिन जति सजिलो छ । त्यो भन्दा कयौँ गुना कठिन अवस्थामा स्वास्थ्यकर्मीहरु छन् । सुरक्षाकर्मीहरु छन् । त्यसको तिमीले अनुमान पनि गर्न सक्दैनौ ।

अमेरिका लगायतका देशहरुमा त संक्रमितलाई बाहिरबाट कुनै व्यक्तिले फोन गर्न पाउदैन । हामी कहाँ त जसले जे गरेपनि छुट छ ।

लाश घरको छेउमा संक्रमितलाई राखिएको भनेर प्रचार गरियो । तर त्यो लाशघरबाट जति नजिक संक्रमितहरुको लागि स्थापना गरिएको आईसोलेसन कक्ष छ । त्यो भन्दा नजिक त स्वास्थ्यकर्मीहरुको क्वार्टर छ ।

हरेक बिहान लाश हेर्नु पर्दा ती स्वास्थ्यकर्मीका बालबालिकालाई कस्तो असर परिरहेको होला ? यो कहिल्यै समाचार बनेनन । हल्ला गरियो, संक्रमितलाई लाश घर नजिक राखियो ।संक्रमितहरुको उपचार गर्नुपर्ने डरले बेलायत, ईटली, स्पेनमा हजारौ चिकित्सक र नर्सले जागीर छोडेको समाचार उनीहरुलाई थाह नभएको होईन, जसले यसलाई भाईरल बनाए ।

फ्रान्समा प्रधानमन्त्रीले सूचना लुकाएको आरोप लगाउदै हजारौ चिकित्सकहरुले प्रधानमन्त्रीकै बिरुद्ध उजुरी दिएको पनि थाह पाएनन, उनीहरुले ।

कुनै हल्लाको पछाडि नलागौ । यो स्टन्ट देखाउने बेला र त्यसैलाई विश्वास गर्ने बेला होईन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकको अवस्था बुझौ ।

बन्दुक पनि नदिने । गोली पनि नदिने । अनि लडाईको मैदानमा पठाउने । अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकहरुलाई सरकारले यस्तै व्यबहार गरेको छ । त्यसका बाबजुद पनि उनीहरुले कर्म गर्न छोडेका छैन ।

अप्ठ्यारोमा स्वर्गका राजा ईन्द्र त सिंहासन छाडेर भागेका कथा पढेका हाम्रा लागि यस्तो कठिन परिस्थितिमा पनि बिचलित नभएर सेवा गर्न नछाडेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको मनोबल बढाउन नसकेपनि उनीहरुको मनोबल गिराउने कार्य कसैले गर्न हुदैन ।
हाम्रा लागि डाक्टर नै  भगवान हुन् ।

यद्दिप डाक्टरको मनोदशा कस्तो छ । सेती प्रादेशिक अस्पतालमा कार्यरत बरिष्ठ फिजिसियन डा. शेर बहादुर कमरले फेसबुक वालमा लेखेको लामो स्टाटस भित्रको एउटा पंक्ति नै बुझ्न काफि छ । डा. कमर लेख्छन्, दवाई त छैन, अव दुवाको भरोसा ।

जव डाक्टर निरुपाय हुन्छ । तव उत्पन्न हुन्छन्, उसभित्र यस्ता भावहरु । आफू मृत्युको मुखमा रहेर पनि संक्रमितको सेवामा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरु प्रति सलाम छ ।  यो महान कर्म सबैले गर्न सक्दैनन । त्यसका लागि भगवान होईन । हाम्रा लागि डाक्टर भगवान ? डाक्टरका लागि भगवान कहाँ छन् ?कोठा भित्र बसेर अर्तिदिन सजिलो छ ।

बिपद बाजा बजाएर आउदैन । यो सबैलाई थाह छ । तर कोरोनाको बिपद् बाजा बजाएर आएको हो।त्यसैले त डा. कमर लेख्छन्, बिपद पञ्चे बाजा बजाएर नै आउदै थियो । हामी बहिरा भयौ ।

