भयानक संकटमा सुदूरपश्चिममा : जोगिने कि सक्किने ?

दीर्घराज उपाध्याय :जे नहोस भनेर कामना गरेका थियौ । आखिर त्यो भई छाड्यो ।अव हामीसंग कुनै उपाय छैन । अमेरिका र युरोप हायलकायल पारिसकेको संक्रमणसंग जुध्ने हाम्रो क्षमता र सामर्थ्य छैन । प्रार्थना गरौ कि, लक डाउन खुल्नु भन्दा पहिले हामीसंग गुमाउनका लागि केही पनि बाँकी नरहोस ।क्वारेन्टाईनमा नबस्नु र लकडाउन उल्लंघनका गम्भीर परिणामहरु देखिन थालिसकेका छन् । देशभरीमा ८ जना संक्रमित हुदा धनगढीमा चार जना संक्रमित भेटिएका छन् । एक जनाको लापरबाहीका कारण ईटली,स्पेन र फ्रान्सले व्यहोरीरहेको क्षति हामीले देखिरहेका छौ । जवकी उनीहरुको स्वास्थ्य क्षेत्रको क्षमताका अगाडि हामीसंग केही पनि छैन ।

हामीसंग कुनै उपाय छैन । अव भगवानको भरोसा बाहेक कुनै उपाय छैन । किनकी संक्रमणबाट जोगाउन सक्ने न सरकारको क्षमता छ । न त हाम्रा स्वास्थ्य संस्थाको सामर्थ्य।तीन तहका सरकाका बीचमा सहकार्य र समन्वय हुन नसक्नु, प्रदेश सरकारले कोरोनाको संक्रमणको जोखिमलाई गम्भीरतापूर्वक लिएर समयमै तयारीमा नजुट्नुका परिणामहरु हाम्रा आँखा अगाडि छन् ।स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकहरु पीपीई, मास्क, सेनिटाईजर, पञ्जा पाएन भनेर रोईकराई गरिरहेका छन् । बजेट नहुदा प्रहरी र सशस्त्र प्रहरी एक पटक प्रयोग गरेपछि फाल्नु पर्ने ग्लोब्स धोएर पुनः प्रयोग गरिरहेको छ ।प्रदेश सरकार भने ढुकुटीमा अर्बौ रुपैया थन्काएर बसेको छ । अहिलेसम्म नखोलेको त्यो ढुकुटी अव खोलेर पनि काम लाग्ने छैन । तर प्रदेश सरकार ढुकुटीमा पैसा नै नभए जस्तो गरी कोषमा रकम जम्मा गरिदिन सबैलाई आग्रह गरिरहेको छ ।

कोरोना रोकथामका लागि सामूहिक रुपमा नदेखिएका मुख्यमन्त्री र मन्त्रीहरु कुनै एउटा बैंकको चेक बुझ्दै गरेका फोटोहरु सामाजिक सञ्जालमा देखिदैछन् । सरकारको यो बिद्रुप रुप हो ।यो पब्लिसिटी र स्टन्ट गर्ने बेला होईन । काम गर्ने बेला हो । प्रदेशको समस्या र भित्रिसकेको कोरोनाको संक्रमणको भयावह संकटबाट कसरी जुझ्ने सामूहिक रुपमा जुट्ने बेला हो ।प्रदेश सरकारका तर्फबाट केही समयअघि सार्वजनिक भएको आकडा अनुसार २८ अर्वको बजेटमा १७ प्रतिशत मात्र खर्च भएको छ । अर्थात ढुकुटीमा अझै ८३ प्रतिशत बजेट छ । अर्बौ रुपैया ढुकुटीमा छ । तर प्रदेश सरकार निर्लज्ज भएर हजार रुपैयाका चेकहरु बुझ्न हतारिन्छ ।

जनता जोगिएनन भने त्यो बजेटको के काम ? जुन प्रदेश सरकारको ढुकुटीमा छ । लंकामा सुन छ, कान मेरो बुच्चै । प्रदेश सरकारसंग भएको बजेट र निरुपाय भएका जनताको अवस्थाले यही कुरा झल्काउछ ।तीन महिना पहिले नै देखिईसकेको कोरोनाको सुनामी छिमेकी चीनबाट हामीकहाँ भित्रिएला भन्ने अन्दाज पनि गरेन । र त्यसबाट कसरी जुझ्ने भन्ने रणनीति र सुरक्षाका उपायहरु पनि अवलम्बन गरिएन । आज त्यसैको परिणाम भोग्दैछौ ।

