प्रहरीको अमानवीय व्यवहार औषधि लिएर फर्किएका सर्वसाधारणमाथि प्रहरीको लाठी (फोटो फिचर)

काठमाडौं । कलंकीमा औषधि बोकेकी महिलामाथि प्रहरीले निर्घात कुटपिट गरेको छ । नगर प्रहरी कार्यालय, भृकुटीमण्डपबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले सर्वसाधारणमाथि कुटपिट गरेको हो ।हेल्थ पाटी नामक युट्युब च्यानलमा अपलोड भएको भिडियोमा प्रहरी र तीन जना सर्वसाधारणबीच वादविवाद भएको देखिन्छ । तीमध्ये दुई जना महिलाले हातमा औषधिको पोको बोकेका छन् ।प्रहरीले उनीहरुसँगै रहेका पुरुषलाई ‘म्यान क्याचिङ डिभाइस’मार्फत पक्राउ गर्न खोजेपछि महिलाले प्रतिवाद गर्न खोजेको देखिन्छ । पुरुषले पनि केही बोलेको जस्तो देखिन्छ । तर, आवाज प्रस्ट बुझिँदैन ।

त्यसक्रममा प्रहरीले लाठी चार्ज गरेको भिडियोमा देखिएको छ ।नगर प्रहरीका प्रमुख डीएसपी पवन भट्टराईले घटनाबारे आफूले पनि जानकारी पाएको बताउँदै लाठी चार्ज गर्नुपर्ने अवस्था कसरी आयो भन्ने विषयमा जानकारी लिने काम भइरहेको अनलाइनखबरलाई बताए ।काठमाडौं प्रहरीका एक अधिकृतले भने औषधि लिने महिलासँगै गएका अन्य दुई जना नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग उल्टै विवाद गरेपछि अफ्ठ्यारो परिस्थिति सिर्जना भएको दाबी गरेका छन् । यद्यपि, औषधि लिएका सर्वसाधारणमाथि लाठी बर्साएको भन्दै सामाजिक सञ्जालमा तीब्र आक्रोश व्यक्त भइरहेको छ ।बुधबार राति पनि महाराजगञ्जमा लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जना चिकित्सकलाई कुटपिट गरेको आरोप लागेको थियो । घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्याल्य, रानीपोखरीले एसएसपी किरण बज्रचार्यको नेतृत्वमा छानविन समिति बनाएको छ ।