केही समयभित्रै संयुक्त आन्दोलन हुन्छः प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले केही समयभित्रै संयुक्त आन्दोलन हुने बताएका छन् ।

चितवनको भरतपुरमा बन्दै गरेको सिटी हलको स्थलगत अनुगमनपछि आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको बताए ।

आन्दोलन भइराखेको छ । यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास भइराखेकै छ । हिजो मैले शेरबहादुर देउवासँग कुरा गरेँ, यसलाई संयुक्त बनाऔं भनेर । रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु । जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ । केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ,’ उनले भने ।

उनले चुनाव भयो भने त्यो असंवैधानिक र अलोकतान्त्रिक हुने बताए । असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद फैलिने पनि प्रचण्डले दाबी गरे ।

प्रचण्डले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने स्पष्ट पारे ।

संसद् विघटनको विरोधमा नेकपा ओली पक्षका ९० प्रतिशत सांसदसमेत रहेको अध्यक्ष प्रचण्डले दाबी गरे ।