३ वैशाखसम्म अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धको समय बढाएर ३ वैशाख ०७७ सम्म पुऱ्याएको छ । अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिबन्ध अप्रिल १५ अर्थात् ३ वैशाखसम्मका लागि थप गरेको हो ।

यसअघि सरकारले ९ देखि १८ चैतसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । त्यसैगरी तोकिएको मापदण्डअनुरूप क्वारेन्टाइन निर्माण गरी व्यवस्थित ढंगले सञ्चालन गर्ने र संक्रमित व्यक्ति आएर सूचना नदिने, क्वारेन्टाइनबाट भाग्ने, लुकेर बस्ने जति सम्पर्कमा आउन अनुरोध गरे पनि नआउनेलाई संक्रमण रोग ऐनबमोजिम कैद सजाय गर्न गृह प्रशासनलाई निर्देशन दिएको छ ।

क्वारेन्टाइनमा बसेकाहरू भाग्ने, विदेशबाट आएर पनि क्वारेन्टाइनमा नबस्ने, सम्पर्कमा आउन सरकारले गरेको अनुरोध अटेरी गरी समूहमा घुमफिर गर्ने क्रम बढेपछि सरकार ढंगले प्रस्तुत हुने भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।