प्रचण्डको अपीलः ओलीको कदमले पार्टीको संरचना र एकता भत्काउँदैन, भ्रममा नपर्नुस्

काठमडौंः नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे पनि पार्टी एकतावद्ध रहेको कार्यकारी अध्यक्ष प्रचण्डले बताएका छन् ।

सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रचण्डले कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले पार्टीको एकतालाई कुनै तात्विक असर नपर्ने स्पष्ट पारेका छन् ।नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो’, प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु ।’

ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई आइतबार बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको समेत प्रचण्डले जानकारी दिएका छन् ।