कालोबजारी बढेपछि छड्के अनुगमनमा निस्किए डीआईजी पोखरेल

काठमाडौं – महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेल बजारमा अत्यावश्यक वस्तुको कालोबजारी बढिरहेका बेला अनुगमनमा निस्किएका छन् । व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरिरहेकाले डीआईजी पोखरेल आफैं छड्ने अनुगमनमा निस्किएका हुन् ।

काठमाडौंका विभिन्न पसल, अत्यावश्यक वस्तु किनबेच हुने स्थान, पेट्रोल पम्प लगायतको अनुमगन गरिसकेको र जुनसुकै बेला पनि आफू छड्के जाँचमा निस्कने गरेको डीआईजी पोखरेलले बताए । बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नरहे पनि कालोवजारीमा सक्रिय केहीले भने मौकाको फाइदा उठाउन खोजेको उनले बताए ।

यसबाहेक प्रहरीले कोरोना भाइरसविरुद्ध सचेतना अभियानसमेत सुरु गरेको बताए । पोखरेलले भने, ‘संकटको सामना सरकार र जनता संगसँगै मिलेर गर्ने हो । संकटमा सामाग्री लुकाउने, कृत्रिम अभाव सिर्जन गर्नेहरु समाजका अपराधी हुन् । समाग्री हुँदाहुँदै दिएन, लुकाइयो वा वढी मुल्य लिएको पाइए तत्काल प्रहरीमा खबर गर्नुहोला, प्रहरी तत्काल आइपुग्छ ।’

यसबाहेक उपत्यकाका विभिन्न स्थानमा सूचना संकलनका लागि विशेष टोलीसमेत परिचालन गरिएको छ । विमानस्थल लगायत स्थानमा सुरक्षा जाँच प्रभावकारी बनाइएको र अनावश्यक भीडभाड नियन्त्रण, सचेतनाका लागि ट्राफिक प्रहरी सक्रिय रहेको उनले बताए । प्रहरीले तत्कालका लागि मापसे जाँच बन्द गरे पनि आफ्नो स्वास्थ्य र जीवनप्रति सबैभन्दा बढी जिम्मेवार आफैं हुनुपर्ने पोखरेलले बताए ।

यस्तै उपत्यकामा कार्यरत सबै प्रहरी कर्मचारीलाई अत्यावश्यक बाहेकका बिदामा रोक लगाइएको छ । तत्कालका लागि राजीनामा समेत स्वीकृत नगरिने पोखरेलले बताए । आफ्नो स्वास्थ्यको ख्याल गर्दै ड्य्टीमा खटिन सबैलाई निर्देशन दिइएको छ । उपत्यकामा झण्डै १० हजार प्रहरी कार्यरत छन् । गस्ती लगायतका काममा जाँदा समेत दुरी व्यवस्थापन गर्न निर्देशन दिइएको उनले बताए । सबै प्रहरीलाई एन–९५ मास्क वितरण गरिएको छ । साबुनपानीले नियमित हात धुन, सरसफाईमा विशेष ध्यान दिन र स्वास्थ्यमा समस्या आए तत्काल जाँच गर्न पनि निर्देशन दिइएको पोखरेलले बताए ।