राष्ट्रिय एकता नै विजयको पूर्वशर्त हो:प्रम ओली

आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारीविरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरूलाई सम्बोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरि ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिरामीसहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान गुमाउने नेपाली दाजुभाइ, दिदीबहिनीलगायत सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । सङ्क्रमितहरू निको भएर घर फर्किन सक्नुहोस् भन्ने कामना गर्दछु । हाम्रो पुस्ताले भोगेको सर्वाधिक गम्भीर चुनौतीमध्येको यस महामारीविरुद्ध कठिन लडाइँमा रहेका सबै राष्ट्र र जनसमुदायप्रति नेपाली जनताको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्दछु ।
नेपाल पनि कोरोनाविरुद्धको लडाइँमा होमिएको छ । देशमा सङ्क्रमणको पहिलो ‘केस’ पहिचान भएदेखि यता तपार्इं हाम्रो साझा प्रयत्नले सङ्क्रमितको सङ्ख्या नौ जनामा मात्र सीमित गर्न सकिए तापनि हामी अझै पनि उच्च जोखिममा छौंँ ।
दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाईंहरूमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु । दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्न‘पर्ने श्रमिकहरू सर्वाधिक मर्कामा हुुनुहुन्छ । धेरै व्यवसायीले आफ्नो व्यवसाय बन्द गर्न‘परेको छ । विद्यार्थीहरूको पढाइ छुटेको छ । जेलमा यन्त्रणापूर्ण वर्षहरू र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तवासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु । तर नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेको यस महामारीविरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने तपाईं–हामी सबैलाई थाहा छ । लकडाउनकै कारण महामारीलाई फैलिन नदिने हाम्रो प्रयासमा ठूलो सहयोग पुगेको छ तर समस्या अझै यथावत् छ र थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा पनि छँदैछ । त्यसैले आजबाट थप आठ दिनका लागि लकडाउनको अवधि बढाउन हामी बाध्य भएका छौँ । सबै कठिनाइ झेलेर यस अभियानमा पूर्ण साथ दिनुहुने तपाईंहरू सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अवधिका लागि पनि यस्तै धैर्य र सहयोगका लागि अनुरोध गर्दछु ।
सीमित पूर्वाधार, स्वास्थ्यसामग्री तथा उपकरणका कमीको बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा अग्रिम मोर्चामा संलग्न सबै राष्ट्रसेवकले देखाउनुभएको कर्तव्यपरायणता अत्यन्तै सराहनीय छ । हाम्रै स्वास्थ्य रक्षाका लागि सुरक्षाकर्मीहरू दिउँसोको चर्को घाम होस् या रातको अँध्यारो, निरन्तर सेवामा खटिरहनुभएको छ । मित्र राष्ट्रहरूबाट प्राप्त सद्भाव एवं कतिपय अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरूले नेपालले चालेका कदम कतिपय विकसित मुलकको तुलनामा समेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले तपार्इं हामीलाई यस महामारीविरुद्ध लड्न थप हौसला मिलेको छ । यस्ता सङ्क्रटका बेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरूको भूमिका कति प्रभावकारी हुँदोरहेछ भन्ने स्पष्ट देखिएको छ । म आ–आफ्नो तहमा सङ्क्रमण फैलिन नदिन र विपन्न परिवारहरूलाई राहत पु¥याउन अहोरात्र खटिरहनुभएका जनप्रतिनिधिप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । यस क्रममा स्थानीय समुदाय र सामाजिक सङ्घसंस्थाको क्रियाशीलता पनि उल्लेखनीय छ ।

बाहिरबाट आएका सङ्क्रमितबाट स्थानीयमा सरेको सङ्क्रमण (लोकल लेभल स्प्रेड) एकजनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौँ । यसले थप सजगता र सावधानीको माग गरेको छ । महामारीविरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीनसूत्रीय विधि अपनाएको छ । कोभिड–१९ अथवा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समग्र कामको अगुवाइ गरिरहेको छ । यसका अतिरिक्त आम जनसमुदाय, राजनीतिकर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीको संयुक्त ‘कमाण्ड’को रूपमा ‘कोरोना सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)’ स्थापना गरिएको छ । यसले युद्धस्तरमा कामको समन्वय, निर्देशन र सम्पादन गर्छ । पहिचान गर्ने, परीक्षण गर्ने र उपचार गर्ने सबै कामलाई समन्वयात्मक ढङ्गले सम्पादन गर्न यसका चार संरचना (अप्स) खडा गरिएको छ । बिरामी ओसारपसार (पीआरटी) को उपयुक्त व्यवस्था गरिएको छ ।