हो पनि, तीन महिना अघि चीनको बुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट विश्व आक्रान्त हुदा हाम्रो सरकार बहिरो भयो । अन्धो भयो । यो तीन महिनामा अत्याधुनिक ल्याव, पीपीई, मास्क, सेनिटाईजर, प्रत्येक जिल्लामा अत्यावश्यकीय सुविधाको व्यवस्था गर्न सकिन्थ्यो ।

तर सरकारले न सुन्यो । न देख्यो । हामी कहाँ आउदैन भनेर उ ढुक्कसंग बस्यो । सरकारको यो हदसम्मको लापरबाही र पूर्व तयारीको अभावमा यो भयावह अवस्थामा आईपुगेको हो । तर यो स्थिति आउनुमा नागरिकको लापरबाही र वेवास्ता पनि उत्तिकै जिम्मेवार छ ।

यद्दपि सरकारले पछिल्ला पटक केही कोसिसहरु गरिरहेको छ । लकडाउन हाम्रो सुरक्षाका लागि ।
र चिकित्सकहरुको मनोबल उच्च गराउन सरकारले उनीहरुलाई पीपीई लगायतका अत्यावश्यकीय वस्तु दिएर मात्र पुग्दैन । उनीहरुलाई प्रोत्साहित पनि गर्नुपर्छ ।

त्यत्तिकै प्रोत्साहन सुरक्षाकर्मी, एम्बुलेन्स चालक र कोरोना संक्रमितहरुको राहत र उद्दारमा खटिएका सबै पक्षलाई प्रोत्साहन गर्न जरुरी छ ।

यो दायित्व फेरि सरकारको मात्र होईन । आम नागरिकको पनि हो ।डाक्टर भागेका छैनन, अहिलेसम्म । डाक्टर नभागेसम्म संक्रमितले ढिलो चाँडो तातो पानी खान पाउछन् । औषधी पाउछन् । उपचार पनि हुन्छ ।

एक पटक कल्पना गरौ त, डाक्टर भागे के होला ? एक जना संक्रमित भेटिदाको अवस्था त यस्तो छ ।सेती प्रादेशिक अस्पतालमा कार्यरत प्रसुती तथा स्त्रिरोग विशेषज्ञ डा. प्रतिक्षा सिंह राठौरले फेसबुकमा लेखेको स्टाटसले पनि स्वास्थ्यकर्मीहरु कस्तो अवस्थामा छन् । र कसरी काम गरिरहेका छन् ।

उनीहरुको मनोदशा यो स्टाटासले झल्काउछ, डाक्टरलाई पीपीई चाहिदैन भन्न सक्ने सचिव र मलाई पीपीई भनेको राम्ररी थाह छैन भन्ने स्वास्थ्यमन्त्री भएपछि कोरोना विरुद्धको युद्दमा श्री पशुपतिनाथको आशिर्वाद बाहेक कुनै अस्त्र काम गर्ने देखिन्न । विदेशमा मल्टीपल लेयर प्रोटेक्सन लगाउदा त स्वास्थ्यकर्मी संक्रमित भईरहेका छन् । हाम्रो जुगाडले मात्र गाह्रो छ । तरपनि आफ्नो पेशागत नैतिकता पुरा गर्नै पर्यो भनेर खट्नु पर्ने हामीलाई पशुपतिनाथको आशिर्वाद रहिरहोस ।

सेती अञ्चल अस्पतालका पूर्व अध्यक्ष तथा मेडिकल सुपरीटेण्डट डा. गणेश बहादुर सिंहले केही समयअघि एक फरक प्रसंगमा लेखेका थिए, जिन्दगीको भरोसा छैन, कुन बेला के हुन्छ । यसलाई स्वीकार गर ।

विश्वास र आत्मबलभन्दा बलियो अरु कुनै चिज छैन । सबैले कामना गरौ, हामीले विश्वास गरेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको विश्वास र आत्मबल नटुटोस ।तव मात्र हामी सुरक्षित रहनेछौ । तब मात्र कसैले नचाहेर मर्नुपर्ने छैन ।