कोरोनाबाट पूर्वमन्त्रीको निधन

पेरिस । फ्रान्सका एक चर्चित राजनीतिज्ञ तथा पूर्वमन्त्री प्याट्रिक डेभेडजिआनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । फ्रान्सका पूर्वराष्ट्रपति ज्याकिज् चिराक र निकोलास सारकोजीको क्याबिनेट मिनिस्टर रहेका प्याट्रिकले बिहीबार आफूलाई कोरोना भाइरसको संक्रमण भएको ट्विटरमार्फत जानकारी गराएका थिए । उनी आफू अस्पतालमा भर्ना भएकोसमेत सोही ट्विटमार्फत बताएका थिए ।

उनले लेखेका थिए, “थकित छु तर ठिकै छ । स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई धन्यवाद । म ठिक हुँदैछु ।” तर, आइतबार ७५ वर्षीय प्याट्रिकको निधन भएको फ्रान्सको हाउत्स-दे-सीन विभागले जनाएको छ । सन् २००८ को आर्थिक संकटका समयमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । – सीएनएन