सीसीएमसी हामी सबैको साझेदारीमा सञ्चालन हुने संरचना हो । .मुख्यमन्त्रीको संयोजनमा प्रदेशतहमा र स्थानीयतहको वडास्तरसम्मै यस संरचनाको सञ्जाल निर्माण गरिएको छ । स्थानीयतहका वडास्तरसम्म वडाध्यक्षको संयोजनमा हुने संयन्त्रले आफ्नो वडामा सरकारद्वारा घोषित राहत वितरण गर्नेछ । बिरामी छन्÷छैनन्, औषधि–उपचार पाए÷पाएनन्, बेरोजगार विपन्नहरूले खान पाए÷पाएनन् ? त्यसको अनुगमन तथा व्यवस्थापनसमेत गर्नेछ ।मुलुकभर हाल ३० हजार ५६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको छ । यतिबेला नौ हजार १६८ जना क्वारेण्टाइनमा हुनुहुन्छ । तीन हजार २५९ जना राख्नसक्ने क्षमताको आइसोलेसन बेड तयार गरिएको छ, हाल त्यहाँ ९५ जना उपचाररत हुनुहुन्छ । सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेमा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको छ । यस अवधिमा सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट परीक्षण सुरु गरिएको छ । हिजो (चैत २४) सम्म एक हजार ८९० जनाको परीक्षण गरिसकिएको छ । सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लामा द्रुत परीक्षण
(¥यापिड डिटेक्सन टेस्ट–आरडीटी) विधिमार्फत हजारौँको नमुना परीक्षणको तयारी अगाडि बढाइएको छ । सातै प्रदेशमा उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट (पीपीई) पूरा सेट– एक हजार ४८ थान, गाउन–
११ हजार ८१९ थान, एन ९५ मास्क– चार हजार ३४५ थान, मास्क– पाँच लाख ६५ हजार २६१ थानसहित आवश्यक विभिन्न स्वास्थ्यसामग्रीको व्यवस्था गरिएको छ । भेण्टिलेटरसहित अपुग स्वास्थ्यसामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदैछ ।

दिदीबहिनी तथा दाजुभाइहरू !
यसबीच हजारौँको सङ्ख्यामा नेपालीहरू घर फर्किनुभएको छ । उहाँहरूमध्ये कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धलाई ध्यान नदिएकाले चिन्ता थपिएको छ । उहाँहरूलाई पुनः आग्रह छ– स्वघोषणा गरेर जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सम्पर्कमा जानुहोस् । तपाईंहरूको लापरबाही स्वयं तपाईंको परिवार र सिङ्गो समुदायका लागि निकै महँगो पर्नसक्छ ।
नेपालमा लकडाउन सुरु भएपछि नेपाल–भारत सीमानजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीले भोग्नुपरेको अप्ठ्यारो र उहाँहरूको भावनालाई हामीले बुझेका छौँ । तर सङ्क्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता छ । भारत सरकारसँग समन्वय गरी सीमाको पारिपट्टि रहनुभएका दुईहजार १४७ नेपालीलाई उतै क्वारेण्टाइनमा राखिएको छ । सीमाको वारिपट्टि रहेका करिब सात सय भारतीय नागरिकलाई हामीले क्वारेण्टाइनमा राखेका छौँ । लकडाउनलाई प्रभावकारी बनाउन र सम्भावित सङ्क्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उचित उपाय अपनाएको हो भन्ने सबै देशवासीले महसुस गर्न‘ नै भएको छ । निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरूलाई देशभित्र भित्र्याइनेछ ।
विश्वव्यापी रूपमा सङ्क्रमण फैलिँदै जाँदा विदेशमा रहनुभएका कतिपय नेपालीमा पनि सङ्क्रमण देखापरेको छ । केहीको दुःखद निधनसमेत भएको छ । लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरू आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ । सङ्कटको यस घडीमा हाम्रो सहानुभूति, साथ र सद्भाव उहाँहरूप्रति छ । हाम्रा दूतावास र मिशनहरू प्रवासी र गैर आवासीय नेपालीका समस्या समाधानमा क्रियाशील छन् । गैरआवासीय नेपाली सङ्घलगायत सामुदायिक संस्थाहरूले पनि सक्दो सहयोग गरिरहेका छन् । विदेशमा रहेका नेपालीको स्थितिका बारेमा राष्ट्रपतिज्यू स्वयंले नेपाली दूतावासहरूमार्फत जानकारी लिइरहनुभएको छ । नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीसँग मैले टेलिफोन संवाद सुरु गरेको छु । परराष्ट्र मन्त्रालयले निरन्तर आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ । मेरो .आग्रह छ– सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ सङ्कटका काला बादल अवश्य हटेर जानेछन् ।

