विमानस्थल सफाइ अन्तर्राष्ट्रिय मापदण्डमा

काठमाडौं :    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका आन्तरिक विमानस्थलको सरसफाइमा तीव्र सुधार गरिने बताएका छन्।। सफाइ मजदुरहरूलाई आवश्यक तालिम र आधुनिक सामग्रीको प्रबन्ध गरेर सरसफाइमा परिवर्तन ल्याइने उनको भनाइ छ।

शुक्रबार मन्त्रालयमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलको सरसफाइ अवस्थाको ‘अडिट’ हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानस्थलको सफाइका लागि सरकारले काम गर्ने बताए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता एवं सफाइविज्ञ खेम शर्माले ११ विमानस्थलको सरसफाइ अवस्थाको बेग्ला–बेग्लै ‘अडिट’ मन्त्रालयलाई बुझाएका छन्। धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारिएको हो।

एनआरएनबाट ३ जना प्रतिनिधि र नेपाल उड्डयन प्राधिकरणका एक प्रतिनिधिसहितको टोलीले उक्त अडिट तयार पारेको जानकारी दिइएको छ। ‘अडिट’मा हाल विमानस्थलको सरसफाइको अवस्था, समस्या, कानुनी समस्या र आगामी दिनमा गर्नुपर्ने कामको सूची र सुझाव समावेश छ। शर्माले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सरसफाइ गर्न सफाइका स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने, सरसफाइ मजदुरलाई तालिमको व्यवस्था दिनुपर्ने, सफाइ मजदुरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्नेलगायत सुझाव दिएका छन्।

मन्त्री भट्टराईले यी सुझाव महत्वपूर्ण भएको भन्दै ती सुझावका आधारमा विमानस्थलको सरसफाइ गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिए। उनले ती सबै सुझाव सम्बन्धित विमानस्थलमा पठाइदिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिए। ती सुझाव तत्काल कार्यान्वयन गराउन र एक महिनापछि कार्यान्वयन अवस्थाबारे रिपोर्ट तयार पार्न निर्देशन पनि दिइएको छ।

निगमको भारत उडान एक हप्ताका लागि स्थगित

नेपाल वायुसेवा निगमले भारतका सबै स्थानमा गर्दै आएका उडान स्थगित गर्ने भएको छ। निगमले नयाँ दिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत ९ गतेदेखि लागु हुने गरी स्थगित गर्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्वारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडान चैत १६ गतेसम्मका लागि स्थगित गरिएको छ। चैत ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने उल्लेख छ।