घरबाहिर निस्कन अनिवार्य ‘पास’ लिनुपर्ने व्यवस्था

भक्तपुर, १८ चैत्र । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट नगरवासीलाई जोगाउन भक्तपुर नगरपालिकाले घरबाहिर निस्कन अनुमति लिनुपर्ने निर्णय गरेको छ । भक्तपुर नगरपालिकाले लकडाउन घोषणा गरिएको समयावधिमा अत्यावश्यक कार्यका लागि एक घरबाट एकजना मात्र बाहिर निस्कन सकिने गरी आजबाट वडा कार्यालयहरु मार्फत पास वितरण गर्ने निर्णय गरेको हो ।

हिजो बेलुकादेखि नै पास वितरण सुरु गरिसकेको जनाइएको छ । तरकारी र खाद्यान्न पसलमा पनि हुलका हुल जान थालेपछि कोरोना भाइरस संक्रमणबाट नगरवासीलाई जोगाउन घरबाहिर निस्कन पनि पास लिनुपर्ने निर्णय गर्नुपरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।नगरपालिकाले ‘एक घरधुरी एक पास’को व्यवस्था गरेको छ । पास घरघरमा वडा कार्यलयका कर्मचारीहरुले पुर्याइदिने व्यवस्था गरेको छ ।

पासविना घरवाहिर निस्कने व्यक्तिलाई कारवाही गर्न नगरपालिकाले प्रशासन कार्यालयमा पत्राचार समेत गरेको नगरप्रमुख प्रजापतिले बताउनुभयो
नगरपालिकाले तरकारी बजारसमेत व्यवस्थित गर्न खुल्ला स्थान तथा प्रत्येक वडाहरुमा बिहान तीन घण्टा र बेलुकी २ घण्टा तरकारी बजार खोल्ने निर्णय गरेको छ । यस्तो पास भक्तपुरका करिव २० हजार घरघुरीलाई वितरण गर्न नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।