कञ्चनपुरमा गरगहना लुटेर बृद्धाको हत्या गर्ने पुरुष सार्वजनिक

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले पुर्नवासमा बृद्धाको हत्यामा संलग्नलाई शनिवार सार्वजनिक गरेको छ । सुनका गरगहना लुटेर बृद्धाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्व माओवादी कार्यकर्तालाई प्रहरीले सार्वजनिक गरेको हो ।

पुर्नवास नगरपालिका–१ ढक्काकी ७१ वर्षीया खण्टी भुलको हत्या गरि गरगहना लुटेको आरोपमा उनका छिमेकी समेत रहेका अन्दाजी ४८ वर्षीय दलबहादुर बिकलाई प्रहरीले सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै लुटिएका गरगहना, हत्या गर्न प्रयोग भएको हतियारसहित बिकलाई पक्राउ गरिएको जनाएको छ । उनको साथबाट केही राउण्ड गोली समेत बरामद गरिएको छ ।

गत आइतबार दिउँसो खण्डी भुलको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।