कंगोमा भएको कुटपिट सार्वजनिक गर्ने सैनिक बर्खास्तीमा

शान्ति मिसनमा कंगो गएका सैनिकमाथि कुटपिट भएको फोटो सार्वजनिक गर्ने सैनिक बर्खास्तीमा परेका छन्।

नेपाली सेनाको मिडिया सम्बन्धी नीति र सामाजिक सञ्जालको आचारसंहिता विपरित काम गरेको आरोपमा सैनिक अदालतले ती सैनिकलाई बर्खास्ती गर्ने फैसला सुनाएको हो।

भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरि ती सैनिक बर्खास्तीमा परेका हुन्। उनलाई ६ महिनाको सजाय समेत सैनिक अदालतले सुनाएको छ।

असोज पहिलो साता कंगोमा तीन सैनिक अधिकृतले एक सैनिक जवानलाई मरणशान्न हुने गरी कुटपिट गरेका थिए।कुटपिटपछि ती सैनिकको शरीरमा निलडाम भएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटनाबारे छनाविन गर्न सेनाले कोर्ट अफ इन्क्वायरी गठन भएको थियो।

छानबिनका क्रममा ९ जनालाई सैनिक अदालत लगिएको थियो। ३ जना अधिकृतलाई सैनिक व्यक्तिलाई कुटपिट गरेको भनेर १ वर्ष बढुवा रोक्का गर्ने फैसला सैनिक अदालतले गरेको छ। घटनामा संलग्न अन्यलाई नसियत दिइएको छ।

अनुशासन तथा आचरण सम्बन्धी व्यवस्था अनुसार सबैलाई कारबाही भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लव पौडेलले सेतोपाटीलाई बताए।

सेतोपाटी डटकमको अनुसार ‘गुनासो गर्न बटालीयन कमाण्डर, शान्ति सेना निर्देशनालय छ। त्यहीँ रहेका कन्टीनजेन्ट कमाण्डरलाई समेत भन्न सकिन्छ।त्यो उपाय नअपनाइकन सैनिक आचरण विपरित घटना सार्वजनिक गरिएकाले पनि यसलाई गम्भीर रूपमा लिइएको थियो,’ सैनिक प्रवक्ता पौडेलले भने, ‘हामीले सुरूमै घटनामा जसको जस्तो संलग्नता छ। त्यसको आधारमा कारबाही गर्ने भनेका थियौं। त्यसको कार्यान्वयन भएको छ।’