रवि लामिछानेको सुदुरपश्चिम यात्रा: सहिद गोविन्द गौतमको अपमान गरेको आरोप

यमप्रसाद आचार्य,कञ्चनपुर, चर्चित पत्रकार एवं सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई सहिद गोविन्द गौतमको अपमान गरेको आरोप लागेको छ ।
नेपाल यात्राको अन्तिम दिन कञ्चनपुर पुगेर कञ्चनपुरबाटै सिधा कुरा जनतासँग प्रसारण गरेका पत्रकार लामिछानेलाई त्यस लगायत थुप्रै आरोपहरु लागेका छन ।
पुनर्वास नगरपालिका वडानम्बर ४ का वडाध्यक्ष प्रेम बहादुर बस्नेतले आफ्नो फेसबुक मार्फत पत्रकार लामिछानेले सहिद गौतमको अपमान गरेको आरोप लगाएका छन ।
कञ्चनपुरको पुनर्वासमा सिमा रक्षाको लागि आफ्नो ज्यानको आहुती दिएका सहिद गोविन्द स्मृति पार्कमा रहेको सहिद गोविन्द गौतमको सालिक अनावरण गर्न नगएको, सुकुम्बासीको समस्या नसुनिदिएको,सहादत भएको ठाउँको उपेक्षा गरेको र स्थानीय पत्रकार तथा मिडियाहरुको उपेक्षा गरेको आरोप वडाध्यक्ष बस्नेतले लगाएका छ्न ।

पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले देशले भरोसा गरेको एउटा पत्रकार खाली कमजोरी मात्र खोज्दै हिड्नु र राम्रा कामलाई जनतासम्म पुरयाउन नचाहनुले उनको पत्रकारीताको निष्पक्षता माथि प्रश्न उठेको बताउनुभएको छ। उहाँले सहिद गोविन्द गौतमको घर किन सरकार बनाईदिएन भनेर मात्र सोध्नु भयो तर अहिले सम्म सरकारले के के गर्यो ? त्यो सोधिएन । सहिद गौतमको सम्मानका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताउदै मेयर थापाले उहाँको सम्मानको लागि सहिद स्मृति पार्क बनेको र यस वर्ष सहिद मार्ग कालो पत्रे योजना सहित अघि बढ्ने, बच्चाहरुको निशुल्क शिक्षा, रोजगार सहित आर्थिक सहयोग विभिन्न निकायबाट भएको र अझै थुप्रै कुरा उनको सम्मानको लागि आउने दिनमा गरिने पनि बताउनु भयो। तर पत्रकार रविले यो प्रसङ्गमा नआई खाली सहिदको गरिमालाई घटाउने काम गरेको र सालिकको पनि अपमान गरेको बताउनुभयो।

वडाध्यक्ष प्रेम बहादुर बस्नेतकै फेसबुक पोष्टमा कमेन्ट गर्दै पुनर्वास वडानम्बर १ का वडाअध्यक्ष प्रताप चन्दले सिमा रक्षाका लागि स्थानीय पत्रकारहरुले दिनदिनै आवाज बुलन्द गरेको र सहिद गौतमको सम्मानका लागि आवाज उठाएको र सहिद परिवारको उचित व्यवस्थापन गर्न पहल गरेको स्मरण गर्दै रवि राजसी ठाँटमा आएर केहि नहुने बताए ।

राजसी शैली अपनाएको र हाकिमी प्रवृत्ति हावी भएको पनि धेरैले आरोप लगाएका छन । टिभीबाट नेताहरुलाई औला देखाएर चिच्च्याई चिच्याई कराउने रवि आउँदा र नेता आउँदाको शैलीमा कुनै फरक नभएको भन्नेहरु उत्तिकै भेटिएका छन । चिल्ला गाडी अनि समर्थकहरुको लावालस्करले राजसी र नेतागिरी कै झल्को देखिएको बताएका छन । बेलौरीस्थीत ३८ नम्बर पिल्लरको रिपोर्टिङको क्रममा पछाडीबाट छाता ओढाउने मान्छे समेत अर्कै देखिएको र यहि कुरा कुनै नेतालाई सुरक्षाकर्मीले छाता ओढाउँदा चर्को विरोध हुने गरेको सन्दर्भमा उनी स्वयम् यस प्रवृत्तिको विरोधी भएपनि आफैले त्यही बाटो अपनाउदा उनलाई अलिकती पनि लाज र अप्ठ्यारो किन लागेन ? भनेर धेरैले प्रश्न गरेका छन । उसो यसको पक्ष र विपक्षमा तर्क गर्नेहरुको समाजिक सञ्जालमा जुहारीनै चलेको छ।

पत्रकार रवि लामिछानेलाई अर्का कञ्चनपुरका वरिष्ठ पत्रकार खेम भण्डारीले सबैभन्दा बढि आरोप लगाएका छन। खेम भण्डारी होटलमा बस्न र खानाको लागि रवि लामीछानेले आफुलाई बेचेको आरोप लगाएका छन । उनले न्यायको पाठ सिकाउन आएको मान्छे आफै आरोप लागेका ब्यक्तिहरुसँग बिकेको आरोप लगाएका छन । भण्डारीले २-४ हजारमा बिक्नेहरुले फुर्ती नलाएकै राम्रो भनेर अर्को पोष्ट गरेका छन । उनले बजारमा बिक्नेहरुले आफूसँग जुहारी नगरेकै राम्रो भनेर सल्लाह दिन समेत भ्याएका छन । एक घण्टाको दौरानमा आधा दर्जन भन्दा बढि पोष्ट गरेका खेम भन्डारीले रविले लाज छोप्न कसरत गरेको देखि लिएर अपराधीहरुकै पक्षमा बोलेको समेत आरोप लगाएका छन ।

यसैगरी पुनर्वासका युवा अभियन्ता हिमेश थापाले रवि खाली आफ्नो प्रसारप्रसार गर्न मात्र आएको अनुभुती भएको बताएका छन । उनले आफ्नो फेसबुक वालमा आफ्नो दुखेसो पोख्दै उक्त अनुभुती सार्वजनिक गरेका छन ।

यहाँ छ की रवि लामिछानेले माथीका आरोपहरुलाई स्वीकार गर्लान वा नगर्लान ? आम मानिस सँग माफी माग्दै सच्चिने बाटोमा आफुलाई उभ्याउलान वा अरु जस्तै जिद्दी गरेर आफुलाई पानी माथिको ओभानो बनाउने पर्यास गर्लान? त्यो त समयले नै देखाउला।