सशस्त्र प्रहरीका जवानको मानसिक स्वास्थ्य जाँच गर्नुपर्छ : सरिता गिरि

काठमाडौं- समाजवादी पार्टीकी नेत्री सरिता गिरिले सशस्त्र प्रहरी बलमा कार्यरत सुरक्षाकर्मीको मानसिक स्वास्थ्यको जाँच अनिवार्य गर्न गृहमन्त्री रामबहादुर थापासँग माग गरेकी छन्।

आइतबार सप्तरीको बलान बिहुल गाँउपालिकामा लकडाउनको समयमा निस्किएका युवालाई सशस्त्र प्रहरीका जवानले कुटेपछि उनको यस्तो धारणा आएको हो। नेतृ गिरिले उक्त घटनाको भर्त्सना गर्दै गृहमन्त्रीले माफी माग्नुपर्ने विज्ञप्ति मार्फत माग गरेकी छन्।

‘आइतबार प्रहरीको व्यवहार कुनै पनि दृष्टिकोणले स्वस्थ व्यक्तिले गर्ने सामान्य व्यवहार थिएन।’ उनी भन्छिन्, ‘हिजोको घटनाको जिम्मेवारी स्वीकार गर्दै गृहमन्त्रीले पीडितपक्षसँग माफी माग्नुपर्दछ।’

लकडाउन उल्लंघन गरेको भन्दै सशस्त्र प्रहरीले सप्तरीमा हरेकृष्ण साह र चन्द्र यादवलाई कुटेको भिडियो बाहिरिएको थियो। औषधि खरीद गरी गाउँ फर्किने क्रममा कुटेको नेतृ गिरिको दाबी छ।

मधेशका जनताप्रति व्याप्त जातीय भेदभाव र दमनको प्रवृत्तिलाई आइतबारको घटनाले थप उजागर गरेको उनको आरोप छ। उनले युवामाथि कुटपिट गर्ने जवानलाई कारबाही र पिडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन्।