नेपालमा नेपालीबाटै कोरोना सर्नु गम्भीर संकेत !

काठमाडौं । कैलालीकी एक महिलालाई कोरोना संक्रमण भयो । उनी विदेश गएकी थिइनन् । उनलाई देशभित्रै, गाउँघरमै कोरोना सर्यो । यसले के संकेत गर्छ ? प्रश्न उठेको छ । अहिलेसम्म नौ जनालाई कोरोना संक्रमण भएको छ ।नौमध्ये आठजना विदेशबाट फर्किएका थिए । उनीहरुलाई विदेशमै भाइरस सरेको थियो तर स्वदेश फर्किएपछि मात्र संक्रमण देखा पर्‍यो । तर, आज कैलालीमा जो महिलालाई संक्रमण देखियो, उनी विदेश गएकै थिइनन् । उनलाई विदेशबाट फर्किएका आफन्तबाट कोरोना सरेको प्रष्ट भएको छ ।देशभित्रै कोरोना सरेको यो पहिलो घटना हो । यस अघि भेटिएका आठ जना संक्रमितबाट कसैलाई कोरोना सरेको अहिलेसम्म पाइएको छैन ।

देशभित्रै कोरोना सर्नुले विभिन्न कोणबाट सचेत हुन सबैलाई बाध्य पारेको छ ।कैलाली गर्मी जिल्ला हो । आज दिउँसो दुई बजे कैलालीको तापक्रम ३२ डिग्री सेल्सियस हो । यो भनेको निक्कै गर्मी हो । गर्मीमा कोरोना सर्दैन, लाग्दैन भन्ने अफवाह व्यापक छ । यो अफवाहको भर नपरेर जोगिने बेला आएको छ ।देशभित्रै कोरोना सर्नु निकै गम्भीर विषय हो । विदेशबाट आएका संक्रमितबाट अरुमा संक्रमण सर्नुले स्थिति चिन्ताजनक बनेको छ ।तर, ती महिलामा कोबाट कोरोना सर्‍यो भन्ने पहिचान भएको छ । अर्थात्, संक्रमणको स्रोत थाहा छ । भारतले संक्रमणको स्रोत थाहा पाइन्जेल स्थितिलाई गम्भीर रुपमा लिएन । अहिले भारतमा तीन हजारभन्दा धेरै संक्रमित छन् ।

कोबाट कसमा सर्‍यो भन्ने थाहा हुन नसक्ने अवस्थालाई अहिले विश्वव्यापी रुपमा दोस्रो चरणको महामारी मान्ने गरिएको छ । तर, नेपालमा पाइएकी नवौं संक्रमितका आधारमा नेपाल दोस्रो चरणमा प्रवेश गर्‍यो भनिहाल्न मिल्दैन ।कोरोना महामारीमा एउटा चरण यस्तो आउनसक्छ जतिबेला कसलाई कोबाट संक्रमण सर्‍यो भन्ने पत्तो नै पाइँदैन ।भारत हालै त्यस्तो चरणमा प्रवेश गरेको छ र त्यहाँ अवस्था चिन्ताजनक छ ।नेपालमा ‘कम्युनिटी लेभल’ मा कोरोना पुगेको त हो तर यसले महामारीको रुप लिइसकेको भने छैन । महामारीको रुप लिनु अघि नै अर्थात् कोबाट कसमा सरेको हो भन्ने थाहा पाउन नसकिने संख्यामा कोरोना फैलनु अघि नै सजगता अपनाउनुपर्ने भएको छ ।नवौं कोरोना पीडित महिलालाई हेरेर भन्न सकिन्छ– लकडाउनको पालना अब सबैका लागि जीवनमरणको सवाल बनेको छ ।