सीमामा करिब पाँच सय नेपाली अलपत्र, गौशालामा भोकभोकै रात काट्दै..

प्रकाश चन्द्र भट्ट, दार्चुला,।भारतबाट फर्केका करिब पाँच सय नेपाली सीमावर्ती क्षेत्र धारचुलामा अलपत्र परेका छन् । भारतको पिथौरागढ, डिडिहाट, मुन्स्यारी लगायत क्षेत्रमा काम गरी फर्किएका साढे चार सय भन्दा बढी नेपाली तीन दिन देखी अलपत्र परेको भारतीय सुरक्षा बल एसएसबीले बताएका छन् । रोजगारीको शिलशिलामा भारतको विभिन्न स्थान गएका नेपालीहरु नेपाल भारतले गरेको लकडाउन तथा नेपाली सिमानाका बन्द भएका कारण अलपत्र परेका हुन् । धारचुलामा दार्चुला, बैतडी, बझाङ र जाजरकोट जिल्लाका करिब पाँच सय नेपाली रहेका छन् ।

तीन दिन देखी बाँस र गाँस नपाएको उनीहरुको गुनासो छ । आफुहरुको रात गौसालामा बित्ने गरेको बैतडी पुर्चौडी नगरपालिका ३ का पदम सिंह धामीले बताउनु भयो । आइतवार मात्रै उनीहरुलाई भारतीय एसएसबीले खाना खुवाएको थियो । आइतवार उनीहरुले नेपाल आउन् पाउनुपर्ने माग राख्दै सरकार विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

यसअघि शुक्रवार राती दार्चुला सदरमुकाम खलंगास्थित झोलुंगे पुल खुलाएर २ सय २५ जनाको उद्धार गरिएको थियो । नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा नेपाली मजदुरहरु तीन दिनको पैदल यात्रापछि पिथौरागढबाट धारचुला आइपुगेका छन् । भारतका होटलहरुमा बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले बताएका छन् । शनिवार विहानै भारतको धारचुलामा आइपुगेका उनीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन् ।