प्रचण्डलाई पूर्वमन्त्री बस्नेतको चेतावनीः ‘छोरी लान पाइन्छ तर थर र गोत्र लान पाईदैन’

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेकपाको चुनाव चिन्ह र पार्टी कार्यालय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले लाने सपना नदेख्न चेतावनी दिनुभएको छ ।

नेकपा ललितपुर जिल्लाको क्षेत्र नं. १ ले आयोजना गरेको वृहत भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टीबाट पोइला गएका प्रचण्ड, माधव तथा झलनाथ खनालले मुल पार्टी नेकपाको सूर्य चिन्ह र पार्टी कार्यालयमा आँखा नगाड्न चेतावनी दिनुभयो । जनताको बहुदलीय जनवाद तथा पूर्वएमालेको नासोको रुपमा रहेको सूर्य चिन्ह र पार्टी कार्यालयमा प्रचण्ड गुटले दावी गरेमा अबका दिनमा युवाहरुले धुम्वाराही, बल्खुमात्र नभई पेरिसडाँडा समेत कब्जा गर्न सक्ने चेतावनी दिनुभयो ।

पूर्वमाओवादीको चुनाव चिन्ह हसिया हथौडा लिएर जनताको माझमा गएर जनमत प्राप्त गर्न चेतावनी दिँदै नेता बस्नेतले अर्काले बनाएको इतिहास र व्राण्ड लगेर जनतालाई भ्रममा पार्ने सपना नदेख्न आग्रह गर्नुभयो । सूर्य चिन्ह लिएर निर्वाचनमा पुगेका प्रचण्ड नक्कली भएको आक्रोस व्यक्त गर्दै उहाँले सूर्य चिन्ह प्रधानमन्त्री ओलीले नेतृत्व गरेको मुलधारको नेकपाको भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलाको श्रीमान्लाई छोडेर पोइला गएकी महिलाले पूर्वपतिको थर राख्छु भनेर हुन्छ ? माधव–झलनाथ पूर्वएमालेबाट पोइला गएका हुन । अब त्यो इतिहास माधव झलनाथले समाप्त पार्नुभएको छ । त्यसमा अब उहाँहरुले आँखा नलगाए हुन्छ । हसिया हथौडा र पेरिस डाँडा नै उहाँहरुको लोगो तथा पार्टी कार्यालय हो । यदी धुम्वाराही, बल्खुमाथि आँखा लगाउँछन् भने युवाहरु पेरिसडाँडालाई समेत कब्जा गर्नेछन् ।’

नेकपामा प्रचण्डले समस्यामा परेर बास बसेको उल्लेख गर्दै नेता बस्नेतले बास बसेको ठाउँबाट आफ्नो व्यक्तिगत स्वार्थ तथा कुर्सीको लोभ पुरा नहुने भएपछि त्यहाँबाट केही भ्रष्ट, माफिया, दलालहरुको केही झुण्डलाई लिएर गएको आक्रोस व्यक्त गर्नुभयो । ‘प्रचण्डले व्यक्तिगत तथा राजनीतिक रुपमा गंभिर मोडमा पुगेपछि नेकपामा बास बस्नुभयो’ उहाँले भन्नुभयो, ‘बास वसेको घरवेटीको छोरी लिएर जानुभयो । छोरी लगे पनि थर र गोत्र लान सक्नुहुन्न ।’

विकृति र विसंगतिको सुँडहरु फिँजाएर प्रचण्ड–माधवलगायतका नेताहरु मुलुकको हित विपरित हात धोएर लागेको उल्लेख गर्दै पूर्वमन्त्री बस्नेतले मुलुकमा भइरहेको विकास र समृद्धिको यात्रालाई प्रचण्ड–माधवले हेर्न र देख्न नसक्नुभएको बताउनुभयो । आफु निकटका पत्रकारहरुलाई सम्पादकमा नियुक्ति गरेर सरकारविरुद्ध हात धोएर समाचार लेख्न प्रचण्डले लगाएको स्पष्ट पार्दै त्यस्ता आफ्ना कालो कर्तुत लुकाउन र अवैध सम्पत्ती पत्रकारलाई दिई लेख्नु लगाएको समाचारले जनता भ्रममा नपरेको स्पष्ट पार्नुभयो ।