विश्वव्यापी महामारीविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य र समन्वयको खाँचो छ । विश्वव्यापी सङ्कटको घडीमा आफ्नो सरहदभित्र रहेका स्वदेशी र विदेशी नागरिक सबैलाई सुरक्षा र संरक्षण गर्ने दायित्व सबै सरकारको हो । नेपालले सीमित साधनस्रोतका बाबजुद नेपालमा रहेका विदेशी नागरिकको सक्दो हेरचाह गरिरहेको छ । हाम्रो विश्वास छ– असहज घडीमा विदेशमा रहेका नेपाली समुदायले पनि सम्बन्धित सरकारहरूबाट माया र संरक्षण पाउनेछन् ।
आउने दुई साता सायद हाम्रा लागि थप चुनौतीपूर्ण हुनसक्छ । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले महामारीको सङ्क्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिनेछ । यसै हप्ताबाट प्रयोगमा ल्याइएको ¥यापिड डिटेक्सन टेस्ट किटले समुदायमा सङ्क्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास गरेका छौँ । यस परीक्षणमार्फत सम्भावित सङ्क्रमितको स्क्रिनिङ् गर्ने र दोहोरो परीक्षणबाट सङ्क्रमित भए÷नभएको सुनिश्चित गरिनेछ । समुदाय स्तरको परीक्षणका लागि उच्चस्तरीय निर्देशक समिति र सीसीएमसीले सम्भावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको छ । थप सुनिश्चितताका लागि क्वारेण्टाइनमा तोकिएको अवधि पूरा गरेकाहरूको समेत परीक्षण गरिनेछ । यसका लागि यहाँहरूको पूर्ण सहयोगको अपेक्षा गरेका छौँ ।
महामारीका बेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै पर्न‘ नपरोस् भनेर सरकारले स्थानीय तहहरूको संयोजनमा राहत वितरण गरिरहेको छ । अर्थतन्त्रलाई गतिशील राख्न आवश्यक सुरक्षाविधि सुनिश्चित गरी कतिपय मेगा प्रोजेक्टहरूको निर्माण जारी राखिएको छ । सरकारले कृषिकार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरेको छ र अवलम्बन गरिरहेको छ । म विश्वास दिलाउन चाहन्छु– सङ्कटको बेलामा पनि र सङ्कटपछि पनि सरकार तपाईंहरूसँगै रहेर नेपालको आर्थिक विकासलाई गति दिन क्रियाशील हुनेछ ।

दिदीबहिनी तथा दाजुभाइहरू !
महामारीविरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाइँ हो भन्ने हामीलाई थाहा छ । आजसम्मको तपार्इंहरूको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको छ । अबको लडाइँको जीत, तपाईंहरूको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ । तपाईंहरूको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ । यसैलाई ध्यानमा राखी उपाचारमा संलग्न स्वास्थ्यकर्मीलाई ड्युटीमा रहेका सुरक्षाकर्मीसरह नै संरक्षण गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ । राहत तथा सुविधाको हकमा उपचारको पहिलो घेरामा रहनेहरूलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई ७५ र ५० प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ । आवश्यक सुरक्षा उपकरणको व्यवस्थासहित २५ लाख बराबरको बीमाको व्यवस्था पनि सरकारले तपाईंहरूको समग्र सुरक्षाका लागि गरेको छ ।
चिकित्सक टिमसँगै अग्रभागमा रही काम गरिरहेका सबै सुरक्षा निकायका सम्बन्धित व्यक्तिहरू, राष्ट्रसेवक कर्मचारीहरू, ड्राइभर, हेल्पर, सफाइ कर्मचारीलगायत कोरोना भाइरसविरुद्धको उपचारमा संलग्न सबै श्रमिकको भूमिका चिकित्सकीय टिमका सदस्यसरह नै महत्वपूर्ण हुने हुँदा सोहीसरह भत्ता÷बीमासहित सरकारले तपाईंहरूको समग्र सुरक्षाको बन्दोवस्त गर्छ । यस अभियानमा परिचालन हुने समुदायमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेवीहरूलाई रु. एक हजार पाँच सय भत्ताको थप व्यवस्था गरिएको छ । गत चैत ७ गतेको सम्बोधनमा मैले यस महामारीसँग जुध्नका लागि हाम्रो आफ्नै व्यवहार र दैनिकीमा परिवर्तन गर्न आग्रह गरेको थिएँ । यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता ?’ जस्ता प्रश्नमा अलमलिनु हुँदै हुन्न भन्नेमा जोड दिन चाहन्छु । जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु । यो हामी सबैको साझा लडाइँ हो र समाजको हरेक सदस्य यस लडाइँमा आफैँ एउटा सिपाही हो भन्ने कुरा हामीले मनन गर्न सक्नुपर्दछ । यसो गरेर हामी कोरोना भाइरसलाई परास्त गर्न सक्दछौँ ।
दाजुभाइ दिदीबहिनीहरू !
