महेश बस्नेत भन्छन– बाबुराम भट्टराईमाथि कानूनी कारबाही गर्छौं

काठमाण्डु, ११ वैशाख– नेकपा केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतले पूर्वप्रधानमन्त्री एवं नवगठित जनता समाजवादी दलका नेता डा. बाबुराम भट्टराईविरुद्ध कानूनी कारबाहीको प्रक्रियामा जाने चेतावनी दिएका छन् ।भट्टराईले आफूमाथि लगाएको अपहरणको मिथ्या आरोपबारे कानूनी उपचारमा जाने बस्नेतले बताए ।

भट्टराईले तत्कालीन समाजवादी पार्टी विभाजन गराउन प्रधानमन्त्री केपी ओलीको निर्देशनमा बस्नेत, तनहुँका नेकपा सांसद किशन श्रेष्ठ र निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सो पार्टीका सांसद एवं पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई धनुषाबाट अपहरण गरी काठमाण्डु ल्याएको आरोप लगाएका थिए ।बस्नेतले सांसद यादवले काठमाण्डु आउनुपर्ने भएकाले लिन आउन आग्रह गरेको र सोही पार्टीका प्रमुख सचेतकले समेत भनेकाले उनलाई लिन गएको बताए ।

बरु भट्टराईका कार्यकर्ताले नै यादवको अपहरण गरेको आरोप बस्नेतको छ । ‘आङकाजी शेर्पासहित बाबुरामका केही मानिस आएर सुरेन्द्र यादवलाई बसेको हेटलबाट अपहरण गरेका थिए’, बस्नेतले काठमाण्डुटुडेसँग भने ।

बस्नेतले यादवसहित केही नेता समाजवादी पार्टी छाडेर नेकपाका प्रवेश गर्न लागेको चाहिं सत्य भएको बताए ।

‘उहाँहरु आफ्नो पार्टीमा भएको बेथिति, पक्षपात, नातावादबाट दिक्क भएर विकल्प खोज्ने निस्कर्षमा पुगेको थाहा पायौं’, बस्नेतले भने, ‘यो कुरा लुकाउन जरुरी छैन कि उहाँहरु पार्टी छाडेर नेकपा प्रवेश गर्न लाग्नुभएको साँचो हो, त्यसबारे छलफल पनि भएको हो ।’