सुरक्षा पोसाक नहुँदा एम्बुलेन्स बिरामी बोक्न छोडे

धनकुटा : भरपर्दो सुरक्षा पोसाक नजुट्दा धनकुटामा संचालित एम्बुलेन्स चालकले सामान्य रुघाखोकी लागेका तथा विदेशबाट फर्किएका व्यक्ति बिरामी हुँदा बोक्न छाडेका छन् । कोरोनाको त्रास बढेपछि सम्बन्धित निकाय तथा सरोकारवाला निकायसँग पटक–पटक पहल गर्दा समेत सुरक्षा पोसाक उपलब्ध नभएपछि बिरामी बोक्ने अवस्था नरहेको एम्बुलेन्स चालकहरुको भनाई छ ।

सामान्यअवस्थाका बिरामी बोक्दासमेत चालक बढी जोखिम हुने भएकाले गर्दा सामुहिक रुपमा नबोक्ने निर्णय गरिएको एम्बुलेन्स चालक सन्त लिम्बुले बताए । ‘बजारमा किन्न खोज्दासमेत मास्क र ग्लोप्स पाइँदैन’ उनले भने ‘डर त्रासबीच कसरी बिरामी बोक्नु र ?’ कतैबाट फोन आइहाले सुरुमा बिरामीको अवस्था बुझेर मात्रै जाने गरिएको उनको भनाई छ । जिल्ला प्रशासन कार्यालय धनकुटा र जिल्ला अस्पतालमा आवश्यक सुरक्षाका सामाग्री माग गरेपनि उपलब्ध नगराएको चालकहरुको गुनासो छ ।

एक हप्ता अघि प्रशासन कार्यालयमा प्रतिनिधिमूलक रुपमा डेलिगेशनमा जाँदा कोरोना संक्रमणको आंशकाका बिरामी बोक्न छुट्टै गाडीको व्यवस्थापन गरिएको कुरा प्रजिअले राखेको उनले बताए । सुरक्षा पोसाक उपलब्ध भएर तेल खर्च व्यहोर्दा मात्रै पनि बिरामी बोक्ने उनले बताए ।
अर्का चालक दिने सुवेदीले भने, ‘यस्तो महामारी हाम्रो पनि दायित्व हो । तर आफै असुरक्षित भएर कसरी बिरामी बोक्नु।’ अहिले डेलिभरी, दुर्घटनाका बिरामी मात्रै बोक्ने गरिएको उनको भनाई छ ।

यता जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयाराम श्रेष्ठले स्रोत साधन अभाव भएकै कारण एम्बुलेन्स चालकहरुलाई सुरक्षा पोसाक उपलब्ध गराउन नसकिएको बताए । सुरक्षा पोसाक एम्बुलेन्स चालक आफैँले जुटाउनु पर्ने उनको दाबी छ ।

माथिल्लो निकाय प्रदेशको सामाजिक विकास मन्त्रालय र संद्यीय स्वास्थ्य मन्त्रालयमा सुरक्षा पोसाक सामाग्री माग गरिएपनि अहिलेसम्म नआएको उनले बताए । अहिले कोरोना आशंका भएका बिरामी बोक्न २ वटा एम्बुलेन्स तयारी गर्ने काम सुरु गरिएको उनको बताए ।