यसखालको महामारीसँग जुझ्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको छ । मानव स्वास्थ्यमा उच्च लगानी गर्ने नयाँ विश्व प्रणालीको आवश्यकता टड्कारो बनेको छ  । विकसित, सम्पन्न र सुदृढ स्वास्थ्यप्रणाली भएका देशहरूलाई समेत आच्छुआच्छु पारिरहेको यस महामारीविरुद्ध जुझ्न हाम्रो जस्तो सीमित साधनस्रोत भएको मुलुकलाई हम्मेहम्मे पर्न‘ स्वाभाविकै हो । यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणको आपूर्तिमा परेको छ । मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्यसामग्री खोसाखोस भएको र विभिन्न मुलुकबीच आरोप–प्रत्यारोपसमेत चलिरहेको छ ।
नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरू हुन सक्दैन । सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरू यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो । अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाही विधिसम्मत हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनैपर्छ । सरकारका काम कुनै पनि संवैधानिक अङ्गको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरूलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ । समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानव जातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी सङ्कटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुनसक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कुप्रचारले कमजोर पार्न सक्नेछैन । कहीँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारबाही गर्न वर्तमान सरकार किञ्चित पछि पर्नेछैन ।
सरकार र जनताबीचको, राजनीतिक दलहरूबीचको, राज्य र समाजका सबै अङ्गबीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वशर्त हो । संसद्को साझा सङ्कल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दलसहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरूको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने’ भनाइलाई यस सन्दर्भमा मैले राष्ट्रिय शक्तिको रूपमा लिएको छु । आगामी दिनमा पनि यस्तो समझदारी र एकता निरन्तर रहने कुरामा म विश्वस्त छु । सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियाँै भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्नेछ । व्यक्तिको स्मृति छोटो र कमजोर हुनसक्छ, तर इतिहास भने यस मामिलामा निर्मम हुन्छ । मेरो आग्रह छ– मानव जातिलाई नै चुनौती दिइरहेको यस सङ्कटसँग जुझिरहेको बेला हाम्रो ध्यान यसै लडाइँमा एकाग्र गरौँ । अरू छलफल र काम त स्थिति सामान्य बनेपछि गर्न सकिन्छ नै !
स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र सरकारले गरेका निर्णयहरू जनसमक्ष पु¥याउन सञ्चारमाध्यमले खेलेको भूमिका सराहनीय छ । मेरो आग्रह छ, सङ्कटका बेलामा आशावादको, सङ्कटमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने सामूहिक आत्मविश्वासको र बलियो सामाजिक–राष्ट्रिय एकताको निर्माणका लागि सञ्चारमाध्यमहरूले अझ जिम्मेवार भूमिका खेल्नुहोस् । म एकपटक फेरि दोहाृे¥याउन चाहन्छु– विभिन्न मुलुकको अनुभवले भनिरहेको छ, यस महामारीविरुद्धको युद्धमा सामाजिक दूरी सबैभन्दा उपयुक्त हतियार हो । सामाजिक दूरीका लागि लकडाउन विकल्पहीन माध्यम हो । तसर्थ यस अवधिको लकडाउनलाई जतिसुकै कष्टकर भए पनि हरतरहले सफल पार्न हामी एक होऔँ ।
मानवजातिले इतिहासमा यस्ता धेरै महामारीमाथि विजय हासिल गर्दै आएको छ । नेपालले त समकालीन इतिहासमै धेरै अप्ठ्यारा चुनौतीको सामना गरेको छ, विजय हासिल गरेको छ । पाँच वर्ष अघिको विनाशकारी भूकम्प र पाँच वर्षमा भएको पुनर्निर्माणले नेपाली जनताको धैर्य र साहसको नमुना प्रस्तुत गरेका छन् ।
पटक–पटक लड्नु, धुलो टक्टक्याउँदै उठ्नु र फेरि अगाडि बढ्नु मानवजातिको स्वभाव हो, उसको अदम्य विशेषता हो । यही विशेषताकै बलमा हामी यस सङ्कटमाथि विजय हासिल गर्नेछौँ । यस महामारीविरुद्ध हामीले समयमै चालेको कदमका कारण सयौँको जीवन जोगिएको छ । आउने केही हप्ता हामीले अलिकति साह्रो÷गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिन्छ । आउनु होस् फेरि एकपल्ट पाँच वर्ष अगाडिको विनाशकारी भूकम्पको समयमा जस्तै धैर्य र साहस प्रदर्शित गरौँ ।
तपाईंहरूलाई सुविधा उपलब्ध गराउन, आपूर्ति व्यवस्थालाई सहज बनाउन, आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र कोरोना भाइरस फैलिन नदिन सरकार एकजुट भएर अघि बढ्न प्रतिबद्ध छ । म यहाँहरू सबैलाई एकताबद्ध हुन हार्दिक आग्रह गर्दछु ।
धन्यवाद ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा हिजो चैत २५ गते राष्ट्रका नाममा गर्नु भएको सम्बोधन ।