कोरोना बारे भ्रम : गाउँ-गाउँमा दैलो खनेर कोरोनाको औषधि निकालिँदै

काठमाडौँ, १७ चैत । केही दिनअघि (बिहीबार राति) सुदूरपश्चिमका जिल्लाहरुमा अकस्मात एउटा हल्लाले सनसनी मच्चायो । त्यो हल्ला यस्तो थियो– उज्यालो हुनुअगावै घरको मूल दैलो अगाडि खन्नुहोस्, त्यहाँ कोइला निस्कनेछ । त्यसको तिलक (टीका) निधारमा लगायो भने कोरोना भेद हुन्छ, अर्थात् कोरोना भाइरसको संक्रमण हुँदैन । नभन्दै सुदूरपश्चिमका धनगढीजस्तो शिक्षित जनसंख्या बढी भएको शहरदेखि लिएर सबै पहाडी जिल्लाका गाउँ-गाउँमा धमाधम मूल दैलोअघि आँगन खने भ्रमित मानिसहरूले । रातारात उठेर मानिसहरु आँगन खनेका दृश्य देखिए, कालाे अँगार वा यस्तै केही खाजेर निधारमा पनि लगाए ।

हल्ला यसरी डँढेलोजसरी फैलियो कि रातारात मानिसहरुले फोन गरेर आफन्त र छिमेकी गाउँघरमा तारन्तार भनिरहे । डोटी, बझाङ, बैतडी, दार्चुला, कैलाली, डडेल्धुरा, कञ्चनपुर लगायत सुपका सबै जिल्लामा यो हल्ला एकै रातमा फैलिएको रहेछ । शुक्रबार बिहानभरि पनि मानिसहरु आ–आफ्नो मूल ढोकामा खनिरहेका दृश्य देखिएका थिए । कतिपयले भने हाँस्दै टारेका पनि थिए ।

‘रातिदेखि तीन–चार आफन्तबाट फोन आयो, बिहान नहुँदै दैलो खन्नु कोरोनाको औषधि भेटिन्छ भनेर,’ धनगढी उपमहानगपालिका– ५ बस्दै आएकी दिव्या चन्दले सुनाइन्, ‘सुरुमा पत्याएनौँ । तर तारन्तार फोन आएपछि खनियो । कालो पदार्थ पनि भेटियो । सबैले टीका लगाएर अझैसम्म पनि बाँकी राखेका छौँ । तर कोरोना औषधि त के हुन्थ्यो, त्यही दिन धनगढीकै एक आफन्तमा कोरोना संक्रमण पुष्टि भयो ।’

सुरुमा यो हल्ला बझाङबाट चलेको भनी केहीले बताएका छन् । तर बैतडी, दार्चुलातिर सुनिएअनुसार बैतडीको प्रसिद्ध निङ्लाशैनी भगवती देवी एउटी स्थानीय महिलामा प्रकट भएर यो आदेश दिएको रे । चेतनाशक्ति कमजोर भएका मानिसहरुले दैवी शक्तिको हवाला दिएर फैलाइने यस्ता हल्ला सजिलै विश्वास गर्ने हुँदा छिट्टै भ्रमित हुन्छन् ।

विश्वभर सन्त्रास र आतंक फैलाइरहेको कोरोना भाइरसको त्रासले मानिसहरु यस्ता हल्ला सजिलै पत्याउन थालेका छन् । कतिपयले कालो कोइला वा अँगार वा कालो माटो पनि भेटाएछन् । यो स्वाभाविक पनि थियो किनभने गाउँघरमा दाउरा बाल्ने गर्छन् र ढुंगामाटोका घर हुन्छन् । माटोमुनि अँगार वा कोइला भेटिनु कुनै अनौठो नभएकाे जानकारहरू बताउँछन् । प्रहरी, स्थानीय प्रशासन लगायतले यसरी हल्ला फैलाउने व्यक्तिको पहिचान गरेर कारबाही गर्नुपर्ने सो हुन सकेको देखिएन ।

यस्तै मौकामा धर्मका ठेकेदारहरुले अनेक अफवाह फैलाउने गर्छन् । कोरोनको त्रास फैलिएसँग कोरोनासम्बन्धि भ्रम फैलाउनेको पनि कमि छैनन् यहाँ । केही दिनअघि प्रभू येशुको अनुयायी बनेमा कसैलाई पनि कोरोना नलाग्ने दाबी गर्दै समाजमा अफवाह फैलाउने पोखरास्थित प्रशस्त कटनी मण्डलीका पादरी केशव आचार्यलाई प्रहरीले पक्राउ गरेको थियो । अहिले कोरोनाको औषधि भनेर हल्ला सुरु गर्नेहरुलाई पनि पक्रनुपर्ने सचेत व्यक्तिहरुले माग गर्न थालेका छन् ।

पूर्वसम्म पुग्यो हल्ला

अहिले कोरोनाको ओखती निकाल्ने भन्दै आँगन र दैलो खन्ने लहर सुदूरपश्चिमबाट पूर्वका जिल्लासम्म फैलिएको छ । गोरखामा समेत यसरी आँगन खनिरहेका तस्वीर र तथ्य हामीकहाँ प्राप्त भएका छन् । ‘आँगन खन्दा कोइलाजस्तो चिज भेटिने रहेछ । त्यो लगायो भनेचाहिँ कोरोना भाग्छ रे भन्छन्,’ गोरखाको बारपाककी एक महिलाले भनिन्, ‘सबैले आँगन खनेर त्यसको टीका लागाइरहेका छन् । दलाई लामाले पठाएको सन्देश भन्छन् ।’

गोरखाको बारपाक सुलिकोट गाउँपालिका– ३ ठोट्नेरी र धार्चे गाउँपालिका– २ रुन्चेतका स्थानीयले आँगन खन्दै गरेको भेटिएको छ । उता बर्दियामा पनि आँगन खनिरहेका एउटा भिडियो सामाजिक सञ्जालमा देखिएको छ । त्यसैगरी बाँकेका कोहलपुर, चप्परगौडी, नेपालगन्जका केही क्षेत्रमा समेत यो हल्ला फैलिएर दैलोअघिको जमिन खन्दै कोइला खोजेको खबर आएका छन् ।

पूर्वका भोजपुर लगायत जिल्लामा पनि यो हल्ला फैलिएर मानिसहरु धमाधम आँगन खनेर कोइला खोजिरहेको तथ्य भेटिएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाका केही ठाउँमा पनि ‘कोरोनाको औषधि’ पत्ता लागेको भन्दै गाउँभरि हल्ला फैलाइएको छ । त्यहाँका गाउँ–गाउँमा पनि दैलो र आँगन खन्ने होडबाजी नै चलेको छ । दैलो र आँगन खनेर त्यहाँबाट निस्किएको अँगारको टीका निधारमा लगाएपछि कोरोना भाइरस नलाग्ने भ्रम गाउँभरि फैलिएको छ । स्थानीयहरु अहिले त्यसैको पछि दौडिरहेका छन् ।

सबैले दैलो र आँगन खन्दा भेटिएको कोइलाको टीका लगाइरहेको साल्पासिलिछोँ गाउँपालिका– ४ का स्थानीय विष्णुमाया राईले जानकारी दिइन् । आइतबार उनले भनिन्, ‘हामीलाई पनि आफन्तले फोन गरेर भन्यो– त्यसपछि बिहान सबेरै उठेर दैलो खन्दा कोइला पनि निस्कियो । अनि टीका पनि लगायौँ ।’ गाउँका सबैले खन्दै टीका लगाइरहेको देखेर आफूले पनि सोही अनुसार गरेको उनको भनाइ छ । टीका लगाएपछि ‘हामी ढुक्का भयौँ, कोरोना लाग्दैन’ भनिरहेका छन् मानिसहरु ।

आफन्तहरुलाई चाहिँ कसले भन्यो नि भनेर प्रश्न गर्दा विष्णुमायाले भनिन्, ‘दलाई लामाको सन्देश हो रे, दैलो खनेर त्यसको कोइला दल्यो भने कोरोना लाग्दैन रे ।’ साल्पासिलिछोँ– १ की शान्तिमाया राईले पनि आफूले दैलो खनेर कोइलाको टीका लगाएको बताइन् । उनका अनुसार अहिले गाउँका सबैले उक्त कार्य गरिरहेका छन् । षडानन्द– १ मा पनि कोरोनाको औषधि भन्दै गाउँमा दैलो खनेर कोइलाको टिका लगाइरहेको स्थानीयले बताएका छन् ।

यसबारे साल्पासिलिछो– १ का वडाअध्यक्ष गणेश बुढाथोकीलाई सोध्दा उनले आफूले पनि गाउँमा यस्तो कतैकतै देखेको, सुनेको बताए । ‘यो मैले पनि कतै-कतै देखेको छु, सुनेको छु । तर यो हल्ला कहाँबाट आयो भन्ने पत्तै भएन,’ उनले भने । उनले साल्पासिलिछो गाउँपालिकामा कोरोनासम्बन्धी पूर्ण सर्तकता अपनाएको पनि बताए । हामीले स्थानीय तहमा पूर्ण सर्तकता अपनाएका छौँ, गाउँ–गाउँमा मास्क पनि बाँडेका छौँ ।’

विश्वमा कोरोना भाइरसको औषधि पत्ता लगाउन वैज्ञानिकहरु रातदिन प्रयोगशालामा व्यस्त हुँदा हाम्रो समाज हल्लाको भरमा बहादुरी देखाइरहेको छ । यस्तो समाजमा कोरोना महामारी फैलिएमा भयावह हुने त पक्का छ, त्यो भन्दा बढी खतरनाक देखिँदैछ हल्लाको महामारी । अहिलेसम्म विश्वमा कोरोनाको कुनै पत्ता लगाउन सकेको छैन । चीनले कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लागेको दाबी गरे पनि विश्व स्वास्थ्य संगठनले त्यसलाई मान्यता दिएको छैन ।