अलपत्र विद्यार्थी र मजदुरलाई नगरपालिकाले घर पुर्‍याइदिने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदुरलाई घर नजिकको राजमार्गसम्म पुर्‍याउने व्यवस्था मिलाउने भएको छ ।विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले चैत २५ गतेसम्म ‘लकडाउन’ गरेपछि अलपत्र विद्यार्थी तथा मजदुरलाई घर जाने व्यवस्था मिलाउन लागेको हो ।

चन्द्रागिरिका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाभित्र कोठामा बसेर दैनिक ज्यालादारी गर्ने मजदुर तथा विद्यार्थीलाई घर नजिकको गन्तव्यस्थल राजमार्गसम्म पुर्‍याउने निर्णय गरिएको जानकारी दिए ।लकडाउनको समयमा कोठामा बस्न समस्या भएका विद्यार्थी र मजदुरका लागि घर नजिकको राजमार्गसम्म लैजानका लागि गाडीको व्यवस्था नगरपालिकाले मिलाउँछ”, उनले भने ।

चन्द्रागिरिले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको राजमार्गसम्म पुर्‍याउने व्यवस्था गर्न लागेको उनको भनाइ छ ।चन्द्रागिरिले घर जान मन गरेका विद्यार्थी तथा मजदुरलाई वडामा नामथर, हाल बसोबास गरेको ठेगाना, कार्यरत रहेको संस्था वा कार्यालयको नाम, बाहिर जान लागेको गन्तव्यस्थलको ठेगाना र सम्पर्क नम्बर टिपाउन अनुरोधसमेत गरेको छ । रासस