भिजन भएको नेतृत्व, त्यसलाई निर्देशन गर्ने अभिभावक र सही दिशामा हिड्न दवाव दिने प्रतिपक्ष नहुनुको पीडा यतिबेला सुदूरपश्चिम भोग्दैछ ।

अव कागजी आकडा देखाउन बन्द गर्नुपर्छ । हाम्रो स्वास्थ्य क्षेत्रको अवस्था, चिकित्सक, स्वास्थ्यकर्मी, जनशक्ति, साधन र औषधीको उपलब्धता, हरेक आवश्यक कुराको व्याकअपको यथार्थ विश्लेषण गरी हरेक कोणबाट तयारीमा जुट्न आवश्यक छ ।

नेतृत्वको कमजोरीको परिणाम जनता भोग्दैछन् । यतिबेला आईसियु र भेन्टिलेटरको संख्या गनेर बसेका छौ, हामीहरु । सेती प्रादेशिक अस्पतालमा एउटा भेन्टिलेटर छ । तर संक्रमित संख्या चार जना ।
अव उनीहरुलाई भेन्टिलेटरमा राख्नु पर्ने अवस्था आए एक जनालाई दार्चुला पठाउनुपर्नेछ । अर्कोलाई डडेल्धुरा । तेस्रोलाई महाकाली अस्पताल । सेती प्रादेशिक अस्पतालमा त एक जनाको मात्र उपचार हुनेछ ।

सुदूरपश्चिमका नौ वटै जिल्लामा १६४ आईसोलेसन बेड छन् । सेती प्रादेशिक अस्पतालमा १० वटा बेड मात्र छन् । अन्य जिल्लामा आईसोलेसन बेडको कुनै अर्थ छैन । किनकी त्यहाँ बेड मात्र छन् । अरु केही छैन । उपचारका लागि क्रिटिकल कन्सलट्याण्ट फिजिसियन चाहिन्छ । अन्यत्र सबैतिर छैनन । सबै जिल्लाका संक्रमितलाई धनगढीमा नै ल्याउने  निश्चित छ ।

अव के गर्ने त ? हात खडा गर्ने । वा समस्यासंग जुझ्ने । पक्कै पनि जुझ्ने । समस्याबाट न भाग्ने छुट छ । न त भाग्न सक्ने अवस्था नै छ ।

प्रदेश सरकारले निम्न कुराहरुमा ध्यान दिई तत्काल महत्वपूर्ण निर्णयहरु लिनुपर्छ ।

पहिलो, धनगढीका सम्पूर्ण निजी अस्पतालाई आफ्नो मातहतमा लिनुपर्छ । निजी अस्पतालका सञ्चालकहरुले आवश्यकता परे सरकारलाई हस्तान्तरण गर्न तयार रहेको सार्वजनिक रुपमा प्रतिबद्धता गरिसकेको अवस्थामा भोलि नै सम्पूर्ण निजी अस्पतालहरुलाई संक्रमण नरोकिएसम्म सरकारीकरण गर्नुपर्छ ।

दोस्रो, सरकारी घोषणा अनुसार सेती प्रादेशिक अस्पताललाई पूर्णतः कोरोना अस्पताल बनाईनुपर्छ । जहाँ कोरोना संक्रमितको मात्र उपचार गरिनुपर्छ ।

तेस्रो,सेती प्रादेशिक अस्पतालमा सम्पूर्ण बिरामीहरुलाई तत्काल निजी अस्पताललाई सरकारीकरण गरी त्यहाँ सिफ्ट गरिनुपर्छ । उनीहरुको उपचार त्यहाँ  गरिनुपर्छ ।यसमा अलिकति पनि ढिलाई गर्न हुदैन ।

चौथौ,सुदूरपश्चिममा जति चिकित्सक र स्वास्थ्यकर्मीहरु छन् । त्यो भन्दा बढि निजी अस्पतालमा कार्यरत छन् । यस्तो बिपतको घडीमा उनीहरुलाई प्रदेश सरकारले आग्रह गर्नुपर्छ । र कोरोना संक्रमितहरुको उपचारमा जुट्न उत्प्रेरित गर्नुपर्छ ।

पाँचौ,धनगढीको गेटामा रहेको आँखा अस्पताल कोरोनाका बिरामीहरुको उपचारका लागि सबैभन्दा उत्तम बिकल्प हो । सुबिधा र क्षमताका हिसावले तयारी अवस्थामा रहेको त्यस्तो अर्को संरचना सुदूरपश्चिममा छैन । गेटा मेडिकल कलेजको निर्माणाधीन भवनहरु प्रयोगमा ल्याउन कठिनाई हुने देखिन्छ । आँखा अस्पताल त तयारी हालतमा छ । सबै दृष्टिकोणले कोरोना संक्रमितहरुको उपचारका लागि गेटा आँखा अस्पताल उत्तम बिकल्प हो ।

छैठौ, नेपाल सरकारले आज भनिसक्यो, नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेको छ । अव बाहिरबाट आउने व्यक्तिहरुबाट संक्रमण फैलिने डर मात्र छैन । स्थानीय व्यक्तिमै पनि यसको संक्रमण देखिईसकेकोले यो तिब्र गतिमा फैलिने निश्चित छ ।

त्यस कारण भारत तथा विदेशबाट वस्ती वस्ती र टोलटोलमा पुगेका सम्पूर्ण व्यक्तिहरुको थ्रोट स्वाव लिनुपर्छ । थ्रोट स्वावको नमूना लिन नेपाली सेनालाई परिचालन गर्नुपर्छ । विदेशबाट आएका र उनीहरुसंग सम्पर्कमा रहेका हरेक व्यक्तिको पहिचान गरी उनीहरुलाई क्वारेन्टाईनमा राख्न अव एक दिनपनि ढिलाई गर्न हुदैन । उनीहरुजति दिन बस्तीभित्र रहने छन् । त्यो त्यत्तिनै भयानक संकट निम्त्याउनेछ ।

सातौ,अव धेरै ढिलाई भइसक्यो । हामी चुकी सक्यौ । लक डाउनले पनि काम नगरेको अवस्थामा कर्फ्यु बाहेक अर्को बिकल्प छैन । मान्छेको आवागमनलाई पूर्णत ठप्प गर्न आवश्यक छ । कसैलाई बाहिर निस्किन दिन हुदैन । भोकमरीबाट मान्छे नमरोस भनेर यदि सबै चिज खुकुलो बनाउने हो भने संक्रमणबाट कोही पनि जोगिने छैनन । स्थानीय प्रशासनले तत्काल कर्फ्यु लगाउनुपर्छ ।
अव केही समय अस्पताल र औषधी पसल बाहेक सम्पूर्ण चिजहरु बन्द गर्न जरुरी छ ।

आठौं, हामीसंग भेन्टिलेटर छैनन । औषधीको अभाव छ । सकेजति भेन्टिलेटर जतिसक्दो चाँडो बाहिरबाट भित्र्याउन जरुरी छ । जुनसुकै बिधि र उपाय अपनाएर पनि भेन्टिलेटर स्थापना गर्नुपर्छ ।

नवौ, धनगढीमा कम्तिमा दुई वटा हेलिकोप्टर तैनाथ राख्नुपर्छ । आवश्यक परेका बेला यहाँका  संक्रमितलाई काठमाण्डौं लैजाने पूर्ण तयारी गरिनुपर्छ ।

र हरेक नागरिकको पनि उत्तिकै दायित्व छ । सबैले लकडाउनलाई पूर्ण रुपले पालना गर्नुपर्छ । बाहिरबाट आएका व्यक्तिलाई तत्काल क्वारेन्टाईनमा पठाउनुपर्छ । हरेक वस्ती, टोल र ती वस्तीका हरेक घरलाई लक डाउन गर्नुपर्छ ।

अव हात धोएर जोगिने बेला रहेन । त्यसैले जो, जहाँ, जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बस्नुपर्छ ।
अव जोगाउन सक्ने अवस्था सरकारको क्षमतामा निर्भर छैन । जोगिने हो हरेक नागरिकले सचेत हुनैपर्छ । सक्किने हो भने त केही भन्नु छैन ।

फेरि पनि आशा गरौ, हामी यो महासंकटबाट जोगिने छौ, सबैले यही प्रार्थना गरौ ।पश्चिम टुडेबाट