जसलाई राजाले पालेपोसेर हुर्काए, उनी नै गणतन्त्रवादी भएर काँग्रेसमा छिरे

काठमाडौं । राजाले छ पटकसम्म प्रधानमन्त्री बनाएका स्वर्गीय सूर्यबहादुर थापाका छोरा गणतन्त्रवादी हुँदै नेपाली काँग्रेसमा छिरेका छन् । राजासहितको प्रजातन्त्रमा अडिग रहने निर्णय गर्दै राप्रपाका विभिन्न समूहहरु मिलेपछि चिडिएका सुनिल मंगलबार काँग्रेसमा सानो टुकडीसहित छिरेका हुन् । राजाकै बलमा व्यक्तित्व बनाएका सुनिल बाबुको विरासतवापत राप्रपाबाट मन्त्रीसमेत खान सफल भएका थिए । उनको निर्णयलाई राप्रपाका नेता कार्यकर्ताले नुन खाएर गद्दारी गर्ने बैगुनी भन्दै आलोचनासमेत गरेका छन् । आलोचना गर्नेमा राप्रपाका अध्यक्ष कमल थापासमेत छन् ।

तर सुनिलले भने सूर्यबहादुरको विरासत थाप्न आफू काँग्रेसमा छिरेकी दावी गरेका छन् । उनले आफ्ना पिता धनकुटा काँग्रेसको संस्थापक सभापति भएको समेत औंल्याएका छन् । उनलाई परित्याग नगर्न राप्रपाका नेता कार्यकर्ताले पटक पटक आग्रह गरेका थिए । तर, उनी ३० जनाभन्दा बढी नेता कार्यकर्ता लिएर मंगलबार औपचारिकरुपमै कांग्रेस छिरेका हुन् । पूर्वमन्त्री थापाले कम्युनिस्टहरुको विकल्पमा प्रजातान्त्रिक धारलाई बलियो बनाउनुपर्ने आवश्यकता महसुुस गरेर राप्रपा परित्याग गरेको तर्क गरेका छन् । उनले राजालाई न आफूहरुले फालेको न फिर्ता ल्याउने सामथ्र्य आफूहरुसँग छ भन्दै यस्तो सामथ्र्य मुलुकभन्दा बाहिरका शक्तिसँग रहेको संकेत गरेका छन् ।

सूर्यबहादुर भारतको काँग्रेसआईका सबैभन्दा विश्वापात्र व्यक्तिको रुपमा चिनिन्थे । सुनिलले पनि सोही लाइनलाई निरन्तरता दिएको देखिन्छ । उनले राजा र राजसंस्थाको बारेमा राप्रपाले जनतालाई ढाँट्दै आएको पनि बताएका छन् । यता राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा छोडेर काँग्रेस छिर्ने सुनिलको निर्णयले एक बर्षभित्रमा पश्चाताप गर्नुपर्ने अवस्था आउने बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन् । ‘कमेन्ट नगरौं भन्दा भन्दै सूर्यबहादूर थापाप्रतिको मेरो अगाध स्नेह र सम्मानको कारण यति चाहीं भन्न चाहन्छु कि सुनिल थापाको यस निर्णयले सूर्यबहादुर थापाको राजनीतिक विरासत समाप्त हुनेछ । काँग्रेसले सुबथालाई बोक्दैन।एक वर्षभित्र सुनिलले पश्चाताप गर्नु नपरोस्। मेरो शुभकामना छ । सुनिलले काँग्रेसमा सहमहामन्त्री पाउने बताइएको छ । वीपीको विचारविपरित राजासहितको प्रजातन्त्रलाई छोडेर गणतन्त्रमा जानु गलत हो भन्दै काँग्रेसभित्रै ठूलो जनमत वीपीको विचारमा फर्किनुपर्ने आवाज उठिरहेको बेला उनी काँग्रेसमा गणतन्त्रवादी भएर छिरेका हुन् ।