भाग्यले एक पटक ढक ढक गर्ने तर दुर्भाग्यले पटक पटक ढक ढक गर्ने उदाहरण प्रस्तुत गर्दै नेता बस्नेतले प्रचण्डले भाग्यमा पाएको नेकपाको एकल अध्यक्ष हुने सुवर्ण अवसर गुमाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले भाग्यको ढोका खोल्न आग्रह गर्नुभयो तर उहाँले भाग्यको ढोका खोल्नुभएन । माधव नेपालले दुर्भाग्यको ढोका खोल्न आग्रह गर्नुभयो । त्यो दुर्भाग्यको ढोका प्रचण्डले सहजै रुपमा खोल्नुभयो । जसले गर्दा सडक छाप हुन पुग्नुभयो, सडकछाप प्रधानमन्त्री बन्नुभयो । जसको गतिलो उदाहरणको रुपमा केही दिन अघि माइतिघरको सडकमा पुगेर बस्नुभयो ।’

प्रचण्डले आफ्नो घर नभएको तर अर्काको ठूलो घरलाई आफ्नो भनेर देखाउँदै माधवलाई अध्यक्ष तथा झलनाथलाई राष्ट्रपतिको सपना देखाएर लगेको उल्लेख गर्दै उहाँले अबका दिनमा प्रचण्ड, माधव तथा झलनाथले नेकपाका केही कुरामा पनि नजर लगाउने अधिकार नभएको स्पष्ट पार्नुभयो ।
प्रचण्डलाई पार्टीले कारवाही गरेकै भोलीपल्ट माइतिघरको सडकमा पुगेको उल्लेख गर्दै उहाँले पार्टीले कारवाही गरेर ठिक गरेको बताउनुभयो । भ्रष्टाचारी, तस्करहरु जेल जाने अवस्था आउनसक्ने कुरालाई ध्यान दिई प्रचण्ड अख्तियारलगायतका संवैधानीक आयोगमा आफ्नो मान्छेको नियुक्ति गर्नमा तल्लीन भएको तर त्यो सम्भव नभएपछि पार्टी एकता भंग गर्ने दिशामा अगाडी बढको उहाँले तथ्यगत रुपमा प्रस्तुत गर्नुभयो ।

प्रचण्डले आफ्नो घरवेटीलाई ठेक्का मिलाई दिएवापत कति रकम लिनुभएको छ ? भनि प्रश्न गर्दै नेता बस्नेतले सारदा प्रसाद अधिकारीले मुलुकभर जिम्मा लिएका कामहरु नगरी जनताको विकास प्रतिको चाहनालाई कुठाराघात भएको हिसाव किताव अब जनताले प्रचण्डसँग खोज्ने समेत चेतावनी दिनुभयो । धेरै अपारदर्शी मान्छेलाई च्यापेर अब प्रचण्डको क्रान्तिको सपना पुरा नहुने उल्लेख गर्दै नेता बस्नेतले प्रचण्डका कार्यकर्ता अब प्रचण्डसँग नफर्कने निश्चित रहेको बताउनुभयो ।

केपी ओलीको लाइट र हाइटले आफुहरु डल्ला र पुड्का भयौं भनेर प्रधानमन्त्रीबाट हटाउने खेलमा प्रचण्ड बाधव मरिहत्ते गरेर लागिपरेको उल्लेख गर्दै नेता बस्नेतले जनताको विकास प्रतिको तिव्र चाहनालाई पुरा गर्दै समृद्ध नेपाल सुखी नेपालीको अभियान तिव्र गतिमा लैजानुनै सरकार परिवर्तनको मुख्य खेल भएको स्पष्ट पार्नुभयो । देशभर ओली नेतृत्वको सरकारले विकासको लहर ल्याएको उल्लेख गर्दै उहाँले फास्ट ट्रयाक बनाउन नदिन खोकनावासीलाई उचाल्ने ब्वासाहरुलाई नेपाली जनताले लखेट्ने चेतावनी दिनुभयो ।