कोरोनापछि पो थाहा भयो, हाम्रो अनुसन्धान, मेडिकल शिक्षा, विश्वविद्यालय शुन्य रहेछः संग्रौला

जब राष्ट्र कम्जोर हुन्छ, त्यस्ले अनेकौं समस्याहरु भोग्न बाध्य हुन्छ, तर एउटा समस्या भने सबै भन्दा डरलाग्दो हुन्छ । त्यो हो, जनतामा अनुशासनको ठूलो अभाव। यो सन् १९१२ मा पेकिङ विश्वविधालयका एक जना प्राध्यापककले भनेको भनाइ हो । त्यसबेलाको चीन अहिलेको नेपाल जस्तै थियो, झन्डै झन्डै । अनेक खालका बिदेशी एजेन्टहरु चीनमा अनेक किसिमका खेलहरु खेलिरहेका थिए। जर्मनलाई हराएर जापानले चीनको सान्डोङ प्रान्त आफ्नो हातमा पारेको थियो। क्रिस्चियन मिसनरीहरु गरिब चिनियाँलाई पैसा दिएर रिलिजन परिवर्तन गराइरहेका थिए। प्रथम विश्वयुद्ध सकिएको थियो र पेरिसमा शान्ति सम्मेलन हुँदा चिनियाँ प्रतिनिधिहरुले अपमानजनक सन्धिमा हस्ताक्षर गरे । जसले चीनमा आन्दोलनको आँधीहुरी निर्माण गर्यो । त्यसले चीनमा देशवादको चेतना निर्माण गर्यो। अमेरिकाले चीनलाई सहयोगको आश्वासन दियो ।

तर गरेन । उसको आफ्नै स्वार्थ थियो। त्यसबेला एकजाना प्राध्यापकले भनेका थिए, संकटबाट राष्ट्रलाई बाहिर निकाल्न परम्पराबादी सोचले सक्दैन नयाँ बिचारको आवश्यकता पर्छ । तर त्यसबेला चीनमा नयाँ बिचार थिएन् । देश युद्ध सरदारहरुको अराजकताकामा थियो । र अधिकांश बुद्धिजीवी पनि अवसरबादी । अहिलेको नेपालमा जस्तै। नेपालको अवस्था अहिले त्यसबेलाको चीनको अवस्था जस्तै छ।

१) मानव सभ्यताको इतिहासको विश्लेषणले के देखाउँछ भने कृषि क्रान्तिको चरणमा प्रवेश गरेको मानिसले आफ्ना ठूलठूला समूहलाई एकीकृत राख्न अनेक कल्पित अवधारणा निर्माण गर्दै गयो र त्यसैक्रममा राज्य र राजाको अवधारणाको पनि निर्माण गर्यो। लाखौं लाख मानिस आवद्ध गर्न साम्राज्यको अवधारणा करिब ४००० बर्ष पहिला गर्यो । साम्राज्यलाई धन र शक्तिको आवश्यकता हुन्थ्यो । तब युद्धको प्रचलन आयो। तब रिलिजनलाई साम्राज्यको औचित्यता पुष्टि गर्ने साधनको रुपमा विकास गरियो । साम्राज्य र सम्राट नै रिलिजनका संरक्षक बने । रोमन क्याथोलिक चर्चले पोर्चुगलका राजा अल्फान्सोलाई रोमनास पोन्टिन्फ्याक्स जारी गर्दै भने असभ्यहरुलाई समाप्त पार र उनीहरुको धन लुट। तब १६औं शताब्दीबाट आयो संसारमा उपनिवेशवादको लुट, आमहत्या, र अत्याचार । साम्राज्यवादले उपनिवेशवादद्वारा भ्रष्ट पुँजीवादलाई जन्मदियो। पुँजीवादले उपभोक्तावादलाई जन्म दियो । इतिहासविद् हरारी भन्छ्न, मानव सभ्यतामा पछिल्लो १०००० बर्ष आफैमा एउटा सफेद ठगी थियो। २) सन १९४५ मा अमेरिकाको न्युमेक्सिकोको मरुभूमिमा जब एटम बम परीक्षणका लागि पहिलो डिटोनेट (विस्फोट) गरियो, त्यसका बैज्ञानिक ओपेनहाइमरले भागवत गीताको श्लोक संम्झिए र उच्चारण गरे, म मृत्यु हुँ । अब म संसार ध्वस्त गर्छु। यही बम जापानमा खसाल्ने कुरा भयो। बैज्ञानिकहरुले त्यसो नगर्न अनुरोध गरे। वासिङ्टनका रणनीतिकारहरुले भने, हामी लाखौं अमेरिकी सेनाको बली चडाउन सक्दैनौं । तब हिरोसिमा र नागाशाकीमा एटम बम फुट्यो । लाखौं निर्दोश मानिसको ज्यान लियो, तेस्ले । आज २१ औं शताब्दीमा पनि इम्पेरियल मिसन जिउँदै छ । यस्लाइ पनि धन र गौरव चाहिएकै छ।

३) औद्योगिक क्रान्तिले मेसिनको प्रयोगबाट बस्तुहरु उत्पादन गर्न शुरु गर्यो । यसका लागि धन चाइन्थ्यो । तब ब्रिटिस, फ्रान्स लगायतका साम्राज्यवादीहरु धन लुटने अभिष्ट बोकेर एसिया लगायतका देशमा पसे। असीमित धनलुटे। उता उनीहरुका गाउँबाट मानिस शहर पसे। उद्योगका मालिकले उनीहरुका आफनै गरिब मानिसको पनि चरम शोषण गरे । कामदार पुगेनन् । त्यसैले दास व्यापार शुरु गरे । लाखौं मानिसको हत्या गरे । अफ्रिकालार्इ दास उत्पादन गर्ने भूमिमा परिणत गरे । नेपाल जस्तो सानो देशलार्इ ब्रिटिस साम्राज्यवादको रक्षा गर्ने सिपाही उत्पादन गर्ने देशमा परिणत गरे । हाम्रो इतिहास र गौरव नष्ट गरिदिए। हामी अरुमाथि अत्याचार गर्ने साम्राज्यवादको रक्षा गर्ने खेताला बन्यौं। गोर्खा रेजिमेन्टको नाममा लाहुरे संस्कृति निर्माण गरिदिए । नेपालमै कृषि उत्पादन गर्ने युवा ब्रिटिसका भाडाका सेना बनाइए । नेपालमा उपनिबेशको भौतिक अस्तित्व थिएन । तर, नेपालको जनसंख्या उपनिवेशमा परिणत भयो, यसरि । तर यो कलंक समाप्त गर्ने शासक देशले अहिलेसम्म पाएन।

४) नेपालका शासकलाई कहिले पनि के हेक्का भएन भने, नेपालको कृषि आधुनिकीकरण नगरी देशमा समृद्धि निर्माण गर्न सकिन्न । त्यतिमात्र होइन नेपालको कृषि समाप्त पार्न, नेपाली युवालाई डाइभर्सिटि भिसा, बैदेशिक रोजगार र स्थायी बसोबास भिसा दिएर बिदेश लगिन्छ । इराकमा आक्रमणपछि अरब पश्चिमको पूर्ण अधिनमा आयो। युरोप र अमेरिकालाई सस्तो जनशक्ति चाहियो । त्यसैले बैदेशिक रोजगारको बिष निर्माण गरियो । त्यसकै लागि नेपालमा नवउदारबाद लागू गरि देशमै रोजगारी दिने सबै उद्योग लिलाम गर्ने षड्यन्त्र बिदेशीले गराइदिए । दुइ चार बर्षमै सबै उद्योग समाप्त पारिदिए । अहिले देश ज्ञान र मानिसको खडेरीको सामना गर्न बाध्य छ । राजनीतिक नेतृत्व आज पनि अन्धकारमा छ । गाउँ रित्ता छ्न्, जमिन बाँझा छन, माफियाहरु गाउँका भित्र पनि डोजर लगाएर प्लटिङ गर्दै छन । मन्त्रीज्यू किसानका हातमा पैसा पुग्ने नीति निर्माण गर्दै हुनुहुन्छ । तर पार्टी दोएर खानेहरु नक्कली संस्था बनाएर राज्यले दिएको अनुदान पच पारिरहेका छ्न् । अहिले कोरोनाको कहर छ, तबपो थाहा भयो हामी त क्षमताको शुन्यमा रहेछौं । हाम्रा विश्वविधालयहरुको भूमिका देखिइयो । १०।१२ वटा मेडिकल कलेजमा के अनुसन्धान भइरहेको छ ? मेडिकल शिक्षा पनि शुन्य रहेछ । हाम्रा ठूला व्यापारी र मानिसको जीवनमा पो व्यापार गर्दा रहेछ्न् ।

५) कृषिको आधुनिकीकरण नभई औद्योगिक क्रान्ति हुँदैन भनेर सामान्य मानिसको माया गर्ने बिज्ञहरु भन्छन् । तर हाम्रो त विकासको जग कृषि नै ध्वस्त भएछ । हामीसँग एनआरएन छ्न् । हामीसँग एनजीओ छ्न । हामीसँग पार्टी छन । तर हामीसँग अनुशासन रहेनछ । हामीसँग कुन्ठित मनोवृत्तिका बिज्ञहरु रहेछन । हामीसँग भ्रस्टाचार गर्ने अनेक उपाय रहेछ्न । हामीसँग नैतिकता रहेनछ । त्यसैले हामीसँग गरिबी रमाउँदो रहेछ।

६) सन १९१२ मा एक चिनियाँ प्राध्यापकले भनेका थिए, चीनको निर्माण गर्न बलियो दिमाग भएका बुद्धिजीवीको आवश्यकता छ । हामी इम्परियल मिसन र समृद्धि दुर्इ धारका बिचमा छौँ । हामीले बिदेशीको हस्तक्षेप र लम्पट प्रवृत्ति समाप्त गर्नुपर्छ । माहात्मा गान्धीले देशमा उत्पादन र उद्यम बढाउन चर्खा आन्दोलन गरे । भारत पनि धनी भयो । उसले कोरोना जाँच गर्ने आफ्नो मसिन आफै बनायो । हामीसँग न बिज्ञान छ न उन्नत संस्कृति । हामीसँग त केबल गफ, ढाटीकला, बेइमानी र देश सराप्तै बिदेशीने मति मात्रै रहेछ । हामी बिदेशीले लादेका रणनीतिक जोखिम बोक्न बाध्य छौं । हाम्रा शासकहरुमा साम्राज्यका चाल बुझ्न पारख छैन् । हाम्रो देशभक्ति ओइलाएको छ । हामी भ्रमबाट ग्रसित छौँ। हामी आधा मृत्यु जस्तो निन्द्रा निदाइरहेका छौँ । अब जागौं र केही गरौँ । अझै पनि केही गर्न सकिन्छ । डा: युवराज संग्रौलाको विचार उहाँको फेसबुक एकान्टबाट साभार गरिएको